coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

भूकम्पभन्दा ठूलो धक्का

२०७२ वैशाख १२ गते विनाशकारी भूकम्प आयो । भूकम्प सबैलाई आयो । भूकम्पले दिएको पीडा सबैमा फरकखालको रहे । कसैले परिवारका सदस्य नै गुमाए त कसैले चाहिँ पशु÷चौपाय, कतै घर भवन भत्के त कतैचाहिँ बस्ती नै उठिवास भयो । मुलुकको भौगोलिक बनावट फरक भएकाले विशेषगरी हिमाली र पहाडी क्षेत्रमा भूकम्पले लगाएको घाउ अझ गहिरो रह्यो । यसरी भूकम्पले सत्यानाशै गरेकामध्ये फुच्चे हिमाली जिल्ला रसुवा पनि अग्रपंक्तिमा पर्न पुग्यो ।

भूकम्पपछि म आफैँ पनि बारीको पाटोमा २० दिन बिताएँ । त्यस क्रममा १४ महिने छोरालाई निमोनिया भएको पीडाले झनै सतायो । सञ्चारमाध्यमले खबर दिइरहे । तिनै खबरले भने कि हामीभन्दा दुःख पाउने अझै धेरै रहेछन् । त्यसपछि आफ्नो पीडा मलाई निकै झिनो बोध भयो । र आफूभन्दा पनि पीडितहरुको दुःख कम गर्न केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले एउटा संस्थामा आबद्ध भएर स्वयम्सेवकका रूपमा रसुवामा काम गर्न थालेँ ।

कैयौं परिवारले भूकम्पका कारण छँदाखाँदाको घर गुमाउनुपर्दाको पीडा सहिनसक्नु थियो । शिविरमा बिताउनुपरेका दिनचर्या कम कष्टकर थिएनन् । सुत्केरी आमा, नवजात शिशु, वृद्धवृद्धाको अवस्था त कुरा गरी साध्यै थिएन । उनीहरुको दुःख कम गर्न हिँडेकी म आफैँ पनि निमोनियाले सताइरहेको छोरो छाडेर हिँडेकाले बेलाबेलामा निकै सताइन्थेँ । तर भूकम्पका कारण छोरा गुमाएका थुप्रै आमा देखेपछि भने मन बुझाउँथे जबर्जस्ती । दुःखीहरुको भेलमा मिसिएपछि आफ्नो दुःख फिका हुने अनुभव पनि भयो त्यस क्रममा ।

वर्षा बल्लतल्ल बिताए उनीहरुले । अब त केही हुन्छ कि भन्ने आश गर्दागर्दै हिउँदको कठ्यांग्रिदो जाडो पनि सामना गर्न बाध्य भए । केही संघसंस्थाले उपलब्ध गराएका राहत सामग्री त थिए तर तिनले क्षणिक आशामात्र दिन सक्थे । हामी जस्ता स्वयम्सेवकसँग समेत उनीहरु निकै आशाको भावले हेर्थे तर हामी पनि के नै गर्न सक्थ्यौँ र ? हाम्रो आफ्नै पीडा कसलाई बताउनु भइरहेको हुन्थ्यो । तर पनि दुःखीहरुसँग सहकार्य गर्न पाउँदा आफ्नो पीडा निकै कम हुने रहेछ भन्न बुझाइ भयो ।

अरुबेला त जेनतेन जिन्दगी चल्थ्यो । जब चाडपर्व आउँथ्यो, अनि आफूले मजाले मनाएको चाडसँग वर्तमान दाँजेर भक्कानिन्थे भूकम्पपीडितहरु । खानकै लागि विदेशिनुपरेका आफन्त सम्झेर निकैबेर रुन्थे। त्यतिबेला पनि आफैँलाई पनि सम्हालिनै गाह्रो पथ्र्यो । जे होस्, उनीहरुलाई सम्हाल्ने र आफू पनि सम्हालिनेबाहेक विकल्पै पनि के थियो र हामीसँग । यस्ता धेरै क्षण बिते जतिबेला दुवैले दुवैलाई आश्वासन बाँडेर सुन्दर भविष्य कल्पना गरियो ।

भूकम्पपछि विस्थापित ठूलो समुदायले अझै पनि अनुदान सम्झौतासमेत गर्न पाएका छैनन् । कैयौं भूमिहीन, बिर्ता, गुठीपीडित सुकुमवासी आदिले आवास निर्माण अनुदान पाउन सकेका छैनन् । म संलग्न संस्थाले व्यावसायिक खेतीमा सघाएको थियो । जसमा धैरै विपन्न गरिब भूमिहीन साना किसानलाई आलु, प्याज, गोलभेडा खेती, मौरी पालन, बाख्रा पालन जस्ता आय आर्जनमा सहयोग गरिएको थियो । यसबाट मलगायत उनीहरु पनि खुसी त थिए तर यो सबै क्षणिक थियो। त्यसैले वर्तमानको खाने गर्जो टरे पनि भविष्य सम्झेर निकै दुःख मनाउ गर्थे उनीहरु । र, अहिले पनि गरिरहेका छन् ।

घर बनाउन पाउने आशा अझै पनि बाँकी छ उनीहरुमा । कोही बिर्ता जग्गा कमाउँछन् तर त्यो जग्गा आफ्नो स्वामित्वमा छैन। एकातिर भएको घर भत्क्यो अर्कोतिर आफूले वर्षौंदेखि भोगचलन गरिआएको जमिनमा स्वामित्व छैन । सरकार भन्छ– घर बनाउने अनुदान लिन जग्गा धनी पुर्जा चाहिन्छ । अरे बाबा, जसले यस्तै जग्गा आफ्नो नाममा गराउन पुस्तौंदेखि संघर्ष गर्दै आएको छ, अझै भएको छैन, उसले कहाँबाट जग्गा धनी पुर्जा ल्याउनु ? के जग्गा धनी पुर्जा नभएकै कारण उसले घर बनाउन सरकारी सहयोग नपाउने ? यो त हदैसम्मको अन्याय भयो । तर पनि सुनुवाइ नहुनु र यो कुरा सम्बन्धितले नबुझ्नुले भूकम्पभन्दा पनि बढी पीडा थोपरेको छ ।

नेपालको सामाजिक संरचना नै यस्तो छ कि जो धनी छ उसैलाई मात्र अवसरले पछ्याउँछ । भूकम्पले थोपरेको पीडापछि पनि यसमा परिवर्तन आएन । आफ्नो नाममा जग्गा नहुनु पीडितको दोष हो ? पुर्जा हुने र नहुनेलाई राज्यले दुई वर्गका नागरिकको व्यवहार गर्न मिल्छ ? नेपालको असमान भूमि सम्बन्ध र त्यसले सिर्जना गरेका समस्याले गरिबहरु नै पेलिएका छन् भन्ने सरकारमा बस्नेहरुले बुझेका छैनन् ? हैन भने यी प्रश्न हल नगरी किन पुनर्निर्माणका काम थालिए ? थालिए पनि यी समस्या समाधानार्थ किन प्रयास भएन ? के गरिबलाई पन्छाएर गरिने पुनर्निर्माणले वास्तविक पुनर्निर्माण सम्भव हुन्छ ? यी प्रश्नमा ध्यान दिइएन भने राज्यले त केही गर्न सक्दैन भन्ने प्रमाणित भइसकेको छ भने हामी जस्ता स्वयमसेवकले के नै गर्न सक्दारहेछौँ र ? स्वयम्सेवकको भूमिका निर्वाह गरी फर्कँदा मनभरि बास गरेको सबैभन्दा ज्वलन्त प्रश्न यही रह्यो।

प्रकाशित: १ मंसिर २०७३ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App