७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीले ढल्दै र पुरिँदै सीमास्तम्भ

विजयनगर–५ स्थित सुरई नदीमा आएको बाढीले धसिएको सीमास्तम्भ। तस्बिरः नागरिक

कपिलवस्तु - ढेड महिनाअघि जिल्लाको विजयनगर गाउँपालिकामा पाँचवटा सीमास्तम्भ बाढीले ढालेको थियो तर अझै तिनको संरक्षण हुन सकेको छैन।  गाउँपालिकाका–५ र ६ स्थित दुई खोलामा आएको बाढीले सीमास्तम्भ ढालेको थियो।  सीमास्तम्भको मर्मत र संरक्षण नहुँदा त्यसयता आएको बाढीले सीमास्तम्भ सार्दै लगेको छ।  गत असार २८ गते साँझ भेलले वडा नं ५ स्थित सुरई नदीमा चार र वडा नं १ स्थित अर्रा नदीमा एउटा स्तम्भ लडाएको थियो। 

विजयनगर गाउँपालिका–५ ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमास्थित पिलर नं. ५७८/७ र त्यसभन्दा आधा किलोमिटर उत्तर पिलर नं. ५७८/१० पानीमा लडेको छ।  वडा ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं ५७७/७ र ५७७/९ ढलेका छन्।  पिलर नं. ५७७/९ तेर्सो परेर बालुवामा धसिएको छ भने ५७७/७ पानीमा डुबेर नदेखिने भएको छ।  वडा नं १ चमरको जंगलमा अर्रा नदीको भेलले दुईवटा सीमास्तम्भ क्षतिग्रस्त बनाएको स्थानीयले बताए।  वडा नं ५ निवासी भेषबहादुर थापाले बाढीको भेलले लडाएको सीमास्तम्भको अझै संरक्षण हुन नसकेको बताए।  ‘पटकपटक आएको बाढीले सीमास्तम्भ सार्दै लगेको छ,’ उनले भने, ‘अहिले नै संरक्षण गरिएन भने पछि विवाद आउन सक्छ।’

‘पटकपटक आएको बाढीले सीमास्तम्भ सार्दै लगेको छ,’ विजयनगर गाउँपालिका–५ निवासी भेषबहादुर थापाले भने, ‘अहिले नै संरक्षण गरिएन भने पछि विवाद आउन सक्छ।’

पिलर नं. ५७७÷७ ढलेर पानीमा डुबेको प्रहरी चौकी ठकुरापुरका जवान परशुराम यादवले जानकारी दिए।  आफूहरू दैनिकजसो पुगेर निरीक्षण गर्दै फर्किने गरेको उनले बताए।  आफूले सीमास्तम्भ लडेकोबारे जिल्लामार्फत हेडक्वार्टरलाई जाहेर गरिसकेको इलाका प्रहरी कार्यालय गणेशपुरका निरीक्षक सुमन नेपालले बताए।  ‘सक्दो छिटो मर्मत गर्दा राम्रो हुन्छ,’ उनले भने, ‘स्थानीयको माग पनि त्यही छ। ’ पिलर नं ५७८/३ र ५७८/६ पनि ढल्ने अवस्थामा पुगेका छन्।  बाढीले फाउन्डेसनको माटो बगाएको छ।  गत जेठतिर नेपाल र भारतको संयुक्त टोलीले कम असल काम गर्दा सामान्य बाढी आउँदा पनि पिलर ढलेका स्थानीयको आरोप छ।

सीमास्तम्भ निर्माणमा अन्योल देखिएको छ।  सीमास्तम्भ निर्माणका लागि नेपाल–भारत दुई देशीय केन्द्रीयस्तरको सर्वेक्षकसहितको प्राविधिक टोलीले मात्र संरक्षण गर्नसक्ने भएकाले सीमास्तम्भ संरक्षणमा ढिलाइ भएको हो।  विजयनगर–१ चमरका जंगलमा दुईवटा सीमास्तम्भ क्षतिग्रस्त बनेका छन्।  सबडिभिजन कार्यालय गुगौलीको गस्ती टोलीले १० दिनअघि क्षति भएको सीमास्तम्भ फेला पारेको थियो।  घना वनबीच रहेको अर्रा खोलामा सो स्तम्भ ढलेका छन्।  ‘बाढीले एउटा सीमास्तम्भ पुरेको छ,’ सशस्त्र वनरक्षक नारायणप्रसाद तिमिल्सिनाले भने, ‘अर्कोको टुप्पो भाँच्चिएको छ, ठुल्ठुला ढुंगाले पुरेका छन्। ’ जिल्लाकै विकट मानिने जवाबैराठ गाउँबाट एक घण्टा पैदल हिँडेर सो ठाउँ पुगिन्छ।  स्तम्भ मर्मतमा भइरहेको ढिलाइप्रति स्थानीय चिन्तित छन्।  उनीहरूले सक्दो छिटो स्तम्भ निर्माणको माग गरेका छन्।

ठकुरापुरका अजय चौधरीले सरकारलाई स्मिास्तम्भप्रति संवेदनशील हुन आग्रह गरे।  ‘बाढी आउनासाथ स्तम्भ बगाउने अवस्था छ,’ उनले भने, ‘त्यसकारण मर्मतमा ढिलाइ गर्नुहुन्न। ’ वर्षाको भेलले सीमास्तम्भ लडाएसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमास्तम्भको निगरानी गर्दै आएको छ।  सीमास्तम्भ निर्माणका लागी दुई देशिय टोलीकै आवश्यकता पर्ने भएकाले त्यसका लागि केन्द्रीय स्तरकै पहल आवश्यक देखिएको सुरक्षा स्रोतको भनाइ छ।  सीमास्तम्भ ढलेको विषयमा केन्द्रमा जाहेर गरिएको सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले बताए।  उनले स्थानको नियमित निगरानी गरिएको बताए।  कपिलवस्तु जिल्लासँग भारतको उत्तर प्रदेशको सिद्धार्थनगर र बलरामपुर जिल्ला जोडिएका छन्।  दुई देशका सीमामा ४६ मुख्य, दुई सय २६ सहायक र दुई सय ६० साना गरी कुल पाँच सय ३२ सीमास्तम्भ छन्।

प्रकाशित: १३ भाद्र २०७६ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App