७ वैशाख २०८१ शुक्रबार
समाज

कुकुरको निर्मम हत्या गरिएकोभन्दै ब्यापक आलोचना

खोटाङ – खोटाङमा भुस्याहा कुकुरलाई निर्मम तरिकाले कुटेर मारिएको भन्दै आलोचना भएको छ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा शनिबार बिहान एउटा भुस्याहा कुकुरलाई कुटेर मारिएको भिडियो बाजिन्द्र बिष्टको फेसबुकमार्फत सार्वजनिक भएपछि चौतर्फी बिरोध सुरु भएको हो। 

बिष्टले आफ्नो फेसबुकमा राखेको एक मिनेट १० सेकेण्डको भिडियोमा एक जनाले कुकुरलाई दाम्लोले बाँधेको र अर्को जनाले चिरुवा दाउराले टाउकामा हिर्काएर निर्मम तरिकाले मारेको देखिन्छ।  दृश्यमा कतिपय मरेका र कतिपय बेहोस कुकुरलाई ट्याक्टरमा हालेर भवनगैरातर्फ लैजाँदै गर्दा त्रिबेणीचोकमा सो कुकुरलाई निर्मम तरिकाले मारेको देखिन्छ।  कुकुरलाई कुटेको भिडियो भाईरल भएपछि सो भिडियोलाई फेसबुकले ब्लर गरेको छ।  बिष्टले हालेको सो भिडियो हाल ‘अनकभर’ गरेपछि मात्र हेर्न सकिन्छ।  बिहान सार्वजनिक भएको भिडियो करिब एक घण्टामै हजारौं भ्यूअरले हेरे, उत्तिकै शेयर भएका छन्।  भिडियोको अधिकांश कमेन्टमा पशु अधिकार हनन् भएको भन्दै नगरपालिकाको आलोचना गरिएको छ। 

केही दिनअघि बिष हालेको र विषले मरेका, बेहोस भएका तथा छटपटाइरहेको अवस्थामा कुकुरलाई पुर्नका लागि ट्याक्टरमा संकलन गरिएको स्थानीयको दाबी छ।  त्रिबेणीचोकमा फेला परेको कुकुर पनि विषले ढलमलिइरहेको अवस्थामा फेला पारेर कुटेर मारिएको स्थानीय बताउँछन्।  भिडियोमा सो कुकुरलाई पनि मारेपछि ट्याक्टर गएतिर घिसार्दै लगेको देखिन्छ।  मेयर दिपनारायण रिजाल सचिवालयले भने भुस्याहा कुकुरलाई हैजा लागेको कारण मर्न थालेको र मरेका कुकुरलाई व्यवस्थापन गर्नेक्रममा बाटोमा एउटा कुकुरले जनावरलाई टोकेर भाग्दै गर्दा अरुलाई पनि टोक्ने सम्भावना भएकाले केही व्यक्तीले नियन्त्रण गर्नेक्रममा कुटपिट गरि मारिएको जानकारी आएको जनाएको छ।  ‘नगरपालिकाको कुकुर मार्ने कुनै योजना नभएको र कसैले पनि मार्ने कार्य नगर्नु र नगराउन पनि अनुरोध गरिन्छ,’ मेयर रिजाल सचिवालयले जारी गरेको सुचनामा भनिएको छ, ‘घर पालुवा कुकुरलाई बाँधेर व्यवस्थितढंगले पाल्न सम्पूर्ण नगरबासीमा अनुरोध गर्दछौँ। ’

बजारमा भुसिया कुकुरले बिहान र रातका समयमा हिँडडुल गर्नेक्रममा टोक्ने र आतंक फैलाएकाले नियन्त्रण गर्ने निर्णय गरिएको भए पनि पशु अधिकार उल्लंघन गर्ने काम नभएको मेयर रिजालले दाबी गरे।  मेयर रिजालका राजनैतिक सल्लाहकार कमल ढकालले भने फेसबुकमा भुस्याहा कुकुर आपसमा जुधेर शरीरमा घाउ हुँदा विभिन्न रोगले मरेको अवस्थामा फेला परेकाले व्यवस्थापन गरिएको उल्लेख गरेका छन्। 

बिष्टले कुकुर नियन्त्रणको अन्य उपाय नखोजिएको बताए।  ‘भुसिया कुकुरले बजारमा समस्या सिर्जना गरेको छ।  कतिपय मान्छेलाई टोकेको पनि सुनेको छु।  त्यसको व्यवस्थापन एकदमै जरुरी छ,’ कांग्रेस नेता रहेका बिष्टले भने, ‘तर, नियन्त्रण गर्ने नाममा पशुको अधिकार नै हनन् गर्नु उचित होईन।  अन्य बैकल्पिक उपाय अनपाउन पथ्र्यो। ’ भुस्याहा कुकुरलाई कुटेर मारिएको घट्नापछि हाल फेसबुकमा पक्ष/विपक्षमा जुहारी चलिरहेको छ।

प्रकाशित: १५ भाद्र २०७६ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App