८ वैशाख २०८१ शनिबार
समाज

सोलारले लेकाली गोठ झलमल्ल

सोलार प्यानल लिएपछि चौरीपालक किसान। तस्बिरः ध्रुव/नागरिक

हेलम्बु– चरिचरण खोज्दै चौरी, याक र गाइ लिएर उच्च हिमाली क्षेत्रका खर्क र गोठ पुग्ने किसानका लागि हेलम्बु गाउँपालिकाले सोलार प्यालन वितरण गरेको छ। गाउँपालिका क्षेत्रभित्रका चौरीपालक किसानका १८ गोठ र खर्कका लागि बत्तीका साथै मोबाइलसमेत चार्ज गर्ने सुविधा भएको सोलार प्यानल वितरण गरिएको हो। 

लेकाली खर्क तथा गोठ उज्यालो बनाउने अभियान अन्तर्गत सोलार प्यानल लिन किसानलाई गाउँपालिका केन्द्र किउल, बगर बोलाइएको थियो। गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले लेकाली गोठ उज्यालो कार्यक्रमको शुभारम्भ गर्दै सोलार प्यालन वितरण गरे। ‘सोलार प्यानलले किसानका लेकका घुम्ति गोठसमेत उज्यालो बनाउने विश्वास लिएका छौँ,’ उनले भने।

‘व्याक अप’ (ब्याट्री) सहितको १० वाट क्षमताको सोलार प्यानलमा दुईटा बत्ती बाल्नको साथै मोबाइलसमेत चार्ज गर्ने सुबिधा रहेको गाउँपालिकाले जनाएको छ। किसानका कोठमा अनुगमनमा जाँदा उनीहरुले अध्याँरोका कारण समस्या भोग्नु परेको भन्दै गाउँपालिकासँग सोलार प्यानल माग गरेका थिए। त्यसपछि किसानको गोठको खोजी गर्दै गाउँपालिकाले उज्यालो कार्यक्रम ल्याएको अध्यक्ष शेर्पाले जानकारी दिए।

यस क्षेत्रका केही किसानले अझै चौरी, याक र हिमाली गाइपालनलाई पेशा, व्यवसायकै रुपमा अंगाल्दै आएका छन्। दशकअघिसम्म पर्यटकीय गाउँ हेलम्बुको लेकाली क्षेत्रका बासिन्दाको मुख्य व्यवसाय चौरी पालन नै थियो। चरिचरण क्षेत्र, बाटोघाटोको अभाव र सुविधाभोग लगायतका कारण पछिल्लो समय चौरीपालक किसान घट्दै गएका छन्। गोठका लागि सोलार प्यानल, चरिचरण क्षेत्र बढाउन घाँस बीउ र बीमा कार्यक्रम अघि सारेर आकर्षण थप्ने प्रयास थालिएको प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए।

उनका अनुसार चौरीपालक किसानले एउटै गोठमा अझै ५० वटासम्म याक, गाइ र चौरी पालन गरिरहेका छन्। किसान चरिचण क्षेत्र खोज्दै घुम्ती गोठ सार्दै चार हजार पाँच सय मिटरसम्म पुग्ने गरेका छन्। किसान चौरीको बथानसाथ ६ महिना लेक र बाँकी समय तल्लो क्षेत्रमा बस्ने गरेको सुनाउँदै कोइरालाले भने, ‘गर्मी चढ्दा लेकतिर उँभो लाग्ने किसान चिसो सुरु हुन थालेपछि तलतिर झर्ने क्रम सुरु हुन्छ।’

गाउँपालिकाले चौरी प्रजनन्का लागि अनुदानमा सातवटा याक किसानलाई बितरण गरिसकेको छ। ‘अध्याँरोमा बस्तुभाउ हराउँदा खोज्न सकस हुन्थ्यो। रातको समयमा चौरी र मान्छे आफैँ बिरामी पर्दा समस्या थियो,’ सोलार प्यानल पाएपछि फुरुंग किसान पेम्बा शेर्पाले भने, ‘सोलार प्यानलले राहत दिने विश्वास गरेका छौँ।’ पुख्र्यौली पेसा अंगाल्दै आएका उनका गोठमा अहिले पनि २५ गाइ र १० चौरी, याक छन्।

गाउँपालिकाले चौरीसहित पशु, चौपायापालनमा आकर्षण थप्न बिमा कार्यक्रम अघि सारेको छ। गाउँपालिको पहलमा गत वर्षदेखि बिमा कार्यक्रम अघि सारेको थियो। बिमा कार्यक्रममा किसान आर्षित देखिएको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ। शाखाका अनुसार अहिलेसम्म भैँसी, गाइ, याक र चौरीसमेत सात सय पशु चौपायाको बिमा भएको छ। ७५ प्रतिशत सरकारी अनुदान रहने बिमा कार्यक्रमम किसानले २५ प्रतिशत रकम बेहोर्दै आएका छन्।

चार महिनाअघि ८० हजार रुपैयाँ मूल्य पर्ने भैँसी रोगले मरेपछि स्थानीय आइती लामा खिन्न थिइन्। तर बिमा गरेकाले उनी दुःखी भइरहनु परेन। एक हजार तीन सय ५० रुपैयाँ तिरेर भैँसी बिमा गरेकी उनले मंगलबारै गाउँपालिकाबाट ७२ हजार रुपैयाँको चेक पाइन्। ‘बेलैमा सोच, बिचार पु-याए पछुताउनु नपर्ने रहेछ,’ बिमा कार्यक्रम प्रभावकारी रहेको सुनाउँदै उनले नागरिक न्यूजसँग भनिन्।

प्रकाशित: ११ भाद्र २०७६ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App