coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपत्यकामा धेरै क्लिनिक अवैध, १३ मा तालाबन्दी

काठमाडौं- काठमाडौं र ललितपुरमा धेरै क्लिनिकहरु अवैध रुपमा सञ्चालन भईरहेको पाइएको छ। स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकाका धेरै क्लिनिकहरु अवैध रहेको  गुनासो आएको भन्दै खटाउनु भएको अनुगमन टोलीले अधिकांश क्लिनिकहरु अवैध रहेको पत्ता लगाएको हो। 

स्वास्थ्य मन्त्रालयल, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरी लगायतको टोलीले मंगलबार गरेको अनुगमनका क्रममा काठमाडौका ४ र ललितपुरका ४ ओटा क्लिनिकहरुमा तालाबन्दी गरिदिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

ती दुई टोलीले यसअघि सोमबार पनि काठमाडौंका ४ र ललितपुरको एउटामा तालाबन्दी गरिदिएको थियो। दुई दिनमा कुल १३ ओटामा तालाबन्दी भएकोमा ती सवै क्लिनीक रहेका छन्।

दुवै टोलीले सोमबार र मंगलबार गरी दुवै दिन क्लिनिक तथा फार्मेसीहरुमा अनुगमन गरेको थियो। अनुगमन गरेका फार्मेसीहरुमा भने अवैध नदेखिएपनि पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नबढेकाले पनि औषधी विक्रि गरेको लगायतका कमजोरी देखिएकाले उनीहरुलाई आवश्यक निर्देशन दिनुका साथै स्पष्टीकरण मागिएको काठमाडौको अनुगमन टोलीको नेतृत्व गरेका व्यवस्थापन महाशाखाका डा. हेमन्त ओझाले जानकारी दिए।

उनले मंगलबार काठमाडौको चावहिलका शाह पेथोलोजी, रेशा क्लिनीक, विराज डेण्टल प्राली र ओम समाज डेण्टल प्रालिमा तालाबन्दी गरिएको बताए।

तालाबन्दी गरिएका मध्ये ओमसमाज डेण्टलमा विरामीहरु धेरै भएकाले उनीहरुलाई २४ घण्टा भित्रमा हटाउन निर्देशन दिइएको पनि डा ओझाले जानकारी दिए। “उनीहरुलाई तत्काल जिल्ला जनस्वास्थ्य कार्यालयमा हाजिर हुन भनेका छौं,” उनले भने। 

त्यसैगरी ललितपुरमा खटिएको टोलीले कागजपत्र देखाउन सोमबार २४ घण्टे अल्टीमेटम दिँदा पनि दर्ता कागजपत्र देखाउन नसकेको जाउलाखेलको लेजर थेरापी सहित चार ओटामा मंगलबार तालाबन्दी गरेको छ।  

स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको नेतृत्वको टोलीले भैसीपाटीमा रहेका शुभेक्ता क्लिनीक एण्ड रिसर्च सेण्टर, ओमशान्ति सामाजिक संस्थाद्धारा सञ्चालित संपूर्ण सुरक्षित गर्भपतन सेवा र संभु फर्मा इन फोकस अप्टीकल एण्ड क्लिनीकमा पनि मंगलबार तालाबन्दी गरिदिएको हो। 

सो टोलीले सोमबार जाउलाखेलमा रहेको गुहेश्वरी डेण्टल मल्टी स्पेर्यालीटीमा तालाबन्दी गरिदिएको थियो। 

दर्ता नै नभईकन सञ्चालन भएको पाइएकाले तालाबन्दी गरिदिइएको अनुगमन टोलीका सदस्य तथा स्वास्थ्य मन्त्रालयका उपसचिव भवनाथ खतिवडाले जानकारी दिए।

दुवै अनुगमन टोलीले क्लिनीक तथा फार्मेसीहरुमा दर्ता तथा नविकरण संवन्धी कागजपत्र, तोकिए अनुसारको आधारभुत मापदण्ड पुरा भए नभएको बारेमा जाँजबुझ गरेको छ। अनुगमन जारी रहने मन्त्रालयले जनाएको छ।  

 

प्रकाशित: ३० कार्तिक २०७३ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App