अग्ला आसन र लामा भाषण

आइतबार, १५ भदौ २०७६, ०७ : २७ भैरव रिसाल

नेपाली राजनीतिमा एउटा नराम्रो रोग सल्किँदै जान लागेको छ।  त्यो रोग हो– जति ठूलो कुर्सीमा बस्यो त्यति ठूलो व्यक्तित्व विकास हुन्छ आफूमा भन्ने मनोरोग।  हाम्रा सरकारी वा राजनीतिक दलका ठूला पदमा आसीन व्यक्तिहरूलाई गाँजेको छ यो रोगले।  शासन व्यवस्था गणतन्त्र रे ! संविधानको गन्तव्य समाजवाद उन्मुख रे।  मानसिकता भने सबभन्दा ठूलो कुर्सीमा गजधम्म भई गम्भीर मुखमुद्रामा बस्नुपर्ने।  मुसुक्क हाँसो पनि छैन।  अट्टहास त कता कता ?स्वास्थ्य विज्ञानले पत्तो लगाएको छ– उन्मुक्त हाँसो धेरै रोगको उपचार हो, रोग लाग्नै नदिने पूर्वउपचार हो। 

तर यहाँ नाम नलिउँ, टेलिभिजनमा समाचार प्रसारण हुँदा कुन कुन उच्च पदाधिकारी मुसुक्क पनि नमुस्कुराइ गम्भीर भएर गजधम्म सोफामा बस्छन्।  मलामी गएको जस्तो अवस्था प्रतिविम्बन हुने गरी।  के यो साँच्चै गणतन्त्रको संकेत हो ? समाजवाद उन्मुख लक्ष्यमा पुग्ने खुड्किलो हो ? लौ न हँसिलो भइदिनोस्।  जन्त जाँदा जस्तो उन्मुक्त हाउभाउमा भइदिनोस्।  मलामी गएको बेलाको, आशोचको बेलाको जस्तो मुखाकृति नलगाइदिनोस् कृपया।  नेताहरूको ठुस्सिएको अनुहार हे-यो दिनभरि नै बरबाद ! फेरि पनि आग्रह छ– तपाईँ पदले ठूलो मान्छे, बुद्धिले पनि ठूलो, व्यवहारले पनि ठूलो भइदिनोस्।  तपाईँको अन्तर्य नै मित्रतामैत्री छ भन्ने अनुभूति होस् तपाईँलाई देख्ने सबैमा।  मलामी जाँदा, मृतव्यक्तिको पार्थिव शरीरमा पुष्प श्रद्धाञ्जली दिँदा मुस्कुराउनोस्, हाँस्नोस् भनेको होइन है, अर्थको अनर्थ लाग्ला।

शासन व्यवस्था गणतन्त्र रे ! संविधानको गन्तव्य समाजवाद उन्मुख रे।  मानसिकता भने सबभन्दा ठूलो कुर्सीमा गजधम्म भई गम्भीर मुखमुद्रामा बस्नुपर्ने।

सामन्तवादको अवशेष
अहिले एउटा समतावाद विरोधी, पृथकतावादी व्यवहार फस्टाउन थालेको छ।  राजतन्त्र, त्यो पनि सक्रिय नेतृत्वमा भएको बेलाको जस्तो पृथकतावादी व्यवहारले प्रश्रय पाउँदै जान लागेको देखापर्छ।  राजतन्त्रमा सभा÷समारोहहरूमा राजा÷रानी बस्ने कुर्सी पृथकखालका हुन्थे।  अहिले पनि त्यो प्रवृत्ति पुनरावृत्त भइरहेकोछ।  यो सम्मान वा मानमनितो यस्तो दीर्घ मनोरोग हो जसले एकचोटि समातेपछि छुटाउनै सकिँदैन वा साह्रै साह्रै कष्ट पर्छ।  यो व्यवहार वास्तवमा राजतन्त्रबाट पाएको औताली हो भन्ने लाग्छ।  यस्तो पंक्तिभेदको चलन अन्य पुँजीवादी पार्टीहरूमा भए पनि नेपाल कम्युनिस्ट पार्टीमा हुनु नपर्ने हो।

  नेकपामा त सबै तहका नेताहरूको आसन समान एउटै तह र स्तरको हुनुपर्ने हो।  तर ? अझ जनताको बस्ने ठाउँ अरु राम्रो, अरु स्वस्थ्यकर र अरु आरामदायी हुनुपर्ने।  यस्तो बस्ने आसनमा व्यापक भेदभाव त अहिलेको नेकपाको राज्य शासनमा बढ्न थालेको अनुभूत हुन्छ।  यो मञ्च बनाउने, सजाउने, मञ्चमा आसीन गराउने, ब्याच र खाँदा पहिराउने जस्ता समय बरबाद गराउने विधि समाजवाद उन्मुख गणतन्त्रात्मक शासन व्यवस्थाले अरु बढाएजस्तो लाग्छ।  समय यति सीमित छ अरु मुलुकले सय वर्षमा गरेका काम नेपालले दश बीस वर्षमा नै सम्पादन गर्नुपर्ने पेलानछ।  अझ कतिपय समारोहमा त आसन ग्रहण गराउने काम पनि किस्ता किस्तामा गराइन्छ।  बोलाएको समयमा नआउनेहरूलाई त आसन ग्रहण जस्ता सम्मान होइन, अपमान गर्नुपर्ने होइन र ?तर ढिलो आउनेहरूलाई झन् बढी सम्मान पो गरिन्छ।  मलाई लाग्छ, यस्तो व्यवहार सामन्तवादी संस्कार समाजवाद विरोधी स्थापना हो। 

प्रचण्ड पहिलोपल्ट प्रधानमन्त्री भएका बेला २०६५ भदौ ६ मा प्रधानमन्त्री निवासमा निकै महँगो पलङ खोजेका प्रसंगले समाज तातेको सम्झना छ अझै पनि।  भ्रष्टाचारग्रस्त अनियमिततामा मस्त शासन, अग्लो आसन र लामो भाषणले तपाईँ नेताहरूलाई अग्लो गराएको छैन, बरु होच्याएको छ।  यसतर्फ गम्भीर हुने कि ?

सादा व्यवहार उच्च विचार
मञ्चमा उम्दा उम्दा सोफासेट।  त्यतिमात्र हो र? प्रमुख अतिथि बस्ने सोफा त झन् धेरै ठूलो अरुभन्दा उम्दा।  दुब्ला पातला ज्यानका त तीनजना अटाउने।  यता तल दुई तीन लाइन सोफा, अनि गद्धावाल मेच।  अनि सस्ता प्लास्टिकका मेच।  त्यतिले नपुग्ने कति समारोहहरूमा कैयौँ दर्शक वा ढीला आउने निम्तालु पनि छेउ भित्तामा उभिनुपर्ने।  यसखालको आसन भेद निर्दलीय पञ्चायती शासनमा अरु बढी हुन्थ्यो।  अचेल राष्ट्रपति विद्यादेवी भण्डारीलाई शिष्टाचारका काइदा कसरी निर्वाह गर्न लगाइन्छ छक्क लाग्छ।  अघिल्ला वा नेपालका पहिला राष्ट्रपति डा. रामवरण यादव लवाइमा आँखालाग्दो देखिनुभएन।  औपचारिकमा बाहेक आफ्नो ठाउँको मिथिलाञ्चलको पोशाक लगाउने, काँधमा गम्सा हाल्ने, कति सुहाउने।

  समारोहहरूको आसनमा अहिले जस्तो आकारमा अति धेरै फरक पर्ने प्रायः हँुदैनथ्यो।  अलि अलि फरकमा भने डा. यादवको पनि आँखा परेन क्यार ! डा. यादव समाजवाद उन्मुख गणतन्त्रात्मक संविधान लागु भएपछि लामो समय राष्ट्रपति बन्नुभएन।  तर अहिले त राष्ट्रपति भण्डारीलाई लवाइ र सभा÷समारोहहरूमा जाँदा र फर्कँदाका व्यवहारमा कसले सल्लाह दिन्छ वा दिँदैन थाहा छैन।  जरुरै सल्लाह दिइँदो हो।  उहाँका लिखित भाषण त सचिवहरूमार्फत तयार पारिँदो हो तर सल्लाहकारले यसरी उन्मूलित राजा जस्तो भान हुने विधि व्यवहार गराउनुभएन।  सामान्यभन्दा सामान्य लवाइ हुनुप¥यो।  सभा÷समारोहरूमा आसन पनि साह्रै फरक आँखै बिझाउने गरी साना ठूला हुनुभएन।  सादा व्यवहार उच्च विचार आजको खाँचो हो। तर यो भन्न जति सजिलो छ व्यवहारमा उतार्न त्यति नै कठिन हुन्छ। 

खोजेको राष्ट्रपति, पाए राजा जस्तो    
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीज्यूहरू, तपाईँहरू राजा होइन, रानी होइन न त हो युवराज÷युवराज्ञी नै।  राष्ट्रपति कार्यालयमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एउटा कार्यक्रममा म पनि बोलाइएछु।  मैले राष्ट्रपति कार्यालयका अधिकृतसँग सोधेँ– राष्ट्रपति महोदयसँग कुरा गर्न पाइन्छ कि पाइँदैन ? कुरा गर्न नपाए किन आउने र ? उनले पाइएला भनेपछि गएँ।  भाषण गर्न पाइएन।  खिन्न भएँ।  राजतन्त्रका बेला राजा÷रानी आमन्त्रितहरूका अगाडि गई कुरा गर्थे कतिजनासँग।  त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी मनिर आइपुग्नुभो।  शिष्टाचारपूर्वक उठेर नमस्कार गरेँ।  अनि भनेँ– नेपाली जनताले राष्ट्रपति खोजेका थिए तर राजा पो पाएजस्तो भो। 

उहाँले प्रश्न गर्नुभो– कसरी? मैले तपाईँ बाहिर निस्कँदा जसलाई सवारी भनिन्छ, आमसर्वसाधारण जनताले साह्रै कष्ट पाए, मान्छेले हिँड्नै नपाउने भए, यो त साह्रै भो भनेँ।  उहाँले के गर्ने त भन्नु भो।  के गर्ने म त्यो जान्दिन।  सरोकारवालाहरूसँग गम्भीर छलफल गरी समाधान खोज्नुप-यो।  उहाँ अगाडि बढ्नुभो।  त्यसपछि कुरो अगाडि बढ्यो÷बढेन थाहा भएन।  विद्यादेवी भण्डारी हाम्रो राष्ट्रपति हो।  उहाँको न्यायोचित सम्मान एवं मर्यादा हुनुपर्छ।  यसमा प्रश्न नै छैन।  तर नेपाली जनता पनि सार्वभौम शक्ति भएका जनता हो।  राष्ट्रपति महोदयले पनि सार्वभौमसत्तावाला नेपाली जनताको यथोचित सम्मान गर्नैपर्छ।  राष्ट्रपतिको सवारीको नाममा सर्वसाधारण जनताले बाटो हिँड्दा अनाहकमा सास्ती खानुपर्ने अवस्था वाञ्छनीय हँुदैन।  संसारमा यस्ता पनि राष्ट्रछन्, राष्ट्रपति छन् जो बिदामा घर जाँदा साइकलमा, रेलमा यात्रा गर्छन्।  राष्ट्रपतिज्यू, तपाईँ राजा होइन राष्ट्रपति हो।  कैयौँ नेपालीले आफ्नो ज्यान उत्सर्ग गरेर ल्याएको गणतन्त्रको राष्ट्रपति हो। 

ठूलो मेच हटाउन लगाए
छिमेकी भारतमा एउटा कालखण्डमा एकजना त्यस्ता व्यक्ति राष्ट्रपति भए जसको नाम एपिजे अब्दुल कलाम थियो।  उनी विख्यात वैज्ञानिक थिए।  मिसाइल पनि बनाएका थिए राष्ट्रपति नहुँदै।  त्यसैले उनलाई ‘मिसाइल म्यान’ पनि भनिन्थ्यो।  सन् १९३१ म जनमेका अब्दुल कलाम २०१४ मा ८३ वर्षमा बिति पनि सके।  भारतमा राष्ट्रपति हुनेहरू बेलाबेला आफ्नै विशेषता भएका व्यक्तित्व हुन्छन्।  गैरराजनीतिक पृष्टभूमिबाट राष्ट्रपति हुनेहरूमा विशिष्ट दार्शनिक, विलक्षण वैज्ञानिक, उत्कृष्ट सामाजिक वैज्ञानिक, नमुना समाजसेवीमध्येबाट पर्छन्।  अब्दुल कलाम विशिष्ट वैज्ञानिक थिए।  उनको व्यक्तित्व ठूलो सोफामा विराजमान भएर बढाउनु नपर्ने। 

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको वाराणसीमा आयोजित दीक्षान्त समारोहमा अवकाश पाइसकेका राष्ट्रपति अब्दुल कलाम प्रमुख अतिथि रहेछन्।  समारोहस्थल गए।  त्यहाँ ९ वटा मेच लहरै राखिएको रहेछ।  ९ वटामा एउटा मेचको डनलप अलि बाक्लो रहेछ र मेच पनि अरुभन्दा ठूलो जुन पूर्वराष्ट्रपति बस्ने भनिएको रहेछ।  तर अब्दुल कलाम त्यो मेचमा बसेनन्, उभिइरहे त्यो हटाउन लगाए र अरुसरहको मेचमा बसे।  त्यस्तै राजनाथ गोयन्का पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि थिए।  त्यहाँ त झन् उल्का गरे राष्ट्रपतिले।  पत्रकारिता र व्यावसायिकता विषयमा बहस हुँदै थियो।  मञ्चको भुइँमै बसेर बहसमा भाग लिए।

  यता पत्रकारहरू भने कुर्सीमा थिए।  नेपालमा भने पञ्चायतकालको झझल्को दिने सामन्तवाद, मपाईँवाद हावी भएको छ।  प्रमुख अतिथि हुने महासयका लागि विशेष ठूलो कुर्सी राख्नेविकृत चलनको बिगबिगी बढेको छ।  राष्ट्रपति निवासमा निर्मित मञ्चमा एउटा विशाल सोफा राखिएको हुन्छ जहाँ राष्ट्रपति विद्यादेवी भण्डारी विराजमान हुनुहुन्छ।  यद्यपि भण्डारी मोटी नै हुनुहुन्छ।  दुब्लोभए त्यो सोफामा तीनजना सजिलै अटाउँछन्।  त्यो ठूलो सोफा र कुर्सी मोहको उपचार गर्नु राम्रो। 

यस्ता अन्तर्य बुझौँ
सरकारका माथिल्लो तहका नेता, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष, पार्टीका शीर्ष नेताहरूमा एउटा मनोरोग झाङ्गियो।  उहाँहरूमा सादा जीवन उच्च विचार जो पूर्वीय दर्शनको जीवन्त दर्शन हो।  त्यो दर्शनबाट हाम्रो नेतृत्व बाहिरिन लाग्यो।  राम्रो र झिल्के लुगा लाउने, सार्वजनिक सभा÷समारोहमा अरु उच्च तहका व्यक्तित्वभन्दा पनि अग्लो र ठूलो सोफा चाहिने राजतन्त्रको तम्तमिलो हरक आउने प्रवृत्तिले उहाँहरूलाई नराम्रोसँग गाँजेको छ।  संविधान समाजवाद उन्मुख, व्यवहार र प्रवृत्ति भने अग्लो होचोवादबाट निर्देशित यस्तो अग्लो, होचो र आँखै बिझाउने सानो ठूलो विषम आसन मिलेन, मिल्दै मिलेन। 

यो विभेदवाला आसनको प्रारम्भ नोकरशाही पक्षबाट आएजस्तो लाग्छ।  कमरेड प्रचण्ड पहिलोपल्ट प्रधानमन्त्री भएका बेला २०६५ भदौ ६ मा प्रधानमन्त्री निवासमा महँगो, निकै महँगो पलंङ खोजेका प्रसंगले समाज तातेको सम्झना छ अझै पनि।  भ्रष्टाचारग्रस्त अनियमिततामा मस्त शासन, अग्लो आसन र लामो भाषणले तपाईँ नेताहरूलाई अग्लो गराएको छैन, बरु होच्याएको छ।  यसतर्फ गम्भीर हुने कि ? केही समयअघि प्रधानमन्त्री निवास बालुवाटारमा मध्यपश्चिम विश्वविद्यालयको वार्षिक साधारणसभा भएछ।

  प्रधानमन्त्री नै विश्वविद्यालयहरूको कुलपति हुने विधिअनुसार उनको  सभापतित्वमा बैठक हुनु स्वाभाविक भो।  प्रधानमन्त्री निवासमा मञ्च जस्तै पण्डप पनि छ रे जसमा प्रधानमन्त्रीको आसन अग्लो र ठूलो छ रे।  तर त्यो बैठकमा कुलपति ओली पनि अरु सभासद जस्तै समान आसनमा बस्नुभएछ।  प्रायः सभासदले उहाँको उच्च मूल्याङ्कन गरेछन्।  यसबाट उहाँको व्यक्तित्व उचालिएछ।  जनताका यस्ता अन्तर्य बुझ्दा राम्रो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad