७ वैशाख २०८१ शुक्रबार
समाज

माछा बिक्री गर्दै स्वरोजगार बन्दै तामाङ

पोखरा– केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन्।     

पोखरा–१० बुद्धचोक बस्ने ४० वर्षीय राजु तामाङ पोखरा बजारमा माछा बिक्री गरेर मासिक २० हजार रुर्पैयाँभन्दा बढी आम्दानी गरी अरुका लागि पनि अनुकरणीय बनेका छन्। बिहान उठ्नेबित्तिकै बस चढेर पोखराको लेखनाथस्थित बेगनासतालमा रहेको अन्नपूर्ण माछा फार्ममा पुगी खरीद गरिएका माछा साइकलको सहायताले बजारमा बेच्नु उनको दैनिकी हो।     

नुवाकोट बेलकोट नगरपालिका–९ स्थायी घर भएको बताउने उनी पोखराको लेकसाइड, विरौटा, रामबजार, आँखा अस्पतालचोक लगायतका विभिन्न स्थानमा ‘लौ आयो लोकल ताजा माछा’ भन्दै बिहानै सडकमा भेटिन्छन्। आँखा अस्पताल चोकमा सोमबार बिहानै माछा बिक्रीका क्रममा सरसफाइ गरिरहेको अवस्थामा भेटिएका तमाङले भने, “दैनिक २० देखि २६ किलोग्राम माछा खरीद गरी प्रतिकेजी चार सय रुपैयाँमा बेच्ने गरेको छु, म पेशाप्रति सन्तुष्ट छु।”     

स्वदेशमा जीविकोपार्जनका लागि अप्ठेरो परेपछि विदेश जानका लागि पासपोर्टसमेत बनाएको बताउने उनले परिवारसँगै बसेर बिहानको करीब चार घण्टा बजारमा डुली आम्दानी गर्दा आफूलाई सुखको अनुभूति भएको सुनाए। उनले आजभन्दा चार वर्षअघि फेवातालको खपौंदीबाट माछा खरीद गरी बिक्री गर्न शुरु गरेका हुन्।     

त्यस अवधिमा ३० हजार रुर्पैयाँसम्म आम्दानी हुने गरेको अनुभव सुनाउँदै उनले उक्त क्षेत्रमा जलाहारी समुदायका महिला फुर्लुङमा माछा बेच्ने हुँदा माछा पाउनै असहज भएपछि विकल्पको रूपमा आफू अन्नपूर्ण फार्मतर्फ लागेको बताए। पोखरीमा हुर्केका रेवाजातका माछा पोखरेलीले मन पराउने गरेका कारण पनि खरीद गरिएका माछा सबै बिक्री हुने गरेको उनको भनाइ छ।     

“बिक्रीसँगै सरसफाइ समेत आफैंले गरिदिने भएकाले माछाको माग दिनप्रतिदिन बढ्दै गएको छ”, उनले थपे। उनका दुई छोरा र छोरी स्कूल पढ्न जान्छन्, श्रीमतीले बुद्धचोकमा फलफूल तथा तरकारी बिक्री गर्दै आइरहेका छन्। जीविकोपार्जन राम्रैसँग चलेको छ। साइकलको अगाडि ह्याण्डलमा झुन्ड्याएर र पछाडि क्यारेटमा एक/एक किलोको पोका बनाएर बजार डुलाउँदै आएका उनले सरसफाइबाट निस्कने फोहरसमेत साइकलमै राखेर उचित स्थानमा व्यवस्थापन गर्दै आएको जानकारी दिए।     

पोखरा महानगरपालिका–१७ आँखा अस्पताल चोकमा कार्की रेष्टुरेन्ट सञ्चालन गर्दै आएकी डिलमाया कार्कीले माछा स्वादिष्ट र सरसफाइसमेत गरिदिने भएका कारण उनलाई तामाङसँग बाहेक अरुसँग माछा किन्न मन नलाग्ने बताइन्। पोखरा बजारमा अहिले भारतबाट आएका माछालाई ‘लोकल’ भनेर बिक्री गर्नेको सङ्ख्या ठूलै भएको बताउँदै उनले भने, “तामाङ भाइले ल्याएको माछा आफूजस्ता धेरैले रुचाउने गरेका छन्।”     

पोखरा उपत्यकामा साना–ठूला गरी नौ वटा ताल र विभिन्न खोलाका कारण यहाँ माछा राम्रै उत्पादन हुन्छ। मानव स्वास्थ्यको लागि समेत उपयुक्त हुने भएको र माग पनि बढ्दै गएका कारण पछिल्लो समय युवाको व्यावसायिक माछापालनप्रति आकर्षण बढेको छ।रासस

प्रकाशित: १२ भाद्र २०७६ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App