७ वैशाख २०८१ शुक्रबार
अर्थ

आशा जगाउँदै किबी

इलाम - मिल्दो हावापानी र असिनाको असर कम हुँदा यो वर्ष जिल्लामा किबी फल उत्पादन आसलाग्दो देखिएको छ। गतवर्षहरू भन्दा यो वर्ष किबी उत्पादन बढ्ने देखिएको किसानले बताएका छन्। किबी उत्पादन प्रवद्र्धनका लागि गतवर्षदेखि जिल्लाको मुख्य खेती हुने ठाउँमा परियोजना नै सञ्चालनमा छ। परियोजनाबाट तालिम तथा उपकरण पाएपछि पनि किसानको खेती सुध्रिएको हो। उत्पादनमा सुधार भएसँगै किबीको गुणस्तर र मूल्य पनि यो वर्ष बढ्नसक्ने व्यवसायीले जनाए।

जिल्लामै किबी खेती सुरु गरिएको सुलुबुङ गाउँमा यो वर्ष जिल्लामै सबैभन्दा राम्रो उत्पादन छ। गतवर्षभन्दा यो वर्ष उत्पादन वृद्धि हुने भएपछि किसान हर्षित छन्। पोहोर करिब ७ हजार किलो किबी उत्पादन भएको स्थानीय किसान तारामणि खतिवडाको बगानमा यो वर्ष १० हजार किलो हाराहारी उत्पादन पुग्ने अनुमान छ। खतिवडाको हेस्टी किबी प्रालिले ६ सय बोट किबी लगाएको छ। ‘हावापानीले साथ दिएकाले यो वर्ष किबी उत्पादन बढ्छ,’ जिल्लामै पहिलोपटक किबी खेती गरेका खतिवडाले सुनाए, ‘मेरो मात्र होइन, गाउँका सबै किसानको बगानमा अहिले पोहोरभन्दा किबी उत्पादन राम्रो छ।’ उनले सुलुबुङका करिब ५० परिवारले व्यावसायिक रूपमा किबी खेती गरिरहेको पनि सुनाए।

किबी टिप्ने सिजन कात्तिकपछि हो। तर, रेड किबी चाहिँ टिप्ने बेला भएको किसान खतिवडाले बताए। ‘पोहोर पाँच सय किलोजति भएको भएको रेड किबी यो वर्ष दोब्बर हुने सम्भावना छ,’ उनले प्रालिको उत्पादन सुनाए, ‘रेडक किबी अरू किबीभन्दा छिटो पाक्छ, अब बजारमा आउन थालिसक्यो।’ हिउँदमा असिना नपरेका कारण किबीलाई यो वर्ष हावापानीले साथ दिएको उनको भनाइ छ। ‘सुलुबुङमा त उत्पादन राम्रै छ, अन्य गाउँमा चाहिँ यहाँजस्तो देखिएन,’ उनले भने, ‘जिल्लाका केही स्थानमा असिनाले किबीमा नराम्ररी क्षति पनि ग¥यो।’

खतिवडाले नै २०६५ सालमा जिल्लामा किबीको खेती भिœयाएका थिए। उनकै खेती विस्तार हुँदै अहिले जिल्लाका सबैजसो गाउँमा किबी खेती पुगेको छ। सुरुमा किबी फल प्रतिकिलो ६ सय रुपैयाँसम्म थियो। अहिले सिजनमा एक सयदेखि दुई सय ५० रुपैयाँसम्म पर्ने गरेको छ। किवी खेतीबाट किसानको जीविका मात्र चलेको छैन। लाखौं रुपैयाँ आम्दानी पनि भइरहेको छ। किवीलाई नै व्यावसायिक बनाएर अन्य जिल्लामा यसको खेती विस्तार गर्न सघाउने किसान पनि इलाममै छन्। लेकाली भेगमा खेती हुने किवीले किसानलाई आम्दानीमा ठूलो राहत दिएको छ।

किबीबाट उल्लेख्य आम्दानी गरिरहेका साखेजुङ गाउँका गंगा विष्टले पनि यो वर्ष किबी उत्पादन राम्रो रहेको बताए। ‘किबी जोन परियोजनाले पनि किसानलाई सघाएकाले यो वर्ष गतवर्षहरूभन्दा उत्पादन राम्रै छ,’ उनले भने, ‘किसानले किबी खेतीको तालिम पाएका छन्, प्रशोधनबारे पनि तालिम दिइएको छ।’ विष्टले आफ्नो २० रोपनीमा अढाई सय बोट किबी रोपेका छन्। उनले किबी खेतीबाटै वर्षको ३६ लाख रुपैयाँसम्म आम्दानी गरेको सुनाए। प्रत्येक वर्ष २० लाख रुपैयाँभन्दा बढीको किबी फल र १०–१२ लाख रुपैयाँसम्मको बिरुवा बेच्छन् उनी।

एउटै बोटमा राम्रो फल लाग्दा दुई सय किलोसम्म उत्पादन हुन्छ। एक किलोमा १४ देखि २० दाना चढ्छ। वैशाख–जेठमा चिचिला लाग्ने किबी कात्तिकमा पाक्छ। वर्षमा एक सिजन उत्पादन हुने किवी कोल्डस्टोरमै नराख्दा पनि चैतसम्म टिक्ने भएकाले यसको व्यापार करिब ६ महिनासम्म राम्रो हुन्छ। पुस अन्तिमदेखि माघ दोस्रो सातासम्म यसको बिरुवा रोपिन्छ। कात्तिकमा टिपेको किबी घरमै जोगाएर राख्दा पनि चैतसम्म नबिग्रिने किसान बताउँछन्। तर, घरमा किबी जोगाउन समस्या हुने भएकाले शीतभण्डार आवश्यक रहेको किसानको भनाइ छ। गंगाबहादुर किबीको प्राविधिक पनि हुन्। किबी खेतीबारे तालिम दिन उनी इलामका विभिन्न गाउँसहित पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, भोजपुर, सिन्धुपाल्चोक र काठमाडौंसम्म पुगिरहेका छन्।

किबी खेती प्रवद्र्धन गर्न गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडामा ‘किबी जोन’ कार्यक्रम चलिरहेको छ। किबीकै लागि १० वर्षे परियोजना यहाँ सुरु भएको हो। ‘किबीको प्राविधिक सीप, दक्षता, किबीको गुणस्तर अभिवृद्धि, खेती विस्तारलगायतमा जोनको कार्यक्रम केन्द्रित छ,’ किबी जोनका सदस्यसमेत रहेका विष्टले सुनाए, ‘किबीको बजारीकरण र स्थानीयस्तरमै प्रशोधन गर्ने, प्रशोधन सिक्ने पनि परियोजनाको कार्यक्रम छ।’ परियोजनाका लागि गत वर्ष एक करोड तीन लाख रुपैयाँ आएको थियो। आउँदो वर्षलाई करिब अढाई करोड रुपैयाँ विनियोजन भएको उनले जनाए।

किबीको पकेट क्षेत्रका लागि १० हेक्टर, किबी ब्लकलाई सय, किबी जोनलाई पाँच सय र किबीको सुपर जोन घोषणा गर्न एक् हजार हेक्टर क्षेत्र निर्धारण गरिएको छ। किबीलाई पनि अलैंची, अदुवा, अम्लिसो, अकबरे र चियाजस्तै व्यावसायिक बनाउन परियोजना सञ्चालन गरिएको हो। जिल्लाका १५ हजार हाराहारी किसान किबी खेती गरिरहेको तथ्यांक छ। ‘किबी जोन कार्यक्रम लागू भएपछि जति आशा थियो, त्यति चाहिँ हुन सकेको छैन,’ किसान खतिवडाले सुनाए, ‘किबी भण्डार गर्ने, यसको गुणस्तर वृद्धिलगायत काममा अझ प्रयास गर्नुपर्छ। उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सक्नुपर्छ।’

समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरसम्मको उचाइमा खेती हुने किबी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम, काठमाडौं, भोजपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादन भइरहेको छ। नेपालमा ठूलो लाम्चो आकारको हेवार्ड, अलि सानो एलिसन, मन्टीलगायत जातका किबीको खेती गरिन्छ।  किसानका अनुसार सबैभन्दा राम्रो उत्पादन हुने र किसानले आम्दानी लिने जात चाहिँ हेवार्ड हो। हेवार्ड जातको किबी ठूलो र मीठो हुन्छ। यो किबी चाहिँ भण्डारण गर्दा पनि बढी टिकाउ हुने किसानले बताए।

किबी टिपाइमा ध्उान नदिँदा पनि यसको गुणस्तरमा असर भने पुगिररहेको छ। भौगोलिक उचाईअनुसार किबी टिप्ने सिजन फरक–फरक हुन्छ। किबीमा आवश्यक गुलियोपना पुगेपछि मात्रै टिप्न योग्य मानिन्छ। किसान विष्टले इलाममा मंसिर नलागी टिपेको किबीको गुणस्तर राम्रो नहुने बताए।    उनले किबीमा ‘६ ब्रिक्स’ वा टिएस (गुलियोपना) भन्दा बढी अंक पुगेपछि मात्रै टिप्न सुझाए। जिल्लामा उत्पादित किबी स्थानीय बजार, झापा, धरान, काठमाडौं, पोखरा, चितवनलगायतसम्म पुग्दैछ। केही किसानले भारतसम्म पु¥याएर पनि किबी बेचेका छन्। चीन, भारत र अन्य देशबाट समेत बर्सेनि ठूलो परिमाणको किबी माग हुनेगरेको छ। तर, उत्पादन र गुणस्तर पु¥याउन प्रयास भइरहेको किसान बताउँछन्।

प्रकाशित: १५ भाद्र २०७६ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App