८ वैशाख २०८१ शनिबार
समाज

भ्रमण वर्ष आउनै लाग्दा गिज्याइरहेकाे गोरखा दरबार

पुनः निर्माण गरिँदै गरिएको गोरखा दरबार । तस्बिरः नागरिक

गोरखा– आउँदो मंसिरमा नयाँ निर्माण गर्नुपर्ने गोरखा दरबारको अहिलेसम्म २५ प्रतिशत मात्रै काम भएको छ। २०७४ कात्तिकमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको गोरखा दरबारको काम २२ महिनामा महिनाको एक प्रतिशतको दरले मात्रै भएको छ। यो अनुसार दरबार पुनःनिर्माण हुने हो भने अझै वर्षौँ लाग्छ। ठेकेदारको लापर्वाहीका कारण समयमै पुनःनिर्माण हुन नसकेको हो।

‘पुरातत्व विभागले ठेकेदारलाई र ठेकेदारले पुरातत्व बिभागलाई पुन निर्माण ढिलाई हुनुको कारण मान्दै आएका छन्। गोरखा दरबार हेरचाड अड्डाका प्रमुख हरिप्रसाद भुषालले भने ‘जगमा समस्या देखिएपछि स्टमेट बदल्न तीन महिना समय लाग्यो, बाँकी समय ठेकेदारको कारण ढिला भएको हो।’ पुरातत्व विभागले राम्रोसँग भौगर्भिक अध्ययन नगर्दा जग राख्ने समयमा धरातल कमजोर देखिएपछि स्टमेट बदलिएको थियो। निर्माण जिम्मा लिएको पचली सिवाको जेभी कन्स्ट्रक्सनले स्टमेट बदल्नु पर्दा काम गर्न नपाएको दावी गर्दै आएको छ। तीन महिना पुनःस्टमेट गर्न लागेको समय बाहेक पनि ठेकेदारले नियमित काम नगरेको अड्डाका प्रमुख भुषालले नागरिक न्यूजलाई बताए।

चार करोड ३७ लाख लागतमा निर्माण पुरा गर्ने गरी सुरु भएको दबारको जगमा ढुङ्गा राखेर ‘सोलिङ’ गरिएको र फलामे टेका र काठको थाम राख्ने बाहेकको काम भएको छैन्। अहिले अन्तिम चरणमा हुनुपर्ने बेला सुरु नै नभएपछि दरबार पुनःनिर्माणमा सरोकारवालाको नै ध्यान पुग्न नसकेको स्थानीय दिपक योगीले गुनासो गरे। ‘नयाँ निर्माण गर्नुपर्ने दरबारमा ठेकेदारले काम गरेको छैन्, चासो पनि कसैलाई छैन्, कार्यालयले काम लगाउन पनि सकेको छैन्’ उनले नागरिक न्यूजसँग भने ‘शैक्षिक भ्रमण आएका र दरबार हेर्न आएकाहरु निराश भएर फर्कन्छन्।’ दरबार पुनःनिर्माणको काम कहिलेकाँही मात्रै हुने गरेको छ। काम गर्ने मजदुर थोरै ल्याउने, निरन्तर काम नगर्ने ठेकेदारको हेलचेक्राईले सिङ्गो नेपाल चिनाउने पृथ्वीनारायण शाहाको इतिहास झल्कने दरबारको बिजोग छ।

गोरखकाली दरबार वरपर निर्माण सामाग्री यत्रतत्र छ। पुराना भत्केका काठपात, इट्टाले बाटो थुनिएको छ। दरवार परिसर चारैतिर घुम्न हेर्न मिल्दैन। पुजाआज गर्न गएकाहरु भत्किएको दरबार वरपर रहेका शिला र गोरखनाथ मन्दिरमा पुजा गरेर फर्कन्छन्। पुरातत्व विभागका अधिकृत मञ्जु सिंह भण्डारीले भनिन् ‘जुन गतिमा हुनुपर्ने हो भएन, अहिले छिटो काम गराउन निर्माण ब्यवशायीलाई निर्देशन गरेका छौँ।’ बाँकी समयको म्याद देखाउँदै व्यवसायीले निर्धारित समयभित्र दिनरात काम गरेर भ्याउने दाबी गरेका छन्। दुई वर्षसम्म कछुवा गतिमा काम गरेको ठेकेदारको निर्धारित समयभित्र लक्ष्य अनुसार काम नगर्दा पुरातत्व विभागले काम लगाउन सकेको छैन्।

वि.सं. १९८६ मा राम शाहको पालामा उक्त दरबार निर्माण भएको इतिहास छ। राम शाहदेखि पृथ्वीनारायाण शाहसम्म सात पुस्ताले सोही दरबारमा बसेर शासन गरेका थिए। पुरानो कला कौशल, शाहवंशको इतिहास, गोरखाको धार्मीक साँस्कृतिक परम्परा झल्कने गरी निर्माण भएको गोरखा दरबार तत्काली राजा राम शाहको कार्यकालमा निर्माण भएको मानिन्छ। चार सय वर्ष पुरानो दरबारमा कलात्मक शैलीका झ्याल ढोका प्रयोग भएका छन्। दरबारभित्र पृथ्वी नारायण शाह बस्ने कोठा, उनलाई बाल्यअवस्थामा तेल लगाउने, नुहाउने ठाउँ, पुजापाठ कोठा, गद्धी छुट्टाछुट्टटै थियो। यी सबै संरचना पुनःनिर्माण गर्नुपर्नेछ।

गण्डकी प्रदेश सरकारले २०१९ लाई आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै गर्दा दरबार अलपत्र हुँदा पर्यटक घट्ने चिन्ता जिल्लाका सरोकावालाले गर्दै आएका छन्।

पुनः निर्माण गरिँदै गरिएको गोरखा दरबार । तस्बिरः नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App