७ वैशाख २०८१ शुक्रबार
समाज

धुमधामका साथ मनाइयो पञ्चदान पर्व

भक्तपुर– पाँंच वटा दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई बुधबार पञ्चदान पर्व मनाइएको छ। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान च-हे) का दिन यो पर्व मनाइन्छ।

काठमाडौं उपत्यकाका र आसपासका केही जिल्लाहरुमा मनाइने पञ्चदान पर्वमध्ये भक्तपुरमा मनाइने पर्वको छुट्टै विशेषता रहेका छन्। पर्वका क्रममा भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीमा पाँच वटा दीपंकर बुद्धलाई विहान भेला गराइएको थियो। त्यहाँंबाट दिनभर तीनलाई नगर परिक्रमा गराउने परम्परा छ।

यसअघि नगरका पाँंच छुटाछुटै स्थामा राखिएका दीपंकर बुद्धलाई सूर्यमढी ल्याई पुयाउने परम्परा छ। यस अनुसार विहानै प्रशन्नशील महाविहार क्वाठण्डौको मूलदीपंकर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवही पलिखेलको दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपंकर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याइपु-याइएको थियो।

सुर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु)द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइएको हो। नगरका विभिन्न टोल, चोकको ठाउँ–ठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष साँगीतिक बाजाको धुनमा नृत्य गराउने, स्त्रोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ। परम्परा अनुसार पाँंच वटा बुद्धलाई विहान सूर्यमढीबाट जेँंला, दतात्रय, क्वाठण्डौ, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइएको हो। त्यहाबाट पुन साकोथा, दरवार स्क्वायर, इटाछें, भक्तपुर मिनीबस पार्क ल्याइएको थियो।

साथै परम्परा अनुसार त्यहाँंबाट फेरि इटाछें, भार्वाचो, बंशगोपाल हुँदै अन्तिममा टौमढी पाँंचतल्ले मन्दिर पुयाइएको होे। दिनभरिमा टौमढी पुयाइएपछि साँंझ त्यहाँंबाट पुन यथास्थानमा ती बुद्धलाई लगिएको छ।

नगर परिक्रमा गर्ने क्रममा दसौं हजार नगरबासी सहभागी भएका थिए। उनीहरुले दान दिएका थिए। दीपंकर बुद्ध बोक्ने कार्यमा संलग्नहरुका अनुसार दानका रुपमा दैनिक उपभोग्य  वस्तु दान गर्ने परम्परा छ।धान, चामल, मकै, गेडागुडी लगायतका खाद्यान्न दान गर्ने परम्परा रहेको उनीहरुले सुनाए।

लोभ, लालच नराखी केही प्राप्त गर्ने मनसायले नभई शुद्ध मनले निस्वार्थ रुपमा दान गर्दा पुन्य प्राप्ती हुने विश्वासका साथ हजारौं नगरबासी दानमा सहभागी भएको पर्वका एक जना स्वयमसेवी काजी बज्राचार्यले जनाए।

प्रत्येक वर्ष बौद्ध धर्मालम्वी नेवारहरु ठूलो पर्व पंजदान अर्थात पञ्चदान साँस्कृतिक उत्सवका रुपमा मनाउँने गरिन्छ।भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व काठमाडौं, भक्तपुर, मध्यपुर थिमि, बनेपा,साँखु, पनौती लगायतका ठाउँमा मनाइन्छ। पाटनमा भने यो पर्व हरेक वर्ष श्रावणशुक्ल अष्टमीका दिन मनाइन्छ।

प्रकाशित: ११ भाद्र २०७६ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App