coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाटनमा ३५ वर्षपछि देखाइयो ‘दधि लीला’

ललितपुर-ललितपुरको ऐतिहासिक कार्तिक नाच अन्तर्गतको नाच ‘दधि लीला’ ३५ वर्षपछि सोमबार पाटन दरबारको कार्तिक डबलीमा मञ्चन भयो । अर्थ अभावमा यो नाच ३५ वर्षसम्म हुन सकेको थिएन ।

कृष्ण लीलामा आधारित यो नाचमा भगवान श्रीकृष्णले युवावस्थामा गरेका लीलाबारे नाच प्रस्तुत गरिएको छ । नाचबारे कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार भन्छन्, ‘कृष्ण युवा अवस्थामा हुँदा गोपिनीसँग जिस्कने र नजिकिने गर्छन् । एक दिन गोपिनीहरू दही लिन जाँदा बाटोमा कृष्णसँग जम्काभेट हुन्छ र कृष्णले गोपिनीलाई जिस्काउन थाल्छन् ।’

त्यस क्रममा गोपिनीहरू जमुना नदी तर्न सक्दैनन् । नदीको छेउमा डुंगा लिएर कृष्ण भगवान बसेका हुन्छन् । उनीहरू नदि तार्न कृष्णलाई गुहार्छन् । नाचको बाँकी कथा जोडदै कार्तिक नाच संरक्षण समितिका उपाध्यक्ष प्रतापधर शर्मा भन्छन्, ‘गोपिनीले नदी तार्न कृष्णसँग हारगुहार गरेपछि कृष्णले ज्याला माग्छन् । तर ज्याला दिन गोपिनीसँग केही हुँदैन । त्यसपछि कृष्णले तिमीहरूसँग जे छ त्यै देउ भन्छन् ।’ उनका अनुसार गोपिनीहरू त्यसमा राजी हुन्छन्् र कृष्णले नदी तारिदिन्छन् । नदि तारिसकेपछि गोपिनीहरूले कृष्णलाई दही लिएर फर्कंदा ज्याला दिने विश्वास दिलाउँछन् र दही लिन अढाई भन्ने स्थानमा पुग्छन् ।

अध्यक्ष चित्रकारका अनुसार उनीहरू दही लिएर फर्कंदा फेरि यमुनाका किनारमा पुग्छन्, जहाँ कृष्ण ढुुंगा तयार पारेर बसेका हुन्छन् । कृष्णले आफूलाई गोपिनीहरूले केही नदिउन्जेल नदी नतार्ने अड्डी कस्छन् । गोपिनीहरू कसै गरे पनि कृष्णलाई दही दिन मान्दैनन् । कृष्ण र गोपिनी बीच दही खोसाखोस हुन्छ । खोसाखोसमा कृष्णले दहीको कहतारो फुटाइदिन्छन् । कहतारो फुटाएपछि कृष्णलाई सबै गोपिनीले घेर्छन् र जिस्काउँछन् । गोपिनीले केहीबेर कृष्णलाई जिस्काएपछि अन्त्यमा दुवै पक्षबीच मेलमिलाप हुन्छ ।

३ सय ७६ वर्षअघि सिद्धिनरसिंह मल्लाका पालामा सुरु यो नाच यस वर्षको कार्तिक नाचमा प्रस्तुत गरिने अन्तिम नाच हो । गत वर्ष १० दिन देखाइएको र यसपल्ट ‘दधि लीला’ थपेर १२ दिन पु¥याइएको कार्तिक नाच सोमबार सकिएको छ । विसं २००६ सालसम्म २७ दिनमा १७ वटा नाच देखाउने गरिन्थ्यो । यस वर्षको कार्तिक नाचमा ६ लाख रुपैयाँभन्दा बढी खर्च भएको समितिले जनाएको छ ।

प्रकाशित: १ मंसिर २०७३ ०२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App