coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सार्वजनिक स्थलमा कुकुरलाई शौच गराए कारबाही

सार्वजनिक ठाउँमा कुकुरलाई शौच गराउँदै। फाइल तस्बिर:नागरिक

काठमाडौं - काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले व्यक्तिगत रुपमा पालिएका कुकुरलाई जथाभावी सार्वजनिक स्थलमा शौच गराए कारबाही गर्ने भएको छ।  सार्वजनिक स्थलमा कुकुरलाई दिसा पिसाब गराउँदा वातावरण फोहोर भई रोगको संक्रमण फैलिने गरेको भन्दै महानगरपालिकाले सो निर्णय लिएको हो।

काठमाडौं महानगरपालिकाका अनुसार महानगरमा घरपालुवा कुकुर करिब ८० हजार र २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ।  राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँका सार्वजनिक स्थलमा कुकुरलाई दिसा पिसाब गराउने प्रवृत्ति छ।  काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले घर पालुवा कुकुरहरुलाई सार्वजनिक स्थानमा शौच गराए तुरुन्तै कारबाही गरिने तयारी भइरहेको बताए।

‘व्यक्तिगत सोखले पालिएको कुकुरलाई जहाँतही सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गरिएको छ,’ उनले भने, ‘त्यसरी शौच गराउँदा वातावरण दुर्गन्धित हुन्छ।  विभिन्न रोगको संक्रमणसमेत फैलिन्छ।  त्यसैले घरमै दिशापिसाब गराउनुपर्छ।  सार्वजनिक स्थलमा दिसा पिसाब गराएको भेटिएमा कारबाही गर्नेछौं। ’ उनका अनुसार एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिन्छन्।  कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्छन्।  यसबाट रोगको संक्रमण बढ्छ। 

‘एक अध्ययन अनुसार एउटा कुकुरले वर्षको औसत २ सय ७४ पाउन्ड (एक लाख २४ हजार दुई सय ८४ ग्राम) दिसा गर्छ,’ उनले भने, ‘कुकुरको एक ग्राम दिसामा २ लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुने तथ्य पत्ता लागेको छ। ’ उनका अनुसार वातावरण व्यवस्थापन विभागले सार्र्वजनिक स्थलमा शौच नगराउन सबै कुकुर धनीहरुलाई सूचना जारी गरेको छ।  बाहिर शौच गराएको वा नगराएको हेर्नका लागि अनुगमन टोली खटाइएको छ।  सार्वजनिक ठाउँमा दिसा पिसाब गराएको पाइएमा पशुपन्छी मन्त्रालयको नियामावलीअनुसार कारबाही र जरीवाना गराइने छ।

जहाँतही कुकुरलाई शौच गराउने प्रवृत्ति बढ्दै गएपछि सर्वसाधारण समेत चिन्तित बन्दै गएका छन्।  गौशलास्थित सिफलका राजु श्रेष्ठले जथाभावी कुकुरहरुलाई शौच गराउँदा दुर्गन्ध फैलिने गरेको बताए।  ‘जहाँ पनि सार्वजनिक ठाउँमा कुकुरलाई दिसापिसाब गराएका हुन्छन्,’ उनले भने, ‘दुर्गन्धले नाक थुनेर ओहोरदोहोर गर्नुपर्छ।  वर्षातको समयमा झनै वातावरण फोहोर हुन्छ।  यसलाई सम्बन्धित निकायले रोक्नुपर्छ। ’ उनका अनुसार राजधानीका कुकुर धनीहरुले बिहान र बेलुकाको समयमा बाहिर हावा ख्वाउन डुलाएको भन्दै दिसा, पिसाब गराउने गर्छन्। ’

टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका रेकर्ड प्रशासन प्रमुख डा. सुधा ठकुरी घर पालुवा कुकुरलाई जथाभावी ढंगले सार्वजनिक स्थानमा शौच गराउन नहुने बताउँछिन्।  ‘कुकुरको दिसापिसाब मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ।  त्यसैले सार्वजनिक स्थलमा शौच गराउनु हुँदैन,’ उनले भनिन्, ‘कुकुरको दिसाका कारण विभिन्न रोगको उच्च जोखिम हुन्छ।  त्यसैले सावधानी अपनाउनुपर्छ। ’ उनका अनुसार, दिसापिसाब संक्रमणबाट गराउँदा फोहोर हुने, डाइरिया, ज्वरो आउने, झाडापखालालगायतका रोगहरू लाग्न सक्छन्।

प्रकाशित: १२ भाद्र २०७६ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App