८ वैशाख २०८१ शनिबार
राजनीति

‘दुनियाँ मंगलग्रहमा गइसक्यो, हामी भिडियो कन्फ्रेन्समा गोपनियताको भूतको छायाबाट किन तर्सेको?’

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्ने निर्णयको विरोधको कुनै अर्थ नभएको बताएका छन्। गोपनियताको नाममा भिडियो कन्फ्रेन्सको विरोध पानीको फोकाजस्तै फुटेर जाने उनको भनाई छ। 

विहीबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै भिडियो कन्फ्रेन्सलाई नेपालको इतिहासमा अग्रगामी सूचनाको प्रयोग भयो भनेर गर्व गर्नपर्ने बताए। ‘विकसित मुलुक चन्द्रमामा, मंगल ग्रहमा परीक्षण गर्न गए। हामीले सूचना प्रविधि हाम्रै मन्त्रिपरिषदमा प्रयोग गर्दा गोपनियताको भूतको छायाबाट किन तर्सेको?’ उनले प्रश्न गरे। 

सांसद विडारीले सानो कुरालाई राष्ट्रिय मुद्दा बनाउन नहुनेमा जोड दिए। ‘मन्त्रिपरिषदमा भिडियो कन्फ्रेन्स बर्बाद भयो बाबा भन्दै सडकदेखि सदनसम्म यत्रतत्र कुरा थाले।’

यस्तो विडारीको सम्बोधनः

सीप नभएका विरोधीहरु, इख नभएको सरकारका कारण यो देश विग्रेरै जाने हो कि भन्ने चिन्ता लाग्न थाल्यो। सीप छैन, हतियार चलाउन जान्दैनन्, सरकारमाथि प्रहार भएका हतियार वेकम्मा भए। खरानीको ढल्लाको जस्तो फुटेर गए। सीप र ढंग नभएकाले गुलेली चलाउन पनि जान्दैन। बन्दुको निशानाको त कुरै छोड्नुस्। किनकी छुट र पूर्वाग्रह बोलीले सत्यमा बज्रिएपछि झुट नै नासिन्छ। सत्यसँग झुट बज्रिनासाथ। 

त्यस्तै प्रसंगमा आयो भिडियो कन्फ्रेन्स। मन्त्रिपरिषदमा भिडियो कन्फ्रेन्स बर्बाद भयो बाबा भन्दै सडकदेखि सदनसम्म यत्रतत्र कुरा थाले। उपचाररत प्रधानमन्त्रीले विदेशमा आफ्नो मन्त्रिपरिषदसँग सामान्य सम्वाद गरे। यो नेपालको इतिहासमा अग्रगामी सूचनाको प्रयोग भयो भनेर गर्व गर्नपर्ने होइन? यो भिडियो कन्फ्रेन्स मन्त्रिपरिषदमा परीक्षण भयो भनेर उत्साहित हुनुपर्थ्यो।

विकसित मुलुक चन्द्रमामा, मंगल ग्रहमा परीक्षण गर्न गए। हामीले सूचना प्रविधि हाम्रै मन्त्रिपरिषदमा प्रयोग गर्दा गोपनियताको भूतको छायाबाट किन तर्सेको? इन्टरनेटसहित सबै प्रकारका प्रविधि डाटै डाटाबाट चल्छ। गोपनियता भनेर इन्टरनेटै नचलाउने?

सूचना प्रविधिबाट गोपनियता गयो भन्ने हो भने संसारका सिआइडी, खुफिया र जासुसी संस्था कसरी चलेका छन्? हामी भिडियो कन्फ्रेन्समै गोपनियतामै डराउने? केके गर्ने, कसरी सुरक्षा गर्ने सरकारले गर्छ। यसको विरोध पनि पानीको फोका जस्तै बढी भरिएको बेलुन प्याट्ट फुटेजस्तै फुट्ने छ। यो विरोध टिक्दैन। 

विदेशमा उपचाररत आफ्ना प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत वार्ता, सम्वाद, छलफल गरेको समान्य कुरामा आत्तिएर, सुरिएर, मात्तिएर विरोध किन यत्रो? यो त ठूलो कुरा थिएन। केही विषय नपाएपछि यस्ता कुरालाई राष्ट्रिय मुद्दा बनाउनु हुँदैन। 

प्रकाशित: १२ भाद्र २०७६ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App