८ वैशाख २०८१ शनिबार
समाज

एकैदिन तीन सरकारी मोटरसाइकल दुर्घटना, ४ घाइते

बाजुरा– सरकारी स्वामित्वमा रहेका तीन वटा मोटरसाइकल एकै दिन दुर्घटनामा परेका छन्। बुढीगंगा नगरपालिकाको नाममा रहेका २ वटा र जगन्नाथ गाउँपालिकाको नाममा रहेको १ वटा मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले बताएको छ। 

बुढीगंगा नगरपालिकाको फालासैन र बुढीनन्दा नगरपालिकाको भारती कौसाडीमा मोटरसाइकल दुर्घटनामा परेका हुन्। तीन वटै मोटरसाइकल सवारी चालक अनुमति नै नभएका व्यक्तिले चलाई रहेको अवस्थामा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले बताएका छन्।

बुढीगंगा नगरपालिका ९ नम्बर वडा कार्यालयको नाममा रहेको र लक्ष्मण थापाले चलाई रहेको से १ ब १२४१ र ६ नम्बर वडा कार्यालयको नाममा रहेको सुप प्रदेश ०१००१ ब १३४१ नम्बरको डम्म गिरीले चलाई रहेको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन्। 

थापा वडा कार्यालय असम्बन्धित हुन् भने डम्मर गिरी वडा सदस्य हुन्। दुर्घटनामा दुबै जना घाइते भएका छन्। उनीहरुको अछामको बयालगडा अस्पतालमा उपचार भइरहेको छ। 

यस्तै जगन्नाथ गाउँपालिकाका कार्यालय सहायक भीमबहादुर शाहीले चलाएको से १ ज ४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४४ वर्षका दिप भण्डारी र ४२ वर्षका गोविन्द्र भण्डारी घाइते भएका छन्।

दुबै जनाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ। अनुमति पत्रसहित आवश्यक कागजात नभएरै मोटरसाइकल चलाएर दुर्घटना गराएका तीनै जनालाई आवश्यक कारवाहीको तयारी प्रहरीले गरेको छ। 

राज्यको सम्पतीको दुरुपयोग गरेर अवैध रुपमा सवारी साधान चलाएको र सर्वसाधारणलाई घाइते समेत बनाएकोले कारवाही प्रक्रिया अघि बढाएको डिएसपी भाटले बताए। सवारी साधन र तीन जना प्रहरी नियन्त्रणमा रहेका छन्।

स्थानीय तहका सवारी साधनको चरम दुरुपयोग हुने गरेको प्रहरीले बताएको छ। अनुमति नदिएको विदाको दिन पनि चलाउने गरेको, असम्बन्धित र अनुमति पत्र नै नभएका व्यक्तिले चलाउने गरेको प्रहरीको दाबी छ। 

बुढीगंगा नगरपालिकाका मोटरसाइकल यसअघि पनि कारवाहीमा परिसकेकोले वडा अध्यक्षलाई नै बोलाएर छलफल गर्ने तयारी प्रहरीले गरेको छ। यता बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाहले भने आफूलाई जानकारी नभएको बताएका छन्। वडा कार्यालयलाई दिएकोले असम्बन्धित व्यक्तिले चलाएको भेटिए छानवीन गर्ने उनको भनाई छ। 

प्रकाशित: १४ भाद्र २०७६ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App