coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैंक, वित्तीय संस्था बढी नाफामुखी भए: खतिवडा

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक पाँच अर्बभन्दा बढी नाफा गरेको भन्दै आगामी दिनमा नाफामुखीभन्दा सेवामुखी हुन आग्रह गरेका छन्।

बुधबार राजधानीमा राष्ट्रिय वाणिज्य बैंकका १४ वटा शाखा कार्यालयको डिजिटल प्रणालीबाट उद्घाटन गर्दै उनले आगामी दिनमा बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने र वित्तीय पहुँचका लागि वित्तीय साक्षरता अभियानमा जोड दिनुपर्ने सुझाए।

बैंक तथा वित्तीय संस्थाहरुले नाफालाई मात्र जोड दिँदा बचतकर्ता मारमा परेको भन्दै उनले बचतकर्तालाई दिँदै आएको ब्याज प्रतिशत बढाउन र सहज तथा सस्तो कर्जा प्रवाह गर्न आग्रह गरे। वित्तीय संस्थाहरु स्वायत्त, स्वतन्त्र र प्रतिस्पर्धी हुनुपर्ने उनले बताए।

सोही अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले पुरानो सफ्टवेयरमा सेवाग्राहीलाई समस्या आउने गरेकाले बैंकको कारोबार ‘बैंकिङ कोर सफ्टवेयर’ प्रणालीमा अपग्रेड गर्नुपर्ने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ‘क्लिन एन्ड स्मार्ट आरबिबी विथ कन्सोलिडेसन’ अभियान सञ्चालन गरेको जानकारी दिँदै अब बैंकको शाखा दुई सय ३६ पुगेको बताए।

उनका अनुसार बैंकले झापाको बाह्रदशी गाँउपालिका–४,  मोरङको धनपालथान गाँउपालिका–४, काठमाडाैंको कोटेश्वर तथा टोखा, तनहुँको शुक्लगण्डकी–६, गुल्मीको कालीगण्डकी गाँउपालिका–४, नवलपर देवचुली नगरपालिका–१६, कपिलवस्तुको शिवराज नगरापालिका–८, दाङको घोराही उपमानगरपालिका–१५ मा नयाँ शाखा खोलेको हो।

त्यसैगरी, पर्साको पोखरिया नगरपालिका–४, मकवानपुरको भीमफेदी गाउँपालिका–६, महोत्तरीको बलवा नगरपालिका–६, रौतहटको चन्द्रपुर नगरपालिका–४ र पिपरा गाउँपालिका–४ मा शाखा कार्यालय विस्तार गरेको बैंकले जनाएको छ।

बैंकले गत आर्थिक वर्ष  २०७५/०७६ मा पाँच अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको निक्षेप एक खर्ब ९० अर्ब रुपैयाँ र कर्जा एक खर्ब ४४ अर्ब रुपैयाँ पुगेको सो अवसरमा जानकारी दिइयो। यसले शाखा कार्यालयबाहेक एक सय ७८ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा दिइरहेको छ।

प्रकाशित: १२ भाद्र २०७६ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App