coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

म तिम्रो बा !

रातको अन्तिम प्रहरदेखि
ढिकी–जाँतो गरेको
भालेको पहिलो डाकोसँगै
चारकोस परबाट उकाली–ओराली गर्दै
भरी गाग्रो पानी ल्याएको
अनि मध्यान्हको टन्टलापुर घाममा
दाउरा–घाँस गर्न जंगलतिर पसेकी
तिम्री आमाका
जिकिरहरू धेरै गयौ तिमीले !
म, तिम्रो आमाको लोग्ने
सँगैसँगै जिन्दगी जिउँदै आएको
एउटै घाम, एउटै पानी खाएको
एउटै छहारीमा बास बसेको
कहिले पनि जिकिर गरेनौ
तिमीले मेरा कथाहरूको ।
मुटु फुट्ने गरी फुटाएर चट्टानखेती आर्जन गरेको
असार–साउनको दर्के पानीमा
त्यो गैरी खेतको हिलोमा
तारे र माले नारेर हलो जोतेको
कहिले जिकिर गरेनौ ।
आमाले तिमीलाई गर्भमा राखेको कुरा
उखान, उपमा र थुप्रै–थुप्रै उदाहरण
समेत बनायौ जताततै !
तिमी गर्भमा छँदा
जोरजाम गर्न
दुई छाक मिठो–मसिनो
तिम्री आमाका लागि
रातदिन पसिना बगाउने
तिम्री आमासँगै
त्यो अस्पताल, वैधखाना धाउने
जसोतसो दुःख, सापट गरी
डाक्टरको फिस जुटाउने
तिमीलाई जन्माउन अस्पतालको शैय्यामा
तिम्री आमा सुतिरहँदा
बाहिर चिसो छिँडीमा रात बिताउने
अनि प्रशवपीडाले छटपटाइरहेकी तिम्री आमाको
पीडासँगै आँसु बहाउने
त्यो तिम्रो आमाको लोग्नेको जिकिर कहिले गरेनौ !
तिमीलाई यो पनि थाहा होला
तिमीहरूको मुखमा चारो हाल्न
रातदिन हाड घोट्टिँदा पनि धौधौ हुन्थ्यो
तिमीले फगत देख्यौ
आमाले घरमा चुलो बालेको
यो देखेनौं ?
तिम्रो बाउ दुई–चार पैसा कमाउन
मुग्लान छिरेको
पटना, लखनउ, मद्रास, कलकत्ता
गर्मीमा पिल्सियो तिम्रो बाउ
बन्धकी राखेर आफैलाई
भान्से भएँ, नोकर भएँ
महाजानको सुरक्षाको ठेकेदार भएँ
नाम फेरियो मेरो
कान्छा भएँ, बहादुर भएँ, चौकीदार भएँ !
म खाडीको मरुभूमिमा
ऊँट र भेडा चराउने गोठालो
यो सब कसका लागि !
तिमीले कहिले सोचेनौ
कहिले जिकिर गरेनौ !
पढ्यौ तिमीले जताततै
सुन्यौ धेरैको मुखबाट
गोर्खाली सेनाको वीरगाथा
फकल्यान्डको लडाईंँमा
प्रथम विश्वयुद्धमा
दोस्रो विश्वयुद्धमा
हिटलर र मुसोलिनीलाई साथ दिने
कहिले बेलायतको पक्षमा
गोर्खाले देखाएको बहादुरी
पाएको सम्मान ‘भिक्टोरिया क्रस’
तर तिमीले कहिले सोचेनौ
म त्यो बहादुरीका लागि लडेको थिइनँ
कुनै तक्माका निम्ति परिवार छाडेको थिइनन्
दुई–चार पैसा कमाउने आशले भर्ती भएको थिएँ
यही परिवार पाल्न, तिम्रा लागि ।

प्रकाशित: १४ भाद्र २०७६ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App