८ वैशाख २०८१ शनिबार
समाज

ढुवानीमा सडक तगारो

बगैंचाबाट डोकोमा ल्याएको स्याउ छान्दै किसान । ढुवानीका लागि ट्रकमा लोड हँुदै जुम्ली स्याउ ।

जुम्ला - जुम्ला चन्दननाथ–१० का सुशील देवकोटा यो पटक स्याउको खरिद बिक्री नगर्ने सोचमा छन् । गत वर्ष सय रुपैयाँमा बिक्री गर्ने भनेर किनेको पाँच क्विन्टल स्याउ ८५ रुपैयाँमा दिनुपर्दाको क्षण सम्झँदा उनी अहिले पनि निराश हुन्छन् । यो पटक पनि किसानको बगैंचाको मूल्य, ढुवानी भाडा र सडकको स्तर मापन गर्दा फाइदा नहुने देखेपछि उनमा स्याउ खरिदबिक्रीमा खासै रुचि छैन । उनले भने, ‘जुम्लाको स्याउ भन्नेबित्तिकै सबै रुचाउँछन् । माग पनि अत्यधिक छ । तर ढुवानी गर्ने सडक राम्रो नहुँदा माग सम्बोधन गर्न सकिने अवस्था छैन ।’

जुम्लामा पानी जहाज चलाउने जस्तो सडक छ । गाडी पनि उफ्रिन्छन् । गाडी उफ्रिँदा कार्टुनमा राखिएका स्याउ दाग लागेर कुहिन्छन् । जुम्लादेखि सुर्खेत–नेपालगन्ज पु¥याउँदासम्म आधा सडिसक्छन् । फलफूल ढुवानी गर्न राम्रो सडक चाहिन्छ । ‘यो सडक फलफूल ओसार्नलायक छैन । लोड गरिएको स्याउ यता हल्लिन्छ, उता हल्लिन्छ, बाटोमै बिग्रन्छ,’ कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख बालकराम देवकोटा भन्छन्, ‘सडक सुधार नहुँदासम्म यहाँको स्याउको महŒव संसारसामु पु¥याउन सकिँदैन ।’

स्याउसँग कर्णाली समृद्धिको सपना जोडिएको छ तर सडकले यो सपना विपनामा परिणत हुन दिएको छैन ।

मालबाहक सवारी एकै दिनमा स्याउ लैजाने बजारसम्म पुग्न सक्दैनन् । ‘कहिले सडकमा पहिरो खस्ने, कहिले गाडी बिग्रिने गर्दा र सडकमै स्याउ कुहिन्छ,’ देवकोटाले भने, ‘किसानका बारीमा फलेका स्याउले कर्णाली समृद्धिको सपना देख्न बाध्य बनाउँछ तर सडकले समृद्धिको सपना विपनामा परिणत हुन दिँदैन । जुम्ली स्याउको महत्वका विषयमा राज्य अझसम्म बेखबर नै छ ।’

बाटो कच्ची छ । खाल्डाखुल्डी धेरै छन् । जुम्ला खलंगादेखि कालीकोटको सिमाना नाग्मगाडसम्म सडक निकै सहज छ । तर कालीकोट खण्डदेखि सुर्खेतसम्म सडक सहज छैन । सय कार्टुन लैजाँदा ढुवानीका क्रममा दस कार्टुन स्याउ कुहिएर फ्याँक्नुपरेको व्यापारी बताउँछन् । सडक स्तरोन्नति नहुँदा कर्णालीमा भएको सामथ्र्य पनि गुम्ने खतरा छ । जुम्लाका किसानले सडक मार्गको विकल्पमा हवाई मार्गबाट स्याउ निर्यात गर्ने वातावरण मिलाउन माग गरेका छन् । सरकारले हवाई मार्गबाटै अनुदानको व्यवस्था गर्न सकेको खण्डमा नेपालका अधिकतर सहरमा जुम्ली स्याउ पुग्ने देखिन्छ ।

किसानले सडकले जुम्ली स्याउ समयमै पु¥याउन नसकिएको दुखेसो गरे । आवश्यकताअनुसार सवारी भेटिदैनन् । सवारी भेटी हालेमा पनि ढुवानी भाडामा एकरूपता छैन । प्रतिकिलो न्यूनतम पाँच रुपैयाँदेखि ११ रुपैयाँसम्म ढुवानी भाडा असुलिरहेको किसानहरू बताउँछन् ।

‘जुम्लामा बर्सेनि स्याउको उत्पादन बढ्दै गइरहेको छ । स्याउको उत्पादन बढ्दा निकै उत्साहित छौं,’ स्याउ किसान जीवन क्षेत्री भन्छन्, ‘बजारसम्म पु¥याउँदा निकै सन्ताप हुने गर्छ । जब लटरम्म स्याउ फलेर बगैंचा राताम्य हुँदा खुसीको सीमा हुँदैन । जब टिपेर घर ल्याउँछौं, सडकमा ढुवानीको सहज व्यवस्था सम्झेर मन पिरोलिन्छ । स्याउ खेतीप्रति वितष्ृणा जाग्छ ।’

सडक राम्रो नहुँदासम्म जुम्ली स्याउको बजार प्रभावकारी हुन नसक्ने सरोकारवाला बताउँछन् । स्याउमा समान उत्पादन भए पनि बिक्रीदर समान छैन । कर्णाली राजमार्ग सञ्चालन हुनुपूर्व स्याउ ढुवानीका लागि हवाई ढुवानीमा अनुदान दिने व्यवस्था थियो । जब कर्णाली सडक खुल्यो, त्यहाँदेखि हवाई ढुवानीमा अनुदान काटियो । एक केजी सामान बराबर सात रुपैयाँ ढुवानी भाडा लाग्थ्यो । तर पहुँचवालाको स्याउ मात्रै जान्थ्यो, पहुँचविहीन किसानको स्याउ बगैंचामै कुहिन्थ्यो । कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख देवकोटा स्याउ ढुवानीमा अनुदान नहुँदा किसान मर्कामा परेको बताउँछन् । बाटो सहज नहुँदा ठूला व्यापारी आउन मान्दैनन्, साना व्यापारीले लगेको स्याउ समयमै बजार पुग्दैन । अन्तिममा किसानहरू घाटा बेहोरेर बेच्न बाध्य हुन्छन् ।

सबै किसानको बगैंचासम्म सडकको पहुँच छैन । डोकोमा बोकेर ल्याउनुपर्छ । एक दिनमै बजार लैजाने बाटो छैन । नयाँ बाटो खन्नुभन्दा पुरानो बाटो सुधार गर्दा स्याउ ढुवानीमा राहत मिल्ने देखिन्छ । जुम्लासँगै मुगु र कालीकोटमा पनि स्याउ फल्छ । यो क्षेत्रको स्याउ ताजै अवस्थामा पुग्न सकस छ । यो समयमा जुम्ली स्याउ बगैंचामै प्रतिकेजी ५० रुपैयाँमा खरिद भइरहेको छ । समयमै बजारसम्म लैजान नसक्दा ५५ देखि ६० रुपैयाँ केजीमा बेचेर फर्कनुपरिरहेको स्याउ व्यापारी गुनासो गर्छन् । यहाँ स्याउ संकलन केन्द्र छैन । जथाभावी भण्डारण गर्नुपर्ने बाध्यता छ ।

गत वर्षभन्दा यो वर्ष झण्डै पाँच सय मेट्रिक टन स्याउ उत्पादन भएको छ । यो वर्ष स्याउलाई मौसमले साथ दिएको छ । रोग–किराको संक्रमण छैन । लटरम्म स्याउ फलेको देख्दा किसान उत्साहित थिए तर स्याउ पाकेर घर भिœयाएपछि भने उनीहरू स्याउ ढुवानी गर्ने चिन्ताले पिरोलिएका छन् ।
कर्णाली सडकका अधिकांश स्थानमा पुल निर्माणको काम सकिएको छैन । पुल बन्ने स्थानमा सडक निकै बिग्रेको छ । दैनिक रूपमा सानोतिनो पहिरो आइरन्छ । पहिरो पन्छाउन पनि ढिलासुस्ती हुने भएकाले बाटोमा अलपत्र पर्नुपर्ने अवस्था छ । बजारमा जुम्ली स्याउको माग अत्यधिक छ । तर मागअनुसार स्याउ निर्यात गर्न सकिने अवस्था छैन ।

जुम्लाको एक नगरपालिकासहित आठवटै स्थानीय तहका ६० वडामा स्याउ फल्छ । बर्सेनि तीन हजारदेखि चार हजार मेट्रिक टन स्याउ जिल्लाबाहिर निर्यात हुन्छ, जसमध्ये १० प्रतिशत स्याउ बाटोमै सड्छ । जुम्ली स्याउलाई ए ग्रेड, बि ग्रेड, सि ग्रेड, डि ग्रेडमा विभाजन गरिएको छ । एबिसी ग्रेडको स्याउ जिल्लाबाहिर निर्यात हुने गर्छ भने डि ग्रेडको स्याउबाट विभिन्न परिकार बनाइन्छ । कर्णलीको स्याउ ढुवानी र स्याउ बजारीकरणका लागि सरकारी स्तरबाट खासै चासो देखाइएको छैन । व्यवस्थित स्याउ भण्डारण–गृह नहुँदा स्थानीयले बनाइएको सामान्य निगालोको क्यारेटमा स्याउ भण्डारण गर्ने गरिन्छ । व्यवस्थित भण्डारण र ढुवानी अभावमा यहाँको धेरैजसो स्याउ मान्छे र पशुबस्तुले खाएर सक्छन् ।

गत वर्षको जिल्लासभाले प्रतिकेजी स्याउको ५० पैसा कर लिने निर्णय गरेकोमा यो पटक किसानले कुनै पनि सरकारलाई कर नदिने बताउँदै आएका छन् । ‘करस्वरूप संकलित रकमले न बाटो चौडा भएको छ, न आफ्नै पहिचानको कार्टुन बनेको छ, न जुम्ली स्याउको बजारीकरण र प्रचारप्रसारमा सहयोग पुगेको छ,’ स्थानीय किसान प्रेमबहादुर बस्नेतले भने, ‘कर तिरेको अर्थ छैन । यो वर्ष कर नतिर्ने तयारी भइरहेको छ ।’

प्रकाशित: १४ भाद्र २०७६ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App