coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कटारीमा म्याद नाघेका खाद्यान्न र पेय पदार्थ

सांकेतिक

उदयपुर- उदयपुरको कटारी नगरपालिकाका विभिन्न बजारका व्यापारीले म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ बेचेर उपभोक्तालाई ठग्ने गरेको फेला परेको छ। डिभिजन खाद्य तथा गुण नियन्त्रण कार्यालय उदयपुर, स्थानीय प्रशासन र सरोकारवाला निकाय प्रतिनिधि सहभागी टोलीले सोमबारदेखि बुधबारसम्म गरेको अनुगमनका क्रममा विभिन्न किराना पसलले म्याद गुज्रेका अखाद्य खानेकुरा बेच्ने गरेको तथा होटल फोहोर बासी खाना बेच्ने गरेको पाइएको टोलीले जनाएको छ।

                नगरपालिकाको मुख्य बजार कटारी र नगरपालिकाभित्रका अन्य विभिन्न बजारमा गरिएको अनुगमनमा होटल तथा किराना पसलमा लेबल नभएका, म्याद जुग्रेका अखाद्य वस्तु भेटिएपछि त्यस्ता सामान बरामद गरी नष्ट गर्ने प्रक्रियामा प्रशासन गएको छ। पहिलो चरणमा प्रशासनले किराना तथा होटलमा गरेको अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रेका र नक्कली खाद्य सामग्री भेटिएको छ भने होटलका भान्साघर फोहोर हुनुका साथै बासी खानेकुरा बेच्ने गरेको फेला परेको इलाका प्रशासन कार्यालय कटारीले जनाएको छ ।

                अनुगमन टोलीले नगरपालिकाको कटारी बजार, ११ नं. को बेतिनी, १४ को घुर्मी, १ र २ को त्रिवेणी बेलसोत, खोक्सा, गराँस बजारमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा कटारी बजारका १४ वटा पसलमा कैफियत भेटिएको छ भने घुर्मी बजारमा १६ वटा पसलले उपभोक्ता ठग्ने गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ। त्यस्तै वडा नम्बर ११ को बेतिनी बजारका ७ वटा पसल पनि उपभोक्ताविरोधी देखिएका छन्। १ र २ नंं साविक त्रिवेणीका बेलसोत, खोक्सा र गराँसका ८ वटा पसलमा पनि यस्ता अखाद्य वस्तु भेटिएको छ।

                डिभिजन खाद्य तथा गुण नियन्त्रण कार्यालयका निर्देशक रमेश दाहालले बजार अनुगमन गर्दा म्याद गुज्रेका खाद्य, चिसो पेय पदार्थहरु भेटिएको बताए। उनले कतिपय पसलहरु दर्ता नगरी र इजाजत नलिई सञ्चालनमा रहेको पनि पाइएको छ। इलाका प्रशासन कटारी, इलाका प्रहरी कटारी, कटारी नगरपालिका, उदयपुर उद्योग वाणिज्य संघ कटारीका प्रतिनिधिसहितको टोलीले गरेको अनुगमनमा व्यापारीहरुले कानुन विपरीत किराना पसलमै सुर्तीजन्य पदार्थसमेत बेच्ने गरेको पाइएपछि बरामद गरी नष्ट गर्ने प्रक्रिया अघि बढाएको दाहालले बताए।

                चाडबाड नजिकिएका बेला उपभोक्ता हितलाई ध्यान दिँदै खाद्य तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनलाई तिव्रता दिएको दाहालले बताएका छन्। बेलाबेलामा हुने गरेको अनुगमन कार्यलाई चाडबाड नजिकिएपछि तिव्रता दिइएको उनले बताए। कार्यालयले स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, स्थानीय उद्योग वाणिज्य संघ र अधिकारकर्मीको सहभागितामा अनुगमन कार्यलाई तिव्रता दिने जनाएको छ। दाहालले गलत गर्ने व्यापारीलाई आउँदा दिनमा यस्तो गल्ती नगर्न सचेत गराउँदै गरेको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको बताएका छन्।

                नियमित बजार अनुगमन नहुने तथा अनुगमन भए पनि एक पटक गल्ती गरेको भेटिने व्यापारीलाई कारबाही नगर्ने परम्पराले उपभोक्ता मारमा पर्दै आएका छन्। बजार अनुगमनको क्रममा पटक पटक अखाद्य वस्तु फेला पर्ने गरेको र त्यस्ता व्यापारीलाई आइन्दा यस्तो गल्ती नगर्न चेतावनी दिँदै कारबाही नगरी छाडिने भएकाले अनुगमनको क्रममा जहिल्यै कैफियत भेटिने गरेको उपभोक्ताको गुनासो छ। ‘सरकारले बजार अनुगमन गर्ने गर्छ, नियमविपरीत गरेको पाइए कारबाही गर्ने पनि गरेको छ,’ कटारीका एक अगुवाले भने, ‘तर, जति अनुगमन गरे पनि कारबाही नगरेपछि व्यापारीहरु एकपछि अर्को गल्ती गर्न छाडेका छैनन् ।’

                अनुगमनक्रममा धेरै पटक म्याद गुज्रेका सामान भेटिने गरेको, होटलमा फोहोर र बासी खाना खुवाउने गरेको फेला पार्ने टोलीले कहिल्यै ठोस कारबाही गरेको नपाइएकाले व्यापारीको बदमासी घट्नेमा उपभोक्ता शंका व्यक्त गर्छन्। एक चरण गरिने अनुगमनको निरन्तरता नहुनु तथा गल्ती गर्नेलाई कानुनी कारबाही नगरिनु नै व्यापारीको बदमासी कम नहुने कारण भएको उनीहरु बताउँछन्।

 

प्रकाशित: १२ भाद्र २०७६ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App