coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

(अ)सुरक्षित सडक

उसो त कुनै पनि किसिमको मरण पीडादायी नै हुन्छ। तैपनि कालगतिमा हुने मृत्युलाई स्वाभाविक मानेर चित्त पनि बुझाउन सकिन्छ तर सवारी दुर्घटनामा परेर हुने अकाल मृत्यु परिवारका निम्ति ज्यादै नै दुःखदायी हुन्छ। जीवनभर मुटुको घाउ बनेर बस्छ। नागरिकको अकाल मृत्यु राष्ट्रकै निम्ति पनि क्षति हो। काम गर्ने उमेरको एउटा व्यक्तिले परिवारको पालनपोषण मात्र गर्दैन, आफ्नो मुलुकका लागि पनि योगदान गरिरहेको हुन्छ। उसले पेसा÷व्यवसाय, बौद्धिक काम गरेर वा भारी बोकेर भए पनि देशको सेवा गर्छ, कर तिर्छ। असावधानीले सडकलाई मृत्युको कारक बनाइएको छ। घरको रोजीरोटी जुटाउने सदस्यको मृत्युले सिंगै परिवारलाई सहाराविहीन बनाएको छ। वास्तवमा सडकमा हुने दुर्घटनाबाट हुने यस्तो मृत्यु एउटा मौन चित्कारजस्तो बन्न पुगेको छ। सवारी दुर्घटना दैनिकजसो भइरहन्छन्। तर यसलाई नियमित आकस्मिकताका रूपमा ग्रहण गरिरहने हो भने निकास पाइँदैन। आज आफूलाई परेन, अर्कोलाई प¥यो भनेर ढुक्क हुनु पर्दैन। कुनै न कुनै दिन त्यसको सिकार हामी पनि हुँदैनौं भन्न सकिँदैन। बेलाबेला राजधानी काठमाडौं उपत्यकाभित्रै हुने दुर्घटनाका विषयमा चर्चा चल्छ। तर बिस्तारै त्यसलाई बिर्सिने गरेको देखिन्छ। यस्तो स्थिति देशभरका सडकमा छ। कतिपय राजमार्गलाई सर्वसाधारणले ‘मृत्युमार्ग’ समेत भन्न थालेका छन्। कर्णाली राजमार्गकै सन्दर्भमा भन्ने हो भने बेलैमा स्तरोन्नति नगर्दा त्यस क्षेत्रका नागरिकको सपनामा तुषारापात भएको छ।

राजधानी उपत्यकामा विकास÷निर्माणका निम्ति आवश्यक सामग्री ल्याउनुपर्ने अवस्था छ। तर यस्ता सामग्री ढुवानी गर्ने ज्यानमारा टिपरको आतंकबाट सबै जानकार छन्। टिपर आयो कि काल आयो भने जसरी हतारहतार छेउलाग्नु पर्ने अवस्था छ। यति गर्दागर्दै पनि त्यसका विकराल चक्कामुनि परेर साना सवारीसाधनमा यात्रा गर्नेहरूको इहलीला समाप्त भएको छ। प्रायः यस्ता गाडी चलाउने व्यक्तिहरूले सावधानी नअपनाएको पाइन्छ। तिनले बेहिसाब चलाएका सवारीसाधनले बेलाबेला सर्वसाधारणको ज्यान लिने गरेका छन्। तीव्र गतिमा आएको एउटा टिपरले गत आइतबार काठमाडौंको सिनामंगलमा ठूलो दुर्घटना गराएको छ। कार्गो कार्यालयनजिकै टिपरले अघिअघि गुडिरहेका मोटरसाइकल उछिन्ने क्रममा भएको दुर्घटनामा बा३८प २३९३ नम्बरको मोटरसाइकल सडकमा बजारिँदा साधन मात्र छियाछिया भएन, त्यसमा सवार व्यक्तिको मृत्युसमेत भयो। मानिस आफ्नो घर र अन्य गन्तव्यतिर गइरहेका हुन्छन्। सडकमा हुने मानवसिर्जित त्यस्ता भयानक विपत्ति टार्न नसकिने होइन तर त्यसका लागि सडक अनुशासन पहिलो सर्त हो। अहिले पनि सडकमा दोष ठूला सवारीसाधनलाई लगाइन्छ तर साना सवारीसाधनले गल्ती गरे पनि औंल्याउने चलन छैन। वास्तवमा हलुका, छिटो गुड्ने तथा गह्रौं सवारीसाधन, साइकल, मोटरसाइकल, पैदल यात्री सबैका निम्ति फरक–फरक बाटो छुट्याउने काम भएको छैन। लेन अनुशासन पालना गराउनेतर्फ प्रहरी, सडक उपभोक्ता आदिको समेत ध्यान पुग्न सकेको छैन। प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने चालकविरुद्ध जति सशक्त कारबाही गरिरहेको छ त्यति कडाइ सडक अनुशासनका अन्य क्षेत्रमा लागू गर्न सकेको छैन। हाम्रो प्रहरी सशक्त रूपमा लाग्ने हो भने यो सम्भव छ।

सिनामंगलमा आइतबार भएको भयानक दुर्घटनामा एक जनाको मृत्यु मात्र भएन, अन्य व्यक्तिसमेत घाइते भएका छन्। यो स्थिति हाम्रो सडकको नियमित आँकडा हो। व्यक्तिको मृत्युलाई केवल संख्यामा मात्र सीमित राखेर त्यसले सिर्जना गरेको सामाजिक तागतलाई बेवास्ता गर्ने हो भने समस्या समाधानको उपाय निस्किँदैन। वास्तवमा हाम्रो मुलुकले हरेक वर्ष सडक (दुर्घटना)मा गुमाएका व्यक्तिको संख्या हिसाब गर्ने हो भने ‘जनयुद्ध’को एक दशकमा मारिनेको संख्याभन्दा बढी छ। नेपाल प्रहरीको एक तथ्यांकअनुसार बर्सेनि करिब २ हजार मानिसको ज्यान सडकमा हुने दुर्घटनाबाट जाने गरेको छ। सन् २०१८ को फेबु्रअरीमा सार्वजनिक प्रहरीकै तथ्यांकअनुसार बितेका ५ वर्षमा सवारी दुर्घटनामा मृत्यु भएका मानिसको संख्या झन्डै ९ हजार छ। हाम्रो विकास र समृद्धिको मानक सडक हो। तर त्यसको प्रयोग सही रूपमा हुन नसक्दा यति धेरै मानिसको जीवन समाप्त भएको छ। सडकमा हुने यो मरण घटाउने गरी काम नगर्दा ठूलो मात्रमा देशको जनधन क्षति भइरहेको छ। मानिसलाई मृत्युबाट बचाउन विभिन्न औषधोपचार विकास भएका छन्। विभिन्न खोप दिइन्छ भने रोकथामतर्फ पनि उत्तिकै ध्यान दिने गरिएको छ। तर सडकमा हुने दुर्घटना र मृत्युका सन्दर्भमा कुनै ध्यान दिएको देखिँदैन। मापसे जाँचबाट दुर्घटना तथा मृत्यु टार्न निकै सहयोग पुगिरहेको छ। सडक अनुशासन कायम गराउँदा अहिलेको मरण संख्या पक्कै घटाउन सकिनेछ। यसर्थ त्यसतर्फ नेपाल प्रहरीको ध्यान समयमै जाओस्।

प्रकाशित: ११ भाद्र २०७६ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App