८ वैशाख २०८१ शनिबार
राजनीति

तरुण दलमा भागबन्डा, जितजंग बस्नेतलाई अध्यक्ष बनाउने सहमति

पोखरा- नेपाल तरुण दलको नयाँ अध्यक्ष जितजंग बस्नेतलाई बनाउने सहमति कांग्रेस शीर्ष नेताहरूबीच भए पनि मंगलबार रातिसम्म आधिकारिक रुपमा नाम सार्वजनिक गरिएको छैन । शीर्ष नेताले वरिष्ठता आधारमा पदाधिकारी र कार्य समिति सदस्य भागबन्डा गरेको बताइन्छ ।

स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले बस्नेतलाई तरुण दलको अध्यक्षमा प्रस्ताव गरेपछि त्यसमा सहमति भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई महामन्त्री र कृष्णप्रसाद सिटौला समूहले उपाध्यक्ष पाउने सहमति भएको छ । अर्का नेता खुमबहादुर खड्का पक्षलाई कोषाध्यक्ष दिइने भएको छ । पौडेल, सिटौला र खड्का समूहले आफ्नो तर्फबाट पदाधिकारीमा पठाउनेको नाम दिएका छैनन् । यसै कारण आधिकारिक रुपमा नाम टाँस्न ढिलाइ भएको हो । ‘बाहिर पदाधिकारी बाँडफाँडको चर्चा निकै छ । धेरैको नाम पनि सुनिएको छ । तर, आधिकारिक रुपमा सार्वजनिक नभएसम्म यकिन भन्न सकिएन,’ तरुण दलका एक केन्द्रीय सदस्यले भने, ‘केही मिनेटको अन्तरमा फरकफरक नाम सुनिन आएको छ । त्यही भएर यकिन नभएको हो ।’ उनले अध्यक्षमा बस्नेत पक्काजस्तै भएको बताए ।

‘सभापतिले नै अध्यक्ष पद लिएपछि आशंका गर्ने कुरै रहेन,’ उनले भने, ‘बस्नेतको नाममा सहमति जुटेको पनि छ ।’ नेताले गरेको सहमतिविरुद्ध जाने आँट कसैको नभएको उनले बताए । ‘त्यसैले चुनावमा जाने आँट अरु कसैले गरेनन्,’ उनले भने ।

पदाधिकारी भागबन्डा भए पनि कसलाई पठाउने भनेर पौडेल, सिटौला र खड्का समूहमा विवाद सुरु भएको छ । ‘विवाद भएर अध्यक्षबाहेक अरुको नाम बाहिर आएको छैन,’ ती केन्द्रीय सदस्यले भने, ‘कहिले कसको त कहिले कसको नाम सुनिन्छ । पौडेल, सिटौला र खड्काले भागबन्डा गर्दा पाएको पदमा कसलाई पठाउने भन्ने निर्णय गर्न सकेका छैनन् ।’  पौडेल पक्ष सिटौला पक्षलाई बढी महŒव दिएको भन्दै देउवासँग रुष्ट भएको स्रोतको भनाइ छ ।

नयाँ नेतृत्वका पदाधिकारीको नाम पोखरा वा काठमाडौंमा टाँस्ने भन्ने विवाद पनि सुरु भएको छ । चार मुख्य पदमा छानिएकाको नाम पोखरामै टाँस्ने र बाँकी नाम राजधानी गएर टुंगो लगाउन एक पक्षले दबाब दिएको छ । अर्काे पक्षले सबै नाम राजधानी पुगेर सार्वजनिक गर्नुपर्ने बताउँदै आएको छ । ‘पोखरामा महाधिवेशन भएकाले पोखरामै मुख्य पदमा रहनेको नाम सार्वजनिक गर्नुपर्छ भन्ने एकथरी छन्,’ एक केन्द्रीय सदस्यले भने, ‘अर्काे पक्ष राजधानी गएर मिलाउने पक्षमा छ ।’ पदाधिकारी बाडफाँडमा सहमति भए पनि नामका बारेमा शीर्ष नेताबीच विवाद भएको ती सदस्यले बताए ।

महाधिवेशनमा चुनावी प्रक्रियालाई बेवास्ता गरेको भन्दै कृष्णप्रसाद सिटौला पक्षले विरोध सुरु गरेको छ । शीर्ष नेताले सहमतिमा पदाधिकारी बाँडफाँट गरेर चुनावी प्रक्रिया रोकेको भन्दै सिटौला पक्ष महाधिवेशनस्थलमै धर्नामा बसेको हो । मंगलबार दिउँसो केहीबेर धर्ना दिएको सिटौला समूहले बुधबार बिहान ८ बजे पुनः धर्ना दिने तरुण दलकी केन्द्रीय सदस्य जीवन डंगोलले बताइन् । ‘शीर्ष नेताको निर्णयलाई हामीले बाइपास गर्न खोजेका होइनांै तर, प्रक्रिया अवरुद्ध गर्न खोजियो,’ उनले भनिन, ‘त्यही भएर हामीले विरोध गरेका हौं ।’

कांग्रेसमा हुर्कंदै ‘गुट राजनीति’

काठमाडौं-नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको नयाँ नेतृत्व गुटगत आधारमा चयन गर्ने सहमति भएपछि पार्टीभित्र ‘गुटको राजनीति’ ले प्रश्रय पाएको छ ।

तरुण महाधिवेशनले पार्टीभित्र चार समूहको अस्तित्व स्विकारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काबीच पदाधिकारी बाँडफाँट भएको छ । कार्यसमितिका अन्य पद पनि भागबन्डा गरिएको छ । देउवा पक्षबाट तरुण दलको अध्यक्षमा प्रस्ताव गरिएका जितजंग बस्नेतको नाममा सहमति जुटेको छ ।

पार्टी निर्देशन समिति र निर्वाचन समितिले रातिसम्म आधिकारिक जानकारी नगराए पनि गुटगत आधारमै नयाँ नेतृत्व छान्न सहमति भएको हो ।

शीर्ष नेताबीच भएको सहमति अनुसार दलको अध्यक्ष देउवा, महासचिव पौडेल, उपाध्यक्ष सिटौला र कोषाध्यक्ष खड्का पक्षले पाउने सहमति भएको छ । ६१ सदस्यीय कार्यसमितिमा मनोनित दुई सचिवमध्ये एक देउवा र अर्को पौडेल पक्षले लिने समझदारी बनेको जानकारी एक नेताले दिए ।

यो सहमतिले पार्टीमा गुटगत अस्तित्वलाई स्विकारेको ती नेताले बताए ।

सिटौला समूहबाट उत्तमकुमार चापागार्इं उपाध्यक्ष हुने बताइएको छ । पौडेलको भागमा परेको महासचिवमा भूपेन्द्रजङ शाही, अस्ट कवे, पिताम्बर खनालमध्येबाट एकलाई पठाउने तयारी छ ।  कोषाध्यक्ष पाएका खड्काले भने असन्तुष्टि जनाउँदै उपाध्यक्ष पद दाबी गरेका छन् । खड्कालाई मनाउन नेताहरू लागिपरेकाले राति अबेरसम्म पदाधिकारीको औपचारिक घोषणा हुन सकेको छैन । पदाधिकारीमा खड्का पक्षबाट विद्वान गुरुङलाई पठाइने छ ।

सहमति अनुसार कार्यसमितिमा पौडेल पक्षबाट महासचिव, सचिवसहित २५ जना, सिटौला पक्षबाट उपाध्यक्षसहित सातजना रहने छन् ।

विधान अनुसार तरुण कार्य समितिमा अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित ४५ जना महाधिवेशनबाट छानिन्छन् । दुई सचिवसहित १६ जना मनोनीत हुन्छन्।

गुटगत सन्तुलन मिलाउन दलको विधान संशोधन गरी ९५ सदस्यीय कार्यसमिति बनाउने तयारी पार्टी निर्देशन समितिले गरे पनि मंगलबार सभापति देउवासहितका नेताको बैठकले पुरानै विधान अनुसार नयाँ नेतृत्व टुंगो लगाउने सहमति गरेपछि विधान संशोधन हुन पाएन।

 

प्रकाशित: १ मंसिर २०७३ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App