८ वैशाख २०८१ शनिबार
समाज

मामाको मृत्यु, भान्जा अस्पतालमा

काठमाडौं - चाबहिलमा बस्ने ओखलढुंगाका पुछाङ भोटेले विगत १० वर्षदेखि घर बनाउने र रङ लगाउने काम गर्दै आएका थिए।  सधैंजस्तै सोमबार पनि उनी ललितपुर लुभुमा घरको काम गरेर डेरातर्फ फर्कंदै थिए।  घर ‘फिनिसिङ’ अन्तिम चरणमा पुगेकाले त्यो दिन डेरा फर्कन उनलाई अलि ढिला भएको थियो।  पुछाङसँगै उनका भान्जा घाङदुक भोटेले पनि घरमा रङ लगाउने काम गर्दै आएका थिए।  प्रायः मामा–भान्जा सँगै डेरा फर्कन्थे। 

उनीहरू सोमबार पनि सँगै मोटरसाइकलमा डेरा फर्कंदै थिए।  लुभुबाट डेरातर्फ लाग्दा साढे सातजति बजेको थियो।  रातिको समय सडक खाली हुने भए पनि मालबाहक र टिपर भने गुडिरहेका थिए।  पुछाङ टिपरबाट जोगिएर हिँड्नुपर्छ भन्नेमा सचेत थिए।  कोटेश्वर पुगेपछि मोटरसाइकल चलाएका उनले भान्जा घाङदुकलाई भनेका थिए, ‘यतिबेला हिँड्दा सबैभन्दा डर हुने टिपरकै हो। ’ त्यसकारण पनि पुछाङले बाइक बिस्तारै हाँकिरहेका थिए।  उनीहरू बिस्तारै कोटेश्वरबाट चाबहिलतर्फ लागे।  सिनामंगल पुग्दा टिपर नै पुछाङको काल बन्योे।

आफूले गल्ती नगर्दा पनि टिपरका कारण पुछाङको जीवनको डोरो चुँडियोे।  टिपरका कारण उनको शरीर क्षतविक्षत भयो।  भाग्यले उनको पछाडि बसेका घाङदुक भने बाँच्न सफल भए।  उनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलजेमा उपचार भइरहेको छ।  ‘मामाले बाइक बिस्तारै हाँक्नुभएको थियो।  सिनामंगलको उकालो सकिएपछि टिपर आयो,’ उनले भने, ‘मामाले कोटेश्वरमा टिपरदेखि सचेत हुनपर्छ भन्नुभएको थियो।  उहाँले यसो भनेको केही समयमै टिपर नै काल बनेर आयो। ’

बा२ख ४३१७ नम्बरको टिपरका कारण भएको दुर्घटनाका पात्र पुछाङ मात्रै होइनन्।  टिपरकै कारण विपरीत दिशाबाट आउँदै गरेका बा८५प ५६९ र ना४३प ८ नम्बरका दुईवटा मोटरसाइकल सडकमा बजारिए।  ती दुई बाइकमा प्रवीण धिताल, निरन्जन कार्की, सिसम वाग्ले र प्रमोद धिताल थिए।  उनीहरु अस्टे«लिया जाँदै गरेका सिसमका भाइ सुलभलाई बिदाइ गरेर विमानस्थलबाट फर्कंदै थिए।  उनीहरू एयरपोर्टबाट निस्किएको पाँच मिनेट पनि नबित्दै दुर्घटनामा परेका थिए।  प्रमोद र प्रवीण गम्भीर घाइते भए। 

दुवैलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलजेको आइसियूमा राखिएको छ।  प्रमोदका आफन्त सुशान्त आचार्यले अघिल्लो बाइकलाई ठक्कर दिएको टिपरले ब्याक गरेर घाइतेलाई किच्न खोजेको बताए।  ‘हामी दुर्घटनास्थलमा थियौं।  टिपर चालकले अघिल्लो बाइकलाई उधिनेपछि पछिल्लो बाइकलाई निसाना बनाएको थियो,’ उनले भने, ‘घाइते उठेर सडक किनारतिर लागेकाले मात्र बाँच्न सफल भए। ’ टिपरले विपरीत दिशाबाट आइरहेको दुई मोटरसाइकललाई ठक्कर दिएपछि पुछाङको मोटरसाइकल पनि दुर्घटनामा प¥यो।

ट्राफिक महाशाखाको तथ्यांकअनुसार गत वर्ष र यस वर्ष गरी उपत्यकामा टिपरका कारण ३० जनाभन्दा बढीको ज्यान गइसकेको छ।  टिपर र मिनी ट्रक नै सडक दुर्घटनाको मुख्य कारक भएको ट्राफिक प्रहरीको भनाइ छ। ललितपुरका पूर्वट्राफिक इन्चार्ज सीताराम हाछेंथुले टिपरको अगाडिको चक्काको माथि खाली भागको बनावट (ग्राउन्ड लेभल) ४ फिट भएकाले चालकले अगाडि नदेख्दा दुर्घटना भइरहेको बताए।  उनले नियमअनुसार एकफिट मात्रै हुनुपर्ने बताए।  ‘टिपरबाट हुने दुर्घटना रोक्न त्यसको डिजाइन नै सुधार गर्न आवश्यक छ,’ उनले भने, ‘तर सरकारले यसलाई सामान्य सम्झिरहेको छ।  यो दुःखको कुरा हो। ’

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सिंनामंगल दुर्घटनाका टिपर चालक सनम तामाङलाई महानगरीय प्रहरी वृत गौशालाले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए।  अनुसन्धानमा चालकको गम्भीर लापरबाही भएको पुष्टि भएमा ज्यान मार्ने मुद्दाअनुसार कारबाही हुने उनले बताए।  ‘साना सवारीलाई ठूला सवारीले हेप्छन्।  उपत्यकामा टिपरले दुर्घटना बढाइरहेका छन्।  यसमा प्रहरीले मात्रै सोचेर वा योजना बनाएर मात्रै हुँदैन।  सरकारले पनि गम्भीर चासो दिनुपर्छ,’ उनले भने।

‘टिपरले ब्याक गरेर किच्न खोज्यो’

सुशान्त आचार्य, प्रत्यक्षदर्शी
घटनास्थल तीनकुने–एयरपोर्ट सडकमा हामी हिँडिरहेका थियौं।  अचानक सिनामंगल पुग्दा आफन्त नै दुर्घटनामा परेको दृश्य देख्यौं।  त्यहाँ टिपर अनियन्त्रित गतिमा थियो।  हामीले हेरिरहँँदा अघिल्लो बाइकलाई ठक्कर दियो।  नजिकका अरु मोटरसाइकल पनि सडकमा लडे।  त्यसपछि घाइतेलाई पनि चालकले टिपर ब्याक गरेर किच्न खोजे।  हामी चिच्याउन थालेपछि चालक हतारहतार ओर्लिएर सिनामंगलको पार्कतर्फ भागे।  हामीले सडकका घाइतेलाई उठायौं।

टिपरको आवाज चट्याङ परेजस्तै थियोे
घाङदुक भोटृ, घाइते

म मोटरसाइकलको पछाडि बसेको थिएँ।  राति करिब आठ बजिसकेकाले सिनामंगल चोक नजिकैको सडक खालीजस्तै थियो।  बाइकको गति पनि तीव्र थिएन।  सिनामंगल साइटमा पुग्दा एक्कासि टिपर हाम्रो सामुन्ने आयो।  मलाई चट्याङ परेजस्तै महसुस भयो।  म चालक मामाको ढाडको ओत लागे।  त्यसपछि मैले होस पाइनँ।  केही समयपछि ब्युझिएको महसुस भयो।  वरिपरि मानिसले घेरेको देखें। 

म बसेको बाइकका चालक मेरो मामा पुछाङ भोटेको शरीर छियाछिया भएको देखें।  त्यसपछि मलाई बल्ल दुर्घटना भएछ भन्ने थाहा भयो।  प्रहरीले हामीलाई ट्याक्सीमा राखेर काठमाडौं मेडिकल कलेजमा लग्यो। सिनामंगलमा आइतबार टिपर दुर्घटनामा परेका घाङ्दुक भोटे।  उनी सिनामंगलस्थित केएमसीमा उपचाररत छन्।

प्रकाशित: १२ भाद्र २०७६ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App