coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फुटबल टोली घोषणा

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार विश्वकप २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा कुवेत र चाइनिज ताइपेईविरुद्ध हुने सुरुआती २ अवे खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ।

बिहीबार घोषणा गरिएको टोलीमा गोलकिपर किरण चेम्जोङ र रोहित चन्द समावेश हुँदा नियमित कप्तान विराज महर्जनले भने अझै टोलीमा स्थान बनाउन सकेनन्। महर्जनलाई प्रशिक्षक योहान कालिनले सोमबार मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा फिटनेसका कारण बाहिर राखेका थिए।

उनको स्थानमा मलेसियाली टोलीविरुद्ध सुजल श्रेष्ठले राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए। यता किरण र रोहित टोलीमा फर्किएपछि गोलकिपर जोहार डारुल टाजिम एफसीसँगको खेलका लागि टोलीमा समावेश गरिएका गोलकिपर एलन न्यौपाने र स्ट्राइकर विमल राना भने टोलीबाट बाहिरिएका छन्। किरण जापानको तेस्रो श्रेणीको लिग क्लबमा ट्रायलका लागि गएका थिए भने रोहित इन्डोनेसियाको लिगका कारण मैत्रीपूर्ण खेलमा थिएनन्।

विश्वकप छनोटको अभ्यासका रूपमा खेलिएको खेलमा नेपाल जोहार डारुल टाजिमसँग १–० ले पराजित भएको थियो। नेपालले सेप्टेम्बर ५ मा विश्वकप छनोटको पहिलो खेल कुवेतसँग खेल्दै छ। त्यसको पाँच दिनपछि नेपालले चाइनिज ताइपेईसँग दोस्रो खेल खेल्ने तालिका छ।  नेपाली टोलीले विश्वकप छनोटका लागि स्विडिस प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा दुई महिनाअघिबाट एन्फा मुख्यालय मैदानमा अभ्यास गरेको थियो। विश्वकप छनोटको समूह ‘बी’ मा रहेको नेपालले एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेतको सामना गर्नेछ।

नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
रक्षक : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर :  सुजल श्रेष्ठ, रोहित चन्द, सुनील बल, रवि पासवान, अन्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

 

प्रकाशित: १३ भाद्र २०७६ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App