डोटी - नेपाल पत्रकार महासंघ डोटी शाखाले सञ्चार तथा सूचना प्रविधि मन्त्री गाेकुलप्रसाद बाँस्काेटा र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई ‘बिग्रेको रेडियो’ उपहार पठाएको छ। रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमार्फत बिग्रेको रेडियो उपहार पठाइएको हो।
रेडियो नेपाललाई राजनीतिक आस्थाका आधारमा हस्तक्षेप गरी बिगार्ने काम गरेकोे आरोप लगाउदै विरोध स्वरुप बिग्रेको रेडियो पठाएको शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए। ‘वर्तमान सरकारले राजनीतिक आस्थाकै आधारमा अनुचित रुपमा रेडियो नेपालमा हस्तक्षेप गरिरहेको हामीलाई अनुभूती भएको छ,’ उनले भने,‘यसले ठुलो लोकप्रियता कमाएको राष्ट्रिय प्रशारण संस्था विवादित पारेर बिगार्ने काम भएको छ। ’
यसको पूर्ण दोष सञ्चारमन्त्री बाँस्कोटा र रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको रहेकाले उनीहरुलाई विरोधस्वरुप बिग्रेको रेडियो पठाइएको अध्यक्ष बलायरले बताए।उक्त रेडियो रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलका प्रमुख बौएलाल चौधरीलाई हस्तान्तरण गरिएको छ। रेडियो बुझेपछि चौधरीले सो रेडियो सम्बन्धित ठाउँमा पु-याउने प्रतिबद्धता ब्यक्त गरे।
रेडियो नेपालले राजनीतिक बिनाकारण प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत सञ्चारकर्मीहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई निष्काशन गरेको थियो। जसको विरोधमा नेपाल पत्रकार महासंघ डोटी शाखाले भदौ ३ गतेदेखि निरन्तर आन्दोलनका कार्यक्रम गरिरहेको छ।
प्रकाशित: १२ भाद्र २०७६ ०६:०८ बिहीबार