१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लालपुर्जाविहीन भिमान बजार

सिन्धुली - कमलामाई नगरपालिका–९ स्थित भिमान बजार सदरमुकामपछिको पुरानो दोस्रो बजारको रूपमा परिचित छ।  वर्षौंदेखि बसोबास रहेको भिमान बजारमा ठूला पक्की संरचना र बजार बढ्दै गएको छ।  तर वर्षौदेखि रहेको यस बजारका स्थानीय हालसम्म लालपुर्जाविहीन भएका छन्।

त्यस क्षेत्रका स्थानीयले तत्कालीन समयमा तिरोको भयले नापी जाँदासमेत जग्गा ननापेका कारण भिमान बजार पूरै लालपुर्जाविहीन बनेको स्थानीय स्वयं बताउँछन्।  तिरोको भयले पहिला गाउँ ब्लक भनेर नापी आउँदासमेत ननपाउने चलन थियो,’ स्थानीय शालिग्रामप्रसाद पौडेलले भने, ‘भिमान बजार लालपुर्जाविहीन बन्नुमा लामो इतिहास छ। ’ उनका अनुसार २०२२ सालतिर भिमान बजारमा दुई÷चारवटा घर मात्र थिए, खेत बजारभन्दा तलतिर थियो।  ‘पहिलो नापी आउँदा खेत परे, तर भिमान बजार नपाउन कसैले चासो राखेन,’ उनले भने, ‘तिरो तिर्ने डरले कसैले नपाएनन्। ’

स्थानीयका अनुसार भिमान बजारका तीन सयभन्दा बढी घरधुरी लालपुर्जाविहीन छन्।  ‘भिमान बजारमा अहिले धमाधम पक्की घर बनेका छन् तर घरधनीका हातमा लालपुर्जा छैन,’ अर्का स्थानीय आशिस कार्कीले भने।  धमाधम ठूला घर थपिए पनि लालपुर्जा हातमा नहुँदा व्यापार व्यवसाय गर्न भने समस्या भएको स्थानीयको भनाइ छ।  बैंक तथा अन्य वित्तीय संस्थामा धितो राख्न लाखौं लगानी भएका घर भए पनि कौडीको भाउसमेत नआउने गरेको उनीहरूको भनाइ छ।

२०२८ सालको नापी होस् या २०३६ दुवै समयमा भिमान बजार परेन।  पहिला–पहिला तिरोको डरले जग्गा ननपाएकाले भिमान बजार समस्यामा परेको स्थानीयको भनाइ छ।  तत्कालीन समयमा वन सिमाना लगाएकाले नापी नभएको स्थानीय बासिन्दा बताउँछन्।  ‘वन सिमाना सरकारले लगाएको थियो,’ स्थानीय टंकप्रसाद पोखरेलले भने, ‘बजारभन्दा तलतिरको जग्गालाई सिमाना बनाएर डिभर्केसन (पोल गाडिएको) गरिएको थियो।

  वनले खाली गराएको जग्गा तत्कालीन गाउँ पञ्चायतको हुने भन्ने थियो। ’ भिमान बजारमा अहिले सडकछेउको जग्गा प्रतिधुर कम्तीमा तीनदेखि चार लाख रुपैयाँमा बिक्री हुने गरेको छ।  भिमान बजारको जग्गा नगरपालिकामा गएर आपसी सहमतिसहितको कागजात बनाएर विक्री भए पनि लालपुर्जा नभएको स्थानीयको भनाइ छ।

प्रकाशित: १३ भाद्र २०७६ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App