coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार सबैतिर असफल भयो

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्यले केपी ओली नेतृत्व सरकारले सबैतिर अराजकता फैलाएको भन्दै तीव्र आलोचना गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्ने सदस्यहरुले सरकारको अराजकता र व्यथितिविरुद्ध पार्टीले सदनदेखि सडकसम्म संघर्षका कार्यक्रम घोषणा गर्नुपर्ने धारणा राखे।

प्रमुख भ्रातृ संगठनहरु नेतृत्वविहीन हुँदा पार्टी पनि कमजोर बनेको जनाउँदै केन्द्रीय सदस्यले सरकारको अपारदर्शी कामविरुद्ध सदनमा पनि पार्टीको भूमिका प्रभावकारी हुन नसकेको गुनासो गरे। केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, बालकृष्ण खाँड, उमाकान्त चौधरी, शेखर कोइराला, गुरुराज घिमिरे, दलबहादुर घर्ती, जीवनबहादुर शाही, मीन विश्वकर्मा, जीवन परियार, सीता गुरुङ, गोविन्द भट्टराई, हृदयराम थानी, सरिता प्रसाई, बहादुरसिंह (लामा) तामाङ र अमृत अर्यालले सरकार काण्डैकाण्डमा फसेको भन्दै त्यसलाई जनस्तरसम्म पु¥याएर पर्दाफास गर्नुपर्ने बताए। जनताले गरेको आशा र अपेक्षाविपरीत सरकार आर्थिक अनियमितामा लिप्त हुँदा निरासा छाएको उनीहरूले बताए।

काण्डिैकाण्डमा फसेको सरकारबाटै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा रहेको भन्दै केन्द्रीय सदस्यहरूले सरकारविरुद्ध सडकदेखि सदनसम्मका कार्यक्रम घोषणा गर्न नेतृत्वलाई सुझाएका छन्।

सरकारकै कारण भ्रष्टाचार संस्थागत ढंगले अगाडि बढिरहेको दाबी गर्दै केन्द्रीय सदस्य कोइरालाले वाइडबडी यसको ज्वलन्त उदाहारण भएको बताए। ‘जनताले सुशासनको कत्ति पनि अनुभूति गर्न पाएका छैनन्,’ कोइरालाले भने, ‘सरकार आर्थिक, सामाजिक र राजनीतिक सबै प्रकारले असफल भएको छ। यसप्रति पार्टीले आफ्नो धारणा सार्वजनिक गर्न जरुरी छ।’

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएर गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतामाथि पूर्वराजा र विप्लव समुहबाट खतरा रहेको धारणा राखे पनि कांग्रेस केन्द्रीय सदस्यले सरकारबाटै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने काम भइरहेको धारणा राखे। ‘पूर्वराजा र नेत्रविक्रम चन्द्र (विप्लव) बाट होइन सरकारमा बसेकाहरुबाटै खतरा छ। हामीले यो कुरा बुझ्न जरुरी छ,’ केन्द्रीय सदस्य कोइरालाले भने, ‘न्यायालय, प्रेस सबैतिर सरकारी हस्तक्षेप तीव्र बन्दा सडकबाटै न्याए माग्न थालिएको छ। यो लोकतन्त्रका लागि अत्यन्तै खतराको संकेत हो।’

आफू र महामन्त्री शशांक कोइराला बुवा–आमा–काकाको बिरासतमा राजनीति गर्न आएको भन्दै पार्टीभित्रैबाट भएको आलोचनाप्रति उनले रोष प्रकट गरे। आजभन्दा ५२ वर्षअघि मोरङ क्याम्पसमा आफू अग्र भागमा रहेर आन्दोलनमा उत्रिएको सुनाउँदै उनले निरंकुश पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा पटकपटक प्रहरीको लाठी खाँदै जेल गएको स्मरण गरे। ‘निरंकुशताविरुद्धको हरेक आन्दोलनमा हामी अग्रपंतिमा उभिएका छौं। आन्दोलनको मैदान र जेलमा हुँदै गर्दा कति जना कहाँ हुनुहुन्थ्यो ? हामी सबै आफ्नो कर्मले यहाँसम्म आएका हौं, कसैको दया र मायाले आएका होइनौं,’ उनले भने, ‘ केही व्यवसाय गर्नोस् त्यसले मात्र आत्मनिर्भर र स्वावलम्बन राजनीति सम्भव छ।’

देशको अर्थतन्त्र ओरालो लागिरहेको जनाउँदै केन्द्रीय सदस्यहरुले प्रधानमन्त्रीले आर्थिक वृद्धि दर ७.५ भएको बताए पनि ६.५ मात्रै भएको सुनाएका थिए। केन्द्रीय सदस्य कार्कीले सरकारले एकपछि अर्को गर्दै झुटको खेती गरिरहेको बताउँदै त्यसलाई जनस्तरसम्म पु¥याउनुपर्ने धारणा राखे।

केन्द्रीय सदस्यहरुले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनलाई चुस्त र दुरुस्त बनाउन पनि नेतृत्वलाई आग्रह गरे। पार्टीका भ्रातृ संगठनैपिच्छे केन्द्रीय समितिको आकार, कार्यकालसहितका मापदण्ड फरकफरक रहेको भन्दै केन्द्रीय सदस्य घिमिरेले पार्टीले एउटा कार्यकदल नै बनाएर सबैको विधानमा एकरुपता ल्याउनुपर्ने धारणा राखे। नेपाल विद्यार्थी संघ नेतृत्वविहीन हुँदा युवा पुस्ताको पार्टीमा प्रवेश रोकिएको तर्क गर्दै घिमिरेले भने, ‘नेवि संघको नेतृत्व तत्काल तोकियोस् र कार्यकाल गुजारेका भ्रातृ संगठनहरुलाई महाधिवेशनमा पठाउन ढिला गर्नु हुँदैन।’

केन्द्रीय सदस्यहरूले पार्टी विधानको ४२(१) ‘च’ अनुसार अवधि गुजारेका भ्रातृ संगठनका केन्द्रीय समिति स्वतः विघटन हुने व्यवस्थालाई कार्यान्वयन गर्न पनि नेतृत्वलाई सुझाए। बैठकमा केन्द्रीय सदस्य कोइराला, बालकृष्ण खाँण, एनपी साउँदसहितले १४औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय चर्को रुपले उठ्ने भन्दै त्यसलाई व्यवस्थापन गर्ने विषयमा नेतृत्वको ध्यान अहिले नै जानुपर्ने धारणा राखे। अर्को बैठक आइतबार १ बजे बस्नेछ।

प्रकाशित: १४ भाद्र २०७६ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App