अर्घाखाँची–मानिसलाई एउटै रोगले पनि ज्यान लिने गरेको छ। जटिल प्रकारका रोगलागि थुप्रै व्यक्तिले अकालमै मृत्युवरण गरेका छन्। ठूला रोग लागेपछि बाच्न सकिँदैन भन्ने मान्यता हाम्रो समाजमा विद्यमान छ। बलियो आत्मबल, प्राकृतिक चिकित्सा र खानपानमा ध्यान दिए ठूला रोगहरुसँग पनि सजिलै लड्न सकिँदो रहेछ भन्ने उदाहरण बनेका छन् नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य।
क्यान्सर, मृगौलामा खराबी, पायल्स, कलेजोको समस्या, मुटु, बाध र मधुमेहका रोगी आचार्यलाई अहिले कुनै रोग छैन। जटिल प्रकारका रोगले ग्रसित आचार्चको स्वास्थ्यमा आश्चर्यजनक तबरले सुधार आउला भनेर कसैले सोचेको थिएन। अन्य रोगहरु केही समय अघि नै निको पारेका भएपनि उनको शरीरमा रहेको छालाको क्यान्सर पनि पूर्ण रुपमा निको भएपछि उनको परिवार, आफन्त र शुभेच्छुकमा खुसीयाली छाएको छ।
नवलपरासीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय रजरमा बसेर उनले क्यान्सर बाहेकका सबै रोग निको पारे। प्राकृतिक चिकित्सा बिधिको उपचारबाट उनले मृगौलामा देखिएको गम्भीर प्रकारको समस्यालाई निको पारेपछि उनमा अन्य रोगसँग लड्ने आत्मबल बढ्यो। क्रमैसँग अन्य रोगहरुलाई निको पार्दै गएपछि क्यान्सरको उपचारमा केन्द्रित बने। क्यान्सरकालागि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धि काठमाडौंहुँदै दिल्लीको मेदान्त हस्पिटलसम्म पुगेर उपचार गरे।
‘मैले नयाँ जीवन पाएँ’, आचार्यले भने, ‘दृढ संकल्पका साथ प्राकृतिक चिकित्सा विधि अपनाउने हो भने म जस्ता धेरै रोगीले अकालमा ज्यान फाल्न पर्दैन्थ्यो।’ उनले रोग लागिहाल्यो भनेर नअताल्लिई धैर्य र संयमता अपनाएर उपचार गरेमा मनोवैज्ञानिक असर कम पर्ने बताए। ‘आत्मबल कमजोर बनाएको भए म बाच्ने थिइँन’, उनले थपे, ‘रोगसँग लड्ने शक्ति भनेकै आत्मबल रहेछ ।’
उनले आफूलाई परेको समस्या र उपचार विधिका बारेमा आफूजस्ता अन्य रोगीलाई चेतना जगाउने काममा लाग्ने बताए। उनको सल्लाह अनुसार जिल्लाका अन्य बिरामी प्राकृतिक चिकित्सा बिधिबाट उपचार गर्न रजर जान थालेका छन्।
मंगलबार बिहान क्यान्सर रोग विशेषज्ञ डा. सुसिल कुमार श्रेष्ठले आचार्यलाई क्यान्सर पूर्ण रुपमा निको भएको खबर सुनाएपछि आचार्यले घरपरिवार, आफन्त र शुभेच्छुकलाई आफू क्यान्सबाट मुक्त भएको भन्दै खुसी बाँडेका थिए । त्यसपछि सामाजिक संजाल र फोनबाट परिवारका सदस्य, आफन्त र शुभेच्छुकहरुले खुसी साटसाट गरिरहेका छन्। ‘आज जति म कहिल्यै पनि खुसी भएकी थिइँन’ चेतनारायणकी श्रीमती दिपाले भनिन, ‘उहाँलाई सधै स्वस्थ देख्न पाइयोस भनी कामना गरी बसेकी छु।’ उनले श्रीमानको उपचारमा सहयोग गर्ने सम्पूर्ण डाक्टर स्वास्थ्य लाभको कामना गर्ने आफन्त, सम्पूर्ण शुभेच्छुकलाई धन्यबाद दिइन्।
आचार्यको स्वास्थ्यमा पूर्ण रुपमा सुधार भएको खबर पाएपछि एमालेका नेता/कार्यक्रता देखि अन्य जिल्लाबासी पनि उत्तिकै खुसी भएका छन् । आचार्य एमालेमा निष्ठावान र चट्टानी अडान भएका नेताको रुपमा परिचित छन् । उनले ०५४ साल देखि देखि ०६४ साल सम्म १० वर्ष र ०६९ देखि ०७३ सम्म ४ वर्ष गरि १४ वर्ष एमाले अर्घाखाँचीको नेतृत्व गरिसकेका छन् ।
प्रकाशित: ३० कार्तिक २०७३ ११:०५ मंगलबार