१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पोखरामा सुटिङ रेन्ज बनाइने

पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरा रंगशालाभित्र सुटिङ रेन्ज निर्माण गर्ने निर्णय गरिएको छ। पश्चिमाञ्चल क्षेत्रीय  खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद्का प्राविधिकले स्थलगत छनोट गरेपछि सुटिङ रेन्ज निर्माण गर्ने निर्णय गरिएको हो। परिषद्ले सुटिङ रेन्जका लागि आर्चरीदेखि पश्चिम र अन्नपूर्ण स्केट पार्कदेखि उत्तरतर्फ रहेको जग्गालाई उपयोग गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताए।

‘जग्गा छनोट गरिएको छ। प्राविधिकले जग्गाको नापजाँच गरेपछि फाइनल गर्दै बैठकमा माइन्युट गरेर सदर गरियो,’ अध्यक्ष श्रेष्ठले भने, ‘टेन्डर गरेर काम अगाडि बढाइनेछ।’ जग्गालाई स्केट पार्कले तारजाली गरेको छ। केही भागमा तारजाली लगाउनुपर्ने आवश्यकता छ। तारजाली लगाई सुटिङको पूर्वाधार तयार पार्ने काम अघि बढ्ने उनले सुनाए। परिषद्का प्राविधिक विश्वमित्र सन्जेलको उपस्थितिमा जग्गाको निरीक्षण गरी टुंग्याइएको थियो। सन्जेलले केन्द्रबाट पोखरा आएका हुन्।

सुटिङ रेन्जका लागि क्षेत्रीय खेलकुद विकास समितिले २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ। दुई दुई वर्षमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगितामा सुटिङको १० मिटर पेस्तोल र एयर राइफलमा मात्रै प्रतिस्पर्धा हुँदै आएको छ। पोखरामा पनि २०७७ फागुन २० गतेदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १० मिटर एयर पेस्तोल र राइफलको प्रतिस्पर्धा गराउने लक्ष्यसहित पूर्वाधारको काम सुरु गरिने अध्यक्ष श्रेष्ठले बताए। बैठकमा क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, क्षेत्रीय निर्देशक विद्या मर्सानी एवं प्राविधिकहरूसमेतको उपस्थितिमा निर्णय गरिएको हो।

परिषद्ले सुटिङ रेन्जका लागि ५० लाख रुपैयाँ छुट्ट्याएको छ। छुट्ट्याइएको बजेटबाटै रेन्जको पूर्वाधार तयार गरिनेछ। प्राविधिक सन्जेलका अनुसार २५ मिटरभित्रैमा खेलाडीको लागि चेन्जिङ रुम, शौचालय, रेन्ज अफिसर तथा दर्शकदीर्घाका लागि समेत प्यारापिट अटाउने पूर्वाधार तयार गरिनेछ। ‘२५ मिटरमा सबै अट्ने गरी बनाउनेछौं,’ प्राविधिक सन्जेलले भने, ‘बाँकी १० मिटरमा टार्गेट राखेर प्रतिस्पर्धा गराइनेछ।’

अन्तर्राष्ट्रिय मापदण्डअनुसार १० मिटर एयर पेस्तोल र राइफल तथा २५ मिटर एयर पेस्तोल र राइफलको लागि छुट्टै पूर्वाधार चाहिन्छ। १० मिटरमा एयर पेस्तोल र राइफलको मात्रै प्रतिस्पर्धा हुने प्रचलनले २५ मिटरको प्रतिस्पर्धा अहिलेको पूर्वाधारमा सम्भव नहुने सुटिङका प्रशिक्षक भगवती केसीले बताइन्। ‘२५ मिटरको पूर्वाधारमा १० मिटरको पेस्तोल र राइफलको मात्रै प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सकिन्छ,’ उनले भनिन्, ‘२५ मिटरको प्रतिस्पर्धा गराउने छुट्टै रेन्ज बनाउनुपर्छ। हल नै छुट्टै हुनुपर्छ।’

पेस्तोल र राइफलको टार्गेट छुट्टै हुनेछ। सामान्य आधादेखि एक मिटरसम्मको दूरीको फरकमा टार्गेट राख्न सकिने उनले सुनाइन्। ‘एकैसाथ १२  देखि १८ जनासम्म खेलाउन सकिन्छ,’ उनले भनिन्, ‘फाइनल भने १० जना खेलाउन सक्ने गरी बनाउनुपर्छ। रेन्ज अफिसरले हेर्नुपर्छ। दर्शकको लागि पनि प्यारापिट बनाउने स्पेस हुनुपर्छ।’ टार्गेटको लेन्स फरक पर्ने भएकाले पनि १० मिटर र २५ मिटरका लागि छुट्टाछुट्टै पूर्वाधार बनाउनुपर्ने उनको जोड थियो। पूर्वाधार तयार पारे पनि टार्गेट हान्ने पेस्तोल र राइफलको अभाव भने छ।

गण्डकी प्रदेशमा सुटिङ रेन्ज नै छैन। बागलुङमा सुटिङकै पूर्वओलिम्पियन खेलाडी केसीले आफनै बलबुतामा प्रशिक्षण दिँदै आएकी छन्। उनकै घरमा गरिएको प्रशिक्षणले गत वैशाखमा नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले दुई स्वर्ण पदक जितेको थियो। अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता घरेलु प्रदेशमै आयोजना हुने र पूर्वाधार तयार हुने आशा र विश्वासले अझ पदक जित्ने सम्भावना रहने क्षेत्रीय खेलकुद विकास समितिले औंल्याएको छ।  

पोखरामा यति बेला १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को पूर्वाधार तयारीका लागि दौडधुप छ। प्राविधिक समेत खटिएका छन्। हरियाली बनाउनेदेखि पूर्वाधारका लागि टेन्डर प्रक्रियामा लैजाने योजनासमेत बनाइसकिएको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि पोखरा रंगशालाभित्र स्विमिङ पुल निर्माण गर्नुपर्ने खाँचो छ। समयमै टेन्डर प्रक्रिया नथाल्दा बन्ने सम्भावना नहुने खेलकुदकर्मी बताउँछन्। सुटिङ रेन्जका लागि क्षेत्रीय खेलकुद विकास समितिले २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ।

 

प्रकाशित: १३ भाद्र २०७६ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App