५ वैशाख २०८१ बुधबार
समाज

खोला संरक्षणमा स्थानीय

निकास खोला संरक्षणमा लागेको स्थानीय। तस्विरःगणेश विशु/नागरिक

गणेश विशु
वीरेन्द्रनगर - वीरेन्द्रनगरको तल्लो तटीय क्षेत्रको निकास खोला संरक्षणका लागि स्थानीयहरु जुटेका छन्।  वीरेन्द्रनगर नगरपालिका वडा नम्वर–२ र ९ का बासिन्दा निकास खोला संरक्षणमा जुटेका हुन्।  खोलामा बिष प्रयोग गरेर माछा मार्नेक्रम बढेपछि त्यसलाई रोक्नका लागि आफूहरु लागेको स्थानीय बखतबहादुर शाहीले जानकारी दिए।  पानी विष प्रयोग गरिँदा माछालगायत अन्य जलचर जनावरहरू लोप हुँदै जान थालेका छन्। 

वीरेन्द्रनगर उपत्यकाको पानी निकास हुने खोलाले पर्सेनी, रहरपुर, नयाँगाउँ, तिलपुरलगायतका बस्ती बर्सेनि बाढीको मारमा पर्ने गरेका छन्।  वीरेन्द्रनगर नगरपालिका वडा नम्वर– २ को आदर्श सामुदायिक वन र ९ नम्वर वडामा रहेको नौलो सुधारवादी सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वमा खोला संरक्षण गर्न लागिएको शाहीले बताए।  ‘खोला बग्ने ठाउँ साँघुरो छ,’ उनले भने, ‘खोला बग्ने फराकिलो ठाउँ नहुँदा बस्तीहरू ढुवानमा पर्छन्। ’ भेरी नदीको संगमस्थलसम्म संरक्षणका लागि शनिबार सरोकारवालाहरुको भेला बोलाइएको थियो।

भेलामा वडा नम्बर ९ का अध्यक्ष सुरेश मानन्धरले खोला संरक्षणमा नगर र प्रदेश सरकारसँग समन्वय भइरहेको बताए।  बर्खामा खोलाले यहाँका बासिन्दालाई हैरानी बनाएको भन्दै उनले खोला संरक्षणमा स्थानीयलेसमेत साथ दिनुपर्ने बताए।

नेपाली कांग्रेस वीरेन्द्रनगर नगर सचिव उपेन्द्रबहादुर खड्काले खोला संरक्षणका लागि दसैंपछि विज्ञ प्राविधिकको टोली ल्याइने बताए।  विज्ञ टोलीलाई ल्याएर खोला र बस्तीको सर्वेक्षण गर्ने उनको भनाइ छ।  ‘खोला दूषित हुँदै गएको छ,’ उनले भने, ‘यसले यहाँ स्वास्थ्यमा समस्यासमेत उत्पन्न हुने गरेको छ। ’ ‘बजारमा फोहोर पदार्थ खाएर गाईबस्तुले दिसा गर्छन,’ उनले भने, ‘त्यो सिधैं निकास खोलामा आउँछ, जसले यहाँका बासिन्दालाई खसर पु्याउँछ।’

गाईबस्तुको दिसापिसाब, बजारबाट बगेर आएको फोहोरले तत्काल असर नगर्ने भन्दै उनले पछि गएर स्वास्थ्यमा असर गर्ने बताए। बर्सेनी बस्तीमा खोला पस्दासमेत सरोकार निकाय मौन बसेको स्थानीय विशाल ढकालले बताए।  स्थानीय र प्रदेश सरकारले समेत बाढी नियन्त्रण र खोला संरक्षणमा चासो नदिँदा स्थानीय आफैँ खोला संरक्षणमा सक्रिय हुन थालेको उनी बताउँछन्।  ‘दूषित पानीले यहाँका माछा समेत लोप हुँदै गएका छन्,’ उनी भन्छन्, ‘नदी सफा हुँदा यसलाई पर्यटनको गन्तव्य बनाउन सकिन्छ। ’ सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले खोला संरक्षणका लागि नीजि क्षेत्रको पनि साथ सहयोग हुने बताए।

जिल्ला सदरमुकाम तथा कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरका साना खोला तथा ढलबाट बनेको उक्त खोलामा पछिल्लो समय विषदीयुक्त पानी बग्न थालेको छ।  उक्त खोला वीरेन्द्रनगर वडा नम्बर २ र ९ को बीच भएर भेरी नदीमा मिसिएको छ।

प्रकाशित: १४ भाद्र २०७६ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App