७ वैशाख २०८१ शुक्रबार
समाज

बढ्न थाल्यो उपत्यकामा जाडो

काठमाडौं-यस वर्ष कात्तिक सकिँदा नसकिँदै जाडो निकै बढेको अनुभव काठमाडौं उपत्यकावासीले गरेका छन्। तुलनात्मक रुपमा जाडो बढेको जल तथा मौसम विज्ञान विभागले पनि पुष्टि गरेको छ। आफ्नो अण्डाकार कक्षमा पृथ्वी सूर्यबाट टाढिँदै जाँदा मौसम परिवर्तन भइ हिउँद लाग्छ।

उपत्यकामा मंगलबार न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसमा झरेको थियो । गत वर्ष यही बेला उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री थियो । ‘तथ्यांक हेर्दा गत वर्षको भन्दा केही समयअघि नै यस वर्ष जाडो बढेको देखिन्छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले भने, ‘दुई÷चार दिन ढिलोचाँडो जाडो बढ्नु सामान्य हो । पृथ्वी सूर्यबाट टाढा गइरहेकाले जाडो बढ्ने क्रम जारी रहन्छ।’ दिन छोटो र रात लामो हुँदा पृथ्वीको सतहमा घाम कम लाग्दा पनि जाडो बढछ ।

गत वर्ष उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको थियो । यस वर्ष पनि न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियमा झर्नसक्ने अनुमान महाशाखाको छ । केही वर्षअघि उपत्यकाको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियसमा झरेको तथ्यांक महाशाखासँग भएकाले कति जाडो होला भनेर भन्न नसकिने महाशाखाले जनायो । ‘शून्य डिग्री सेल्सियसमा तापक्रम झर्नु सामान्य नै हो,’ मौसमविद् पौडेलले भने, ‘माइनसमा नजाला भन्न सकिँदैन ।’

महाशाखाले उपत्यकाको मौसम सफा रहेको बताए पनि उचाइबाट नियाल्दा उपत्यकामा तुवाँलो लागेको देखिन्छ । उपत्यकामा देखिने तुवाँलो भने प्राकृतिक नभएर कलकारखाना, सवारीसाधनको धुवाँ र सडकको धूलो हावाले उडाउन र पानीले पखाल्न नसक्दा लागेको महाशाखाको दाबी छ ।

उपत्यका चारैतिर पहाडले घेरिएको, हावा नचलेको र पानी नपरेकाले प्रदूषणका कारण उपत्यकामा तुवाँलो देखिने पौडेलले बताए । प्रदूषण कम हुन र उपत्यकाको आकाश सफा हुन पानी पर्नुपर्छ वा हुरी बतास नै चल्नुपर्ने भन्दै तत्काल पानी पर्ने सम्भावना नरहेको महाशाखाले बतायो । पश्चिमी वायुको प्रभाव भए पानी पर्छ । अहिले पश्चिमी वायु वहने कुनै संकेत नदेखिएको महाशाखाका मौसमविद् विभूति पोखरेलले बताइन्। पानी पर्ने र हुरी बतास चल्ने सम्भावना नभएकाले उपत्यकामा प्रदूषण भने बढ्दो क्रममा रहेको पोखरेलको भनाइ छ ।

 

 

प्रकाशित: १ मंसिर २०७३ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App