७ वैशाख २०८१ शुक्रबार
समाज

जीर्ण कारागारमा अढाई गुणा बढी कैदीबन्दी

रौतहट - रौतहटको सदरमुकाम गौरस्थित जीर्ण कारागारमा क्षमताभन्दा अढाई गुण बढी कैदीबन्दी रखिएको छ। वर्षौंदेखि जीर्ण रहेको गौर कारागारको मूल भवन एक सय ८७ वर्ष पुरानो हो। राणाकालीन समय अर्थात् विक्रम संवत् १९८९ मा स्थापना गरिएको यो कारागारमा भवनमा त्यति बेला एक सय २० जना कैदीबन्दी राख्ने क्षमता थियो। झन्डै दुई सय वर्षअघि निर्माण भएको गौर कारागाार समयानुकूल मर्मत–सम्भार हुन नसक्दा दिनदिनै जीर्ण बन्दै गएको छ।

कम क्षमता भएको कारागारमा अहिले कर्तव्य ज्यान, चेलीवेटी बेचबिखन, मानव ओसारपसार, अपहरण तथा शरीर बन्धक, लागुऔषध, सवारी ज्यान, जबरजस्ती करणीलगायत मुद्दामा आरोपित १२ महिलासहित दुई सय ९६ जना कैदीबन्दी जेल सजाय भुक्तान गरिरहेका छन्।

असारको अन्तिममा आएको बाढीका कारण गौर कारागारभित्र र बाहिर कम्पाउन्डमा आठदेखि नौ फिटसम्म पानी जमेको थियो। त्यतिबेला कैदीबन्दीलाई कारागारको छत तथा महिला बन्दीकक्षमा समेत राखेर जोगाएको थियो।

कैदीबन्दीको संख्या दिनदिनै थपिँदै गएका कारण कारागारको बरन्डा र कम्पाउन्डमा समेत टेन्ट लगाएर राख्नुपरेको गौर कारागार स्रोतको भनाइ छ। यसपालि असारको अन्तिममा आएको बाढीका कारण सदरमुकाम गौर नै डुबानमा परेपछि कारागारभित्र र बाहिर कम्पाउन्डमा आठदेखि नौ फिटसम्म पानी जमेको थियो। त्यतिबेला सम्पूर्ण कैदीबन्दीलाई सुरक्षित राख्नका लागि कारागारको छत तथा महिला बन्दीकक्षमा समेत राखेर विपद्बाट जोगाएको गौर कारागारका जेलर नायव सुब्बा शम्भु यादवले बताए।

महिलातर्फ खासै समस्या नरहेको तर पुरुषतर्फ कोठाको समस्या हुँदा त्रिपाल झुन्ड्याएर राख्नुपरेको बताउँदै जेलर यादवले माथिल्लो निकायलाई जानकारी भए पनि देशभरि नै कारागारको अवस्था यस्तै रहेको उनले बताए।

कारागारका अधिकतर भवन एवं पर्खाल जीर्ण अवस्थामा छन्। एउटा सानो भवनभित्र करिब १० वर्षअघि निर्माण गरिए पनि कैदी राख्ने ठाउँको अभाव नै रहेको छ। पुरानो भवनमा यत्रो संख्यामा कैदीबन्दीलाई राख्नुपर्दा निकै चुनौती त छ तर के गर्ने माथिल्लो निकायको आदेशअनुसार कैदीबन्दीहरू आउने जाने क्रम जारी नै रहेकाले जेनतेन व्यवस्थापन गर्नुपरेको जेलर यादवले बताए।

प्रमुख जिल्ला अधिकारी किरण थापाले कारागार भवनको समस्या ‘राष्ट्रिय समस्या’ नै रहेको बताए। यो समस्या यहाँ मात्रै नभई देशका विभिन्न स्थानहरूमा रहेका कारागारहरूमा पनि क्षमताभन्दा धेरै कैदीबन्दीहरू राख्नुपरेको सुन्नमा आइरहेको बताए। प्रजिअ थापाका अनुसार राणाकालीन अवस्थामै बनेको, जीर्ण बन्दै गएको गौर कारागार स्थानान्तरणसहित नयाँ भवन बनाउन जग्गा खोज्ने कार्य भइरहेको र जग्गा व्यवस्थापनपछि कारागार विभागबाट भवन निर्माणका निम्ति आवश्यक काम हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १४ भाद्र २०७६ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App