coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

साइबरले एक्ल्याएका युवाकाे कथा

बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको ‘गुम्फन’ नाटकको दृश्य। तस्बिरःनागरिक

काठमाडौं –
खुला आकाश... पर्खिदैछ, उडान हाम्रो हेर्न,
सानसित उड्न सक्छौं, कुँजो पंख अब छैन,
छेकिएको नदी हेर, आजाद भई बगेको
शीलासित ठक्कर खाँदै, बाटो खोज्दै हिँडेको
उडे फेरि आज, हल्का हल्का टाढा।

गायिका आस्था तामाङ मास्केले सन् २०१२ मा रिलिज गरेको ‘म एक सपना’ एल्बमको गीत स्टेजको ब्याकग्राउन्डमा गुञ्जियमान हुन्छ। अँध्यारो थिएटरमा माहोल मौन भइदिन्छ। गीतको भावसँग अभियन गरिरहेका कलाकारहरूको प्रस्तुतिले थिएटरमा नाटक हेर्न पुगेका दर्शक गीतको अर्थलाई जीवनसँग तुलना गरेर गम्भीर देखिन्छन्। यो दृश्य बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको ‘गुम्फन’ नामक नाटकको हो।

थिएटर भिलेजको प्रस्तुति रहेको सो नाटकको मुख्य पात्र एलिना (संगिता थापा) सँग निराश हुनुको कुनै कारण छैन्। तर, निराश महसुस हुन सँधै स्पष्ट कारण हुँदैन। किशोर अवस्थाकी उनी एक्ली र लजालु छिन्। जीवनको भागदौडको क्रममा मिल्ने साथीको एकाउन्ड प्रयोग गरेर जब उनी ‘द गार्डेन’ नामक वेबसाइटमा पुग्छिन्। ‘डार्क फ्लो’ एकाउन्टबाट उनी प्रभावित हुन्छिन्। वास्तविक जीवनको डार्क फ्लो (अभिषेक गैरे)को परिचय भिन्न हुन्छ। साइबरको दुनिँयामा रमाउने युवा पुस्ता व्यतिmगत जीवन, आफन्तसँगको सम्बन्ध र मानवताप्रति बेवास्ता गर्दा आउने समस्याको चित्रण नाटकले गरेको छ।

प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारसँगै सामाजिक सञ्जालले युवा पुस्ता व्यतिmगत जीवन, आफन्तसँगको सम्बन्ध र मानवताप्रति बेवास्ता गर्दै गएको अवस्थालाई नाटकको कथावस्तु बनाइएको छ। सामाजिक सञ्जालका कारण हरेक दिन डिप्रेसनबाट पीडित हुनेको संख्या बढ्दै गएको छ। साथीसँगीसँग निकट हुन, एक अर्काको भावना सट्टासाट गर्नमात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रुपमा पनि सामाजिक सञ्जालले महत्वपूर्ण  भूमिका खेलेका छ। लोकप्रियता बढेसँगै सामाजिक सञ्जालको दुरुपयोग र त्यसका गम्भीर परिणामहरू सार्वजनिक भइरहेका अवस्थामा यो नाटकमा समावेश गरिएको कथावस्तुले युवा अवस्थामा हुने डिप्रेसनको कुरा गरेको छ।

प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारसँगै सामाजिक सञ्जालले युवा पुस्ता व्यक्तिगत जीवन, आफन्तसँगको सम्बन्ध र मानवताप्रति बेवास्ता गर्दै गएको अवस्थालाई नाटकको कथावस्तु बनाइएको छ। सामाजिक सञ्जालका कारण हरेक दिन डिप्रेसनबाट पीडित हुनेको संख्या बढ्दैछ।

प्रायः वास्तविकता र कल्पनात्मक नाटकहरू लेख्ने लेखक एलिसा सालोको सन् २००७ मा लेखेको फिनिस नाटक ‘रयादेस्सवारा’ मा अनलाइनमा व्यस्त रहेका युवा पुस्ताहरूले जीवनको वास्तविक बुझ्नु जरुरी रहेको कथावस्तुलाई प्राथमिकता दिएकी थिइन्।  सो नाटकको नेली केइनानेन र लिया अब्सेसले अंगेजीमा गरेको अनुवाद ‘फलिङ’ लाई जिवेश रायमाझीले नेपालीमा अनुवाद गरेका थिए। यो नाटक अंग्रेजी, जर्मन र स्पेनिस भाषामा अनुवाद भइसकेको छ।

सामान्य लाग्ने अर्थपूर्ण संवादले नाटकको भावलाई गम्भीर रूपमा प्रस्तुत गरिदिएको छ। थिएटर भिलेजका प्रमुख विमल सुवेदीले सामाजिक सञ्जालभित्रको दुनिँया, घर, अस्पताल र स्कुलको कक्षाकोठाको स्वरूपअनुसार नाटकको मञ्च र प्रकाशको परिकल्पना गरेका छन्। सामाजिक दुनिँयाको रंगीन संसार देखाउन प्रकाशको प्रयोग नौलो तरिकाले गरिएको छ। अनलाइन संसारको वास्तविकसँगै डिप्रेसनका कारण युवा पुस्ताको अवस्था नाजुक हुँदै गएको अवस्थामाथि बहस गर्न नाटकले बारम्बार आग्रह गरिरहेको छ।

यसअघि थिएटर भिलेजले ‘चारुमती’, ‘सान्दाजुको महाभारत’, ‘सिंहदरबारको टेन्डर’, ‘मालिनी’, ‘ह्यामलेट’ र ‘यार्मा’ लगायत नाटक मञ्चन गरिसकेको छ।  निर्देशक दिलिप रानाभाटले ‘गुम्फन’ नाटकलाई निर्देशन गरेका छन्। ‘राजनैतिक कथावस्तुलाई प्राथमिकता दिएर तयार भएको नाटकहरू तुलनात्मक रूपमा धेरै भइरहेको अवस्थामा युवा पुुस्ताको सामाजिक सञ्जालप्रतिको लतमाथि नाटक मञ्चन गरिरहेका छौं। सामाजिक सञ्जालमा व्यस्त युवाहरूलाई लक्षित गरेर नाटक तयार भएको हो,’ उनी भन्छन्। यसअघि उनले ‘सिंहदरबारको टेन्डर’ र ‘झिमिक झिमिक झ्याप्प’ नाटक निर्देशन गरिसकेका थिए।

नाटकको मञ्च तथा प्रकाशको परिकल्पना बिमल सुवेदी, गीत आस्था तामाङ मास्के र कोरियोग्राफी चक्र पुलामीले गरेका थिए। नाटकमा अद्धवेत अकेला, अभिषेक गैरे, आयुष्ना गिरी, इष्टु कार्की, एचके अधिकारी, गुगल लामा, पिबिएस रिदम सुनुवार, प्रमोद खड्का, बिजेश गौतम, मदन सुवेदी र संगिता थापाले अभिनय गरेका छन्।। नाटक आगामी भदौ २९ सम्म मञ्चन हुनेछ।

प्रकाशित: ११ भाद्र २०७६ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App