coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उतार–चढावबीच नेप्सेले गुमायो एक बिन्दु

करुण ढकाल
काठमाडौं – साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ। यस दिन बजारमापक सूचक नेप्से १.३३ बिन्दुले घटेर ११९६.४१ मा बन्द भएको छ। ११९८.५ बिन्दुमा बजार खुलेपछि ओरालो लागेको नेप्से मह्याह्न १२ बजेपछि उकालो लागेर १२०१.१५ बिन्दुसम्म पुगेको थियो। त्यसपछि फेरि ओरालो लागेर ११९४ मा पुगेकोमा अन्तिम पाँच मिनेटमा दुई बिन्दु उक्लेर बन्द भएको हो।

बजारले ओरालो यात्रा जारी राखेका बेला अर्थमन्त्री युवराज खतिवडाले बैंकको नाफा अत्यधिक भएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि त्यसको समेत प्रभाव नेप्सेमा थपिएको छ। अर्थमन्त्री खतिवडाले बुधबार एक सार्वजनिक कार्यक्रममा अत्यधिक नाफा कमाउने प्रवृत्ति छाडेर निक्षेपकर्तालाई प्राथमिकता दिन बैंकहरुलाई आग्रह गरेका थिए। उनले निक्षेपकर्तालाई दिने ब्याजदर बढाउन र ऋणीबाट लिने ब्याजदर घटाउन बैंकहरुलाई सुझाव दिएका थिए। नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको हिस्सा झन्डै ८० प्रतिशत छ। बैंक तथा वित्तीय संस्थाले बाँड्ने लाभांशले सेयर बजारमा उल्लेख्य प्रभाव पार्छ। अर्थमन्त्रीको आग्रह बैंकहरुले मान्दा उनीहरुको लाभांश क्षमता घट्छ।

१० समूहको सूचक रातो
बिहीबार ठूला कम्मनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१६ बिन्दुले ओरालो लागी २६१.२४ मा आएको छ। यस दिन कारोबार भएका १२ वटा समूहमध्ये दुईवटाको सूचक हरियो छ भने बाँकी सबै समूहको सूचक ओरालो लागेको छ। सबैभन्दा बढी उत्पादनमूलक समूहको सूचक ओरालो लागेको छ। यो समूहको सूचक १.२६ प्रतिशतले ओरालो लागी २५१५.५१ मा आइपुगेको छ। बिन्दुका आधारमा हेर्दा भने सबैभन्दा उच्च गिरावट जीवन बिमा समूहमा देखिएको छ। यो समूहको सूचक ५०.२४ बिन्दुले ओरालो ५४९१.७९ बिन्दुमा आएको छ। यसैगरी उत्पादनमूलक समूह ३२.२२, निर्जीवन बिमा १०.७१, जलविद्युत् ३.०४ र व्यापार २.३७ बिन्दुले ओरालो लागेका छन्। लघुवित्त समूह १.८४, वित्त समूह १.६९, अन्य ०.१५, होटल्स समूह ०.०७ र म्युचुअल फन्ड समूह ०.०२ बिन्दुले ओरालो लागेका छन्। यस दिन विकास बैंक समूह २.९ र बैंंकिङ समूह ०.८६ बिन्दुले उकालो लागेका छन्।

बजारले ओरालो यात्रा जारी राखेका बेला अर्थमन्त्री युवराज खतिवडाले बैंकको नाफा अत्यधिक भएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि त्यसको समेत प्रभाव नेप्सेमा थपिएको छ।

कारोबार रकममा कुमारी अगाडि
यस दिन जम्मा २७ करोड ७३ लाख ५९ हजार ६ सय ५९ रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकममा आधारमा कुमारी बैंक अग्र स्थानमा देखिएको छ। यस कम्पनीको एक करोड ६२ लाख ४४ हजार ६ सय तीन रुपैयाँको सेयर किनबेच भएको हो। कारोबार रकमका आधारमा दोस्रोदेखि पाँचौंसम्म क्रमशः नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एसिया बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंक छन्। यसैगरी छिमेक विकास बैंक (प्रमोटर), शिवम सिमेन्ट, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंक पनि उच्च कारोबार हुने १० कम्पनीको सूचीमा छन्। कारोबार भएको सेयर संख्याका आधारमा पनि कुमारी बैंक नै अगाडि छ। यस बैंकको ८० हजार दुई सय १४ कित्ता सेयर किनबेच भएको हो। कारोबार संख्याका आधारमा भने सान्जेन जलविद्युत् कम्पनी सबैभन्दा अगाडि छ। पाँच सय ८६ कारोबार संख्यासहित पहिलो स्थानमा रहेको सान्जेनलाई पाँच सय ५४ कारोबार संख्यासहित रसुवागढी हाइड्रोपावर कम्पनीले पछ्याएको छ।

सबैको लघुवित्तमा पोजेटिभ सर्किट
घट्दो बजारमा पनि यस दिन सबैको लघुवित्तको मूल्य झन्डै १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ। केही दिनअघि मात्रै सूचीकरण भएको यो कम्पनीको सेयर भाउ बिहीबार ९.९८ प्रतिशतले बढेर चार सय ४१ रुपैयाँ पुगेको छ। एनएलजी इन्सुरेन्स, युनियन हाइड्रोपावर र एक्सल डेभलप्मेन्ट बैंकको सेयर मूल्य पनि तीन प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

बिहीबार सबैभन्दा बढी गुमाउनेमा युनाइटेड फाइनान्सका लगानीकर्ता परेका छन्। यस कम्पनीको सेयर मूल्य ६.४ प्रतिशतले ओरालो लागेको छ। यसैगरी कर्णाली विकास बैंक, मिथिला लघुवित्त, ग्रामीण विकास लघुवित्त, नयाँ नेपाल लघुवित्त, समिट लघुवित्त, हिमालय पावर पार्टनर, रिलायन्स फाइनान्स, सिद्धार्थ इन्सुरेन्स र नेपाल इन्सुरेन्सको सेयर मूल्य पनि तीन प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

६९ कम्पनीको घट्दा ६४ को बढ्यो
बिहीबार एक सय ७० कम्पनीको कारोबार भएकोमा ६४ वटाको मूल्य बढेको छ भने ६९ कम्पनीको घटेको छ। ३७ वटा कम्पनीको क्लोजिङ मूल्यमा भने कुनै परिवर्तन आएन। एडी रेसियो (मूल्य बढेका कम्पनी र घटेका कम्पनीको अनुपात) ०.९ छ। यसले बजारको बियरिस अवस्था बताउँछ। बजारले डोजी आकारको रातो महिनबत्ती बनाएको छ। यसले बजारमा क्रेता र विक्रेताबीच बार्गेनिङ भइरहेको संकेत गर्छ। साथै यसले जारी प्रवृत्ति कमजोर बनेको पनि संकेत गर्छ। यस दिनको आरएसआई २६.४ विन्दुमा छ। यसले बजार ओभर सोल्ड जोनमा रहेको जनाउँछ।

प्रकाशित: १३ भाद्र २०७६ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App