१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्वार्ता

युवावस्थामै उच्च रक्तचाप

पहिले निश्चित उमेर पुगेपछि मात्र देखिने रगत तथा मुटुसम्बन्धी रोग पछिल्लो समय वृद्ध, युवा सबैमा बढ्दै गएको छ। रक्तचाप बढी र कम किन हुन्छ ? यसले कुन कुन अंगमा कस्तो असर पु¥याउँछ ? प्रस्तुत छ मनमोहन कार्डियो भास्कुलर, थोरासिक एन्ड ट्रान्सपलान्ट सेन्टरका वरिष्ट मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. रत्नमणि गजुरेलसँग नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुराकानीको सारसंक्षेप :

यो सेवामा कति वर्ष बित्यो ?
२० वर्ष भयो। तर मुटुरोग विशेषज्ञकै रूपमा चाहिँ १० वर्ष भयो। अहिले कार्डियोलोजीको इन्टरभेन्सन कार्डियोलोजी (मुटुरोगको नचिरिकन भिडियोमार्फत मुटुको नसा तथा भल्व खोल्ने प्रक्रिया) को काम गर्छु। यसका लागि मैले इटली, सिंगापुर र अमेरिकामा फेलोसिप गरेको थिएँ।

रक्तचाप भनेको के हो ?
मुटुले पम्प गरेको रगत नलीबाट मानव शरीरका विभिन्न भागमा पुग्छ। मुटुले पम्प गर्दा एक प्रकारको चाप निस्किन्छ। जुन मुटुको नसामा बग्दा नसामा दिने पे्रसर नै रक्तचाप हो। यो चाप विशेष प्रकारको यन्त्रबाट नापिन्छ।

उच्च रक्तचाप हुनुको कारण के हो ?
सबैको कारण थाहा हुँदैन। तर केही व्यक्तिमा थाहा हुन्छ। वंशाणुगत रूपमा सो समस्या छ भने उमेर बढ्दै जाँदा देखिने हो। त्यसैगरी प्राकृतिक रूपमै उमेरसँगै नसाहरू खुम्चिँदै जाँदा यो समस्या बढ्दै जान्छ। आफ्नै कारण, मिर्गौला रोगका कारण, सिस्टेलिक रोग, थाइराइड तथा हर्मोनका बिरामीमा पनि उच्च रक्तचाप बढी हुन्छ। धेरैलाई निश्चित उमेर पुगेपछि रक्तचाप देखिन्छ। आफ्नै कारणले पनि उच्च रक्तचाप बढेको हुन सक्छ। विभिन्न कारणले शरीरमा १० प्रतिशतमा यो समस्या देखिन्छ।

कम उमेरमै देखिनुको कारण नि ?
उमेरमै उच्च रक्तचाप देखिनुको मुख्य कारण व्यक्तिले अपनाएको जीवनशैली नै हो। आरामदायी जीवन, धुमपान तथा मध्यपान अत्यधिक गर्ने, व्यायाम नगर्ने, चिल्लो तथा बोसोजन्य खानेकुरा बढी खाने, खानपानमा ध्यान नदिने, तौल नियन्त्रण नगर्ने, कोलस्ट्रोल तथा सुगरको मात्रा बढ्दै जानेहरूमा पनि उच्च रक्तचाप बढेको देखिन्छ। विकसित मुलुकले यो समस्यालाई पहिल्यै व्यवस्थापन गरिसकेका छन् भने हाम्रो जस्तो विकासोन्मुख देशमा बढ्दै छ। तेस्रो विश्वका मुलुकहरूमा यो समस्या बढ्दो देखिन्छ।

उच्च रक्तचापले शरीरको कुन–कुन अंगमा असर गर्छ ?
मस्तिष्कको नसामा रक्तसञ्चार बन्द हुन सक्छ, मुटुको धमनी फुट्ने, आँखाको दृष्टि नसामा असर पुग्ने र महŒपूर्ण अगंहरूलाई समाउन सक्छ। साथै मिर्गौला फेल हुने, पक्षघात, बे्रन हेमरेज हुने जस्ता समस्या पनि देखिन सक्छ। रक्तचाप एउटा माध्यम हो, यसको असर विभिन्न अंगमा विभिन्न तरिकाले आउन सक्छ। उच्च रक्तचाप भएका सबैलाई अन्य अंगमा असर नगर्न पनि सक्छ।

कस्तो अवस्थामा उच्च रक्तचापका बिरामी अस्पताल आइपुग्छन् ?
कतिपय बिरामी ‘एक पटक उच्च रक्तचाप नापौं न’ भनेर आउँछन् भने कतिपय आफूमा रक्तचाप भएको शंकाले पनि आइपुग्छन्। उच्च रक्तचाप साइलेन्ट किलर हो। जसले रक्तचाप नभए पनि भित्रभित्र असर पु¥याउँछ। कतिपय त लक्षण नभए पनि भित्री अंगमा क्षति पुगिसकेको अवस्थामा आइपुग्छन्।

उच्च रक्तचापले असर पु¥याएका बिरामी अस्पतालमा घटेका छन् या बढेका ?
हाम्रो देशमा उच्च रक्तचापका बिरामी बढ्दो क्रममा छन्।

उच्च रक्तचापबारे पहिल्यै कसरी थाहा पाउने ?
रक्तचापले खास लक्षण नदेखाउने भएकाले यसलाई साइलेन्ट किलर भनिएको हो। जस्तो परिवारमा दाजुभाइलाई उच्च रक्तचाप छ भने आफूलाई पनि छ कि भनेर जाँच गर्नुप¥यो। विश्व स्वास्थ्य संगठनले निर्धारण गरेअनुसार रक्तचापको निर्धारण भएको छ। सिस्टोलिकमाथिको रक्तचाप एक सय २० भन्दा माथि र तलको अर्थात् ८० भन्दा कम छ भने आफ्नो रक्तचाप घटबढ भएको रहेछ भन्ने थाहा पाउनु पर्छ।

सुरु भइसकेको उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने ?
भइसकेको अवस्थामा आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ। मैले कति व्यायाम गर्छु ? कति तनाव लिन्छु ? भन्ने कुरामा ख्याल गर्नुपर्छ। तौल नियन्त्रण गर्ने, शारीरिक व्यायाम गर्ने, चिल्लो तथा नुन कम भएका खाना खाने गर्नुपर्छ। व्यायामले पाँच मिलिलिटर रक्तचाप घट्छ भने खानपानले अर्को पाँच मिलिलिटर घटाउन सकिन्छ। यसरी घटाउँदै गए रक्तचापको औषधि सेवन नगर्ने अवस्था पनि आउन सक्छ। तर कुनै पनि बिरामीले चिकित्सकको सल्लाहमा औषधि छोड्ने या सेवन गर्ने गर्नुपर्छ। उच्च रक्तचापसँगै अन्य रोग पनि छन् भने औषधि छोड्न मिल्दैन। अर्थात् बिरामीमा अन्य रोगको स्थिति, मधुमेह तथा कोलस्ट्रोलको जोखिम छ भने औषधिको सेवन गर्र्नुपर्छ।

कम रक्तचापबारे खास चर्चा छैन, किन होला ?
निकै उचित प्रश्न। जति उच्च रक्तचापमा जटिलताको जोखिम हुन्छ, त्यति कम रक्तचापमा हुँदैन। तर यसले जोखिम नहुने भने होइन। यसले पनि उच्च रक्तचापले जस्तै अन्य अंगमा असर पु¥याउँछ।

कम रक्तचाप हुनुको कारण ?
पौष्टिक खानेकुरा तथा झोल कुरा कम खाएमा, शरीरमा पानी तथा झोलको मात्रा कम भएको अवस्थामा, हर्मोनको रोग र पिटियुटरी ग्लान्डको रोग भएमा पनि रक्तचाप कम हुन्छ। बिरामीमा अन्य रोगको संक्रमण भएपछि सही रूपमा औषधि भएन भने पनि रक्तचाप कम हुन सक्छ।

कम रक्तचापको जोखिम के हो ?
हाइपो टेन्सन हुँदा बिरामीका मुख्य अंग मस्तिष्क, मिर्गौला र मुटुमा रक्तसञ्चार कम हुनसक्छ। मिर्गौलामा रगत कम भए विकार फाल्न नसकेर मिर्गौला फेल हुन सक्छ। मुटुमा कम भएमा मु्टुले राम्रोसित पम्प गर्न सक्दैन र मस्तिष्कमा रक्तसञ्चार सही रूपमा पुगे भने बिरामीलाई रिँगटा लाग्ने र लड्ने हुन सक्छ। तसर्थ रक्तचाप कम या बढी दुवै भएको राम्रो मानिँदैन। तसर्थ रक्तचाप कम हुनुको कारण खोजेर त्यहीअनुसार उपचार गरे रक्तचाप सन्तुलनमा राख्न सकिन्छ। मस्तिष्कमा रक्तसञ्चार नपुगेमा दिमाग बरबराउने तथा डिस्ओरियन्टेड हुनेजस्ता लक्षण देखिन्छन्।

कम रक्तचापका लक्षण ?
रक्तचापको कमीले शरीरमा आवश्यक तत्व नपुगेर थकाइ लाग्ने र रिँगटा लाग्न सक्छ।

कम रक्तचाप कुन उमेर समूहमा बढी देखिन्छ ?
यो जुनसुकै उमेरमा र कुनै पनि कारणले हुन्छ।

यस्ता बिरामी उपचारमा कत्तिको आउँछन् ?
धेरै जसो झाडापखाला लागेको बेला बढी आउँछन्। अन्य थाइराइड तथा अन्य रोग लागेका बिरामी पनि आउँछन्।

कम रक्तचाप भएकाले कस्ता खानेकुरा खाने ?
कम रक्तचाप भएकाले झोल कुरा बढी खाने र शरीरमा अन्य रोगको खोजी गरेर उपचार गर्नुपर्छ।

प्रकाशित: १४ भाद्र २०७६ ०३:३९ शनिबार

रक्तचाप मुटु