८ वैशाख २०८१ शनिबार
अन्य

पुरुषको विचलित मनस्थिति

एउटा कन्फ्रेन्समा भाग लिनका लागि जानु थियो । त्यसअघि बोल्नै पर्ने केही बुँदाका बारेमा छलफल गर्नुथियो । त्यसैले एक जना साथीको घरमा पुगेँ । साथीको घर भव्य थियो । बैठक कुनै राजामहाराजको भन्दा कम थिएन । म पुग्नेबित्तिकै एक जना कामदार टुप्लुक्क अघिल्तिर देखा परिन् । उनले मलाई बैठक कोठामा बसालिन् र सोधिन्, ‘हजूरका लागि के ल्याउँ ? चिया कि कफी ?’

मैले पानीका लागि आग्रह गरेँ । साथीका बारेमा सोध्दा उनले निन्याउरो अनुहार लगाएर माथि देखाइन् । माथि चर्को आवाजमा एउटा पुरुष स्वर सुनिरहेकी थिएँ । उनले भनिरहेका थिए, ‘आफूलाई कत्ति न ठूलो छु भन्ठान्छे, रत्तिभर बुद्धि छैन । बच्चा भन्ने कि उमेरदार ? यस्ता फाल्तु कुरा गर्न मलाई फुर्सद छैन । आफ्नो विद्वता बाहिर देखाउनु । मेरो घरमा तेरो विद्वता सुन्ने फुर्सद छैन ।’

यो पक्कै पनि घरको मालिकले आफ्नी स्त्रीलाई भनिरहेको थियो । बैठकबाटै सबै कुरा सुनिरहेकी थिएँ । अब मलाई अप्ठेरो हुन थाल्यो । साथीले गाली खाएको सुनेर बस्नु कि त्यहाँबाट टाप कसूँ ! आफ्नी साथीको त्यस्तो अवस्था देखेर मलाई ग्लानि पनि भयो ।

सहयोगी पानी लिएर टुप्लुक्क आइपुगी । उसले नीलो अनुहार लगाउँदै भनी, ‘सबै घरमा उस्तै हो हजूर ! मेरो लोग्ने पनि यस्तै थियो । त्यै भएर त सँगै बस्न नसकेर छोडेर आएँ ।’
उसले कति सहजै लोग्ने छोडेर आएँ भनी !

यसपछि भने म सोच्न बाध्य भएँ, के अहिलेसम्म पुरुषको मानसिकतामा परिवर्तन आएको छैन ? के पुरुषमा एउटा सभ्यता, भलाद्मीपन र श्रीमतीको क्षमता–दक्षता स्वीकार्न सक्ने भावना छैन ? संसारले पुजेको÷मानेको श्रीमतीलाई उसको क्षमतालाई मान्न सक्ने उसको आँट र सामथ्र्य छैन ? घरको सिंह बनेर श्रीमतीलाई गाली गर्दा काम गर्ने सहयोगी केटीले आफ्नो श्रीमान् र शहरका ‘ठूला’ व्यक्तिलाई एउटै बास्केटमा राखी । यसले कसको इज्जत गयो ? पत्नीको ? उसो भए ‘ठूलो’ ‘जान्ने’ भनिएको पतिको हैसियत अर्की एउटी नारीको नजरमा के रहेछ त ? उसका लागि त शहरिया मालिक र उसको लोग्नेबीच केही फरक र रत्तिभर इज्जत रहेनछ !

अर्को सन्दर्भः आठ दश दिनअघि सामाजिक सञ्जालमा एउटा फोटो एकदमै भाइरल भएको थियो । फोटोमा महिला उद्यमीहरुको भेलाको पत्रकार सम्मेलन थियो । पत्रकार सम्मेलन महिला उद्यमीहरुको थियो तर त्यहाँ कुनै महिला उद्यमी ड्यासमा देखिएका थिएनन् । आफ्ना धारणा राख्न आठ जना पुरुषहरु ड्यासमा विराजमान थिए । ड्यासमा बसेका आठै जना पुरुष, कस्तो अप्ठेरो नलागेको होला भनेर सबैले टिप्पणी गरिरहेका थिए । म एउटी महिला उद्यमीलाई त त्यो देख्दा लाज नै लाग्यो ।

विगत ३० वर्षको दौरानमा नेपाली उद्यमी महिलाले निकै फड्को मारेका छन् । तिनको कामको राम्रो सराहना पनि भएको छ । उनीहरु कतिपय अवस्थामा पुरुषको कार्यलाई समेत हाँक दिनसक्ने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा सो तस्बिरले मलाई पुरुष वर्ग तर्सिएर महिला उद्यमशीलताका बारेमा आफू बढी जानकार छौँ भन्न खोजेका हुन् कि, महिलाको सिटमा आफ्नो मात्रै अधिकार छ भनेर देखाउन खोजेका हुन् कि भन्ने लाग्यो ।
त्यसै पनि महिला र पुरुष बराबरीको हकदार हुन् । प्रकृतिले सबै मानव जातिलाई बराबरी बनाएको छ तर समाज अझै यो मान्न तयार छैन । प्रकृतिको कानुनले महिला र पुरुषलाई कुनै विशेषाधिकार दिएको छैन । सबै बराबर हुन् । पुरुषहरुले आफूलाई कुनै विशेषाधिकार युक्त अधिकारी ठान्न आवश्यक छैन । यसले त विचलित मनको प्रतिविम्वित मात्रै गर्छ ।

पुरुष दिमागले आफूलाई विशेष ठान्छ भन्ने त कैयौँ पटक प्रदर्शनमा देखिएकै छ, महसुस गरिएकै छ । महिलाले पुरुषको कुनै धारणाभन्दा फरक र विपरीत विचार प्रकट ग¥यो भने जान्ने भएकी भन्ने आक्षेप लागिहाल्छ । अर्कोतर्फ, माथि जुन घटना मैले उल्लेख गरेँ, यो कुनै व्यक्ति विशेषको लोग्नेको समस्या मात्र होइन । यो त घरघरका लोग्नेमान्छेको समस्या हो ।  

पुरुष आफ्नो अधिकारप्रति यति सचेत र लोभी छ कि ऊ केही कुरा बाँड्न नै चाहँदैन । सानो कुरा सघाउँदा पनि आफू तल परेँ कि भनेर छटपटिन्छ । यस्तो अवस्थामा जतिसुकै राम्रा कानुन बनून्, समान अधिकारको ढोल पिटून्, महिलाको जीवनमा रत्ति फरक पर्ने छैन । महिला प्रतिनिधित्वका रुपमा पुरुष नै ड्यासमा देखा परिरहनेछन् । महिलाको भाग उसैगरी नै खोसिइरहनेछन् ।

हरेक संघसंस्थामा औपचारिकताका लागि महिला र युवा कमिटी राखिएको हुन्छ । खाना खाने बेलामा ओप्सानी हालेजस्तो र भाग छुट्याएजस्तो । कयौँ संस्था यस्ता छन्, जसको मुख्य चेयर महिला नै छन् तर त्यहाँ पुरुष कमिटी बेग्लै स्थापना गरिएका छैनन्, गरिए पनि त्यहाँ पुरुष ओप्सानीजस्तो बस्न तयार हुँदैनन् ।
त्यसैले पुरुष वर्गले पनि भाग लगाउन छोड्नुपर्छ र पछि परेकालाई सँगसँगै अघि बढाउनु पर्छ । महिलाले पनि पुरुषलाई बराबरको स्थान दिनुपर्छ ।

माथिका दुवै सन्दर्भ केलाएर हेर्दा कताकता पुरुष वर्गमा आफ्नो भाग खोसिने पो हो कि भन्ने विचलित मनस्थिति आएको हो कि वा असुरक्षित भावना बढेर गएको हो भन्ने आभाष हुन्छ । अर्को कुरा, महिला दिदीबहिनीले पनि उद्यम गरेर आफूले गल्ती गरेको छैन भन्ने विश्वास, क्षमता, दृढता अझै बढाउनु पर्छ ।

हामी महिला शक्ति परापूर्व कालदेखि नै मानिआएको हो भनेर मात्र अलाप गर्नु भएन । क्षमतावान् नारीले समाज र राष्ट्र हितको लागि आफूलाई रोक्नु हँुदैन । कुनै पनि संस्था महिलाले चलाएकै कारण कमजोर भएको देखिदैन । त्यसैले आफूले गल्ती नगर्दा पनि घरमा पुरुषबाट हेपिनु, अन्याय सहनु अनि उता कार्यालयमा पनि आफूलाई पछि नै पारिरहनु नारी जगत्ले आफैँप्रति गरेको ठूलो अन्याय हो ।

साउन–भदौ महिना दिदीबहिनीहरुले मनको बह पोख्ने र पाएको खुसी छताछुल्ल पार्ने याम पनि हो । त्यसैले माया साटौँ, अन्याय नसहौँ । आफ्नो क्षमता पहिचान गरौँ र अघि बढौँ । तिजको अवसरमा सम्पूर्ण नारीलाई शुभकामना !
 

प्रकाशित: १३ भाद्र २०७६ ०६:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App