४ वैशाख २०८१ मंगलबार
समाज

अन्योलमा बेपत्ता परिवार, पीडितलाई गोपनियताको चिन्ता

फोटो दिनेश/नागरिक

रोल्पा - २०५८ साल असारमा आफ्ना पति पत्रकार धनबहादुर रोका बेपत्ता हुँदा ३० वर्षकी दिलकुमारी रोका अहिले ४८ वर्षकी भइन्। उतिबेला साढे ३ वर्षकी जेठी छोरी पवित्रा, छोरा वसन्त २ वर्षको अनि कान्छो रामचन्द्र जन्मिएको १६ दिन मात्र भएको थियो।  रोल्पा सदरमुकाम लिबाङदेखि २६ कोष टाढा थवाङ गाउँपालिका मिरुलकी दिलकुमारी श्रीमान बेपत्ता भएको १८ वर्ष पुग्दा सम्म पनि अन्यौलमा छिन्। 

रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतमा कार्यरत पत्रकार धनबहादुर रोकालाई २०५८ साल असार ताका तत्कालिन माओवादीले प्यूठानको भिङग्री जलुकेबाट अपहरण गरि लगेपछि जिउँदो त फर्काएनन् नै लाश समेत दिएनन्।  रेडियो नेपालमा मगर खाम भाषाका सह वाचक उनले समाचार उत्पादन र वाचन गर्थे।  धनबहादुर २०५८ सालमा काम विषेशले रोल्पा सदरमुकाम लिबाङ आएका बेला कार्यक्षेत्रमा फर्कदै गर्दा तत्कालीन माओवादीबाट अपहरण परेका थिए। 

अब त फिर्केर आउँला भन्ने आसा समेत मरिसक्यो।  ‘खै अब त के आउथे र ? २०५९ सालमा गाउँलेमार्फत मरिसक्यो भनेर खबर ग-याथे।  म-यो भन्नु कसैले लास देखेको होइन।  आउछ भन्नु मारिसक्यौ भन्नेहरु जिउदै छन्। ’ दिलकुमारी भन्छिन्।  धनबहादुरकी जेठी छोरी बनबिज्ञान बिषयमा स्नातक पढ्ने सोचमा छिन्। अहिलेसम्म नेपाल पत्रकार महासंघले पढाइमा सहयोग गरिरहेका धनबहादुरका परिवार उनी बेपत्ता पारिनुको कारणबाट बेखबर छन्।

लुङग्री गाउँपालिका वडाचौर रोल्पाकी ४० वर्षिया ओमसरा सुनारलाई १८/१९ वर्ष अगाडी १५/१६ वर्षको छोरालाई सेनाले लगेको समय सबै भन्दा पीडादायक दिन बन्यो।  राजनीति के भन्ने नबुुझेकी उनी छोरा आउने आसा अलिअलि भएको सुनाउछिन्।  ‘कसलाई के भन्ने सर।  सिधा सोझो छोरोलाई कता लगे कता ? कुनै दिन टुप्लुक्क आउछ कि? किन बेपत्ता बनाए भन्ने नै थाहा छैन। ’

२०५९ साल असोज ६ गते सुनछहरी गाउँपालिका गाम घरछेउ बारिमा हलो जोत्दै गरेका ४९ वर्षीय श्रीमान सुकमन कामीलाई छिमेकी गाविस सेरमको घुस्बाङमा लगि गोली हानेर मारेको सुनेकी ६१ वर्षीया लालमता कामीले लाश पाइनन्।  ‘एकै दिन १२ जना गाउँलेलाई लगेर मा¥या हुन्।  सबैले म¥यो भने।  लास नपाए पनि मरेको मानियो। ’ लालमताले सुनाइन्।  ‘असोजमा जोडालाई मारे, त्यही फागुनमा प्यूठान मजदुरी गर्न हिडेको छोरा २० वर्षीय नरबहादुर विकलाई पनि बेपत्ता बनाए। ’

२०५९ सालपछि निम्न आर्थिक अवस्थाका लालमताको परिवार झनै तङग भङ्ग भयो।  आर्थिक जोहो गर्ने श्रीमान हत्याको पीडा भोगेको ६ महिनापछि आशाको त्यान्द्रो छोरा पनि बेपत्ता भएपछि बाटो हेर्दैमा १७ वर्ष बित्यो।  छोरासँगै प्यूठान मजदुरी गर्ने कसैले खुसुक्क छोरा बेपत्ता बनाएको खबर पठाएपछि जानकारी पाएकी लालमताले न छोरा खोज्न सकिन, न त कसैले खोजी दियो।

पीडितलाई गोपनियताको चिन्ता
दश वर्षे युद्धका बेला पीडित भएका रोल्पाका ३ हजार ३८ पीडितले दर्ता गराएका उजुरी यतिबेला अन्योलमा छन्।  सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सत्य अन्वेषणका लागि उजुरी आव्हान गरेको तीन महिनामा उल्लेखित संख्यामा उजुरी परेको हो।  स्थानीय शान्ति समिति रोल्पाका अनुसार वेपत्ता व्यक्तिका परिवार १ सय १६ ले उजुरी दिएका थिए।  उनीहरुले बेपत्ता आफन्तको खोजबिनका लागि भन्दै उजुरी दिएका हुन्।

यतिबेला बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग नै छैन।  पीडित परिवारमा अब कसैप्रति आशा र बिस्वास पनि छैन।  ६५ जना वेपत्ता रहेको रोल्पामा ३२ परिवारले राहत लिनका लागि मृतक स्वीकार गरेर मृत्यु दर्ता समेत गराएका थिए।  अहिले सरकारी तथ्याङ्क अनुसार ३३ जना वेपत्ताको सूची छ भने ९ सय ६९ मृतक संख्या रहेकोछ। 

सत्य निरुपण तथा मेलमिलाप आयोगका एक पूर्र्व पधाधिकारीका अनुसार केन्द्रमा रहेका र छानबिनका लागि भने सात प्रदेशमा पठाइएका दुबै आयोगका सबै उजुरी फाइलहरु शिलबन्दी बिना थन्काइएको छ।  उनका अनुसार ‘ति सबै फाइलहरु जोखिम पुर्ण अवस्थामा छन।  अध्यक्षले राजिनामा दिएपछि आयोगका पदाधिकारीको बैठक बस्न नसकेका कारण यसो भएको हो। ’

द्धन्दकालीन घटनाका पीडकहरु नै अहिले सत्तामा रहेकाले उनिहरु आयोगप्रति सकारात्मक बन्न र न्याय समेत पाउन नसक्ने गुनासो पीडितहरुको छ।  ‘पीडितले दिएका उजुरी उनै पिीडकलाई जिम्मा लगाउने हो भने त गोपनीयताको कुरा हराउँछ।  यसरी पनि कसैले न्याय पाउछ। ’ द्धन्द्धका समयमा बुवा गुमाएकी श्रीकुमारी रोका भन्छिन् ‘सत्ता प्राप्ती मात्र लक्ष्य राख्नेहरुले जनभावना अनुसार कहिल्यै काम गर्दैनन्।  उजुरीको गोपनीयता माथि थुप्रै प्रश्न चिन्ह लागेको छ। ’

प्रकाशित: १३ भाद्र २०७६ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App