coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतकाे आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, गृहमन्त्री शाहद्वारा पुरस्कार प्रदान

काठमाडाैं- भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालिममा नेपाल प्रहरी उत्कृष्ट भएको छ। भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी भए। उत्कृष्ट भएसँगै खड्का ‘आइपिएस एशोसियशन अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत हुनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उक्त तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी तीन विधामा पुरस्कार हासिल गर्न सफल भएका छन्। 

साथै, प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्विमिङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पि.टी.’ पुरस्कारद्वारा पुरस्कृत हुन सफल भए। पुरस्कृत प्रहरीलाई यही भदौ ७ गते आयोजित कार्यक्रममा भारतका गृहमन्त्री अमित शाहले पुरस्कार प्रदान गरेका थिए। विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधामा उत्कृष्ट भएको हो।

करीब दुईवर्ष लामो अवधि रहेको उक्त तालिम छ महिनाको फिल्ड अट्याचमेन्टसहित दुई चरणमा सञ्चालन हुने गर्दछ। सन् २०१७ डिसेम्बरमा शुरु भएको उक्त तालिममा ९२ भारतीय प्रहरी, पाँच नेपाल प्रहरी र छ रोयल भुटान पुलिस गरी कुल १०३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

हाल नेपाल प्रहरीबाट हरेक वर्ष पाँच प्रहरी निरीक्षक उक्त तालिममा समावेश हुने गरेका छन्। सन् १९५५ देखि नेपालको सहभागिता हुन थालेको उक्त तालिममा हालसम्म ६० जना भन्दा बढी वरिष्ठ प्रहरी अधिकृतले भाग लिइसकेका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App