८ वैशाख २०८१ शनिबार
समाज

चेली छाडेर मिर्गौला व्यापारमा

झापा-कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन्। विपन्नलाई एकै पटकमा धेरै पैसा कमाइने र स्वास्थ्य पनि नबिग्रिने भन्दै लोभ्याएर मिर्गौला व्यापारमा तस्करहरू सक्रिय रहेको तथ्य खुलेको छ तस्करले काँकडभिट्टा हुँदै नेपालीलाई विभिन्न भारतीय अस्पताल पुर्याई मिर्गौला झिकेर बेच्ने जानकार बताउँछन् । महिना दिनअघि मात्रै माइती नेपालले नाकामै उद्धार गरेका चार महिलाले बयान दिने क्रममा आफूहरू मिर्गौला बेच्न भारत हिँडेको बताएका थिए । कमजोर आर्थिक अवस्थाका महिला–पुरुषलाई एकमुष्ट धेरै पैसा कमाई हुने लोभ देखाएर तस्करले मिर्गौला बेच्न लगाउँछन् ।
माइती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेका अनुसार उनीहरूलाई मृर्गौला बेचेपछि एकमुष्ट पैसा हात लाग्ने र स्वास्थ्य पनि केही नहुनेमा दलालहरूले आश्वस्त पारेका हुन्छन् । ‘सिन्धुपाल्चोकका ती चार महिला किड्नी बेच्ने अनि पैसा लिएर घर फर्कने सुरले आएका रहेछन्’, घिमिरेले भने, ‘मिर्गौला जति निकाल्यो उत्ति पलाउँछ भन्थे । हामीले त्यो गलत कुरा हो भनेर सम्झाउँदा पनि पत्याएनन् ।’ पछि चिकित्सकसँग लगेर परामर्श दिएपछि बल्ल आश्वस्त भएको घिमिरेले बताए । तर दलाल भारतीय भूमिमै भएका कारण पक्राउ गर्न सकिएको छैन ।
लगभग ६ महिनाअघि मात्रै रातमाटे–३, मेलेचोक, नुवाकोटका ४३ वर्षीय कृष्णबहादुर दमाईंको साथ लागेर सिन्धुपाल्चोककै दुई महिला काँकडभिट्टा आएका थिए । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले पनि हाकाहाकी ‘हामी मृर्गौला बेच्न भारत हिँडेका हौं ’ भने । काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीका अनुसार दुईमध्ये एकले पतिसँग सम्बन्धविच्छेद गरेकी थिइन् भने अर्कीका पतिको मृत्यु भएको थियो । उनीहरूले ऋण तिर्न मिर्गौला बेच्न हिँडेको बयान दिएका थिए । ‘गरिब र निरक्षर ती महिलालाई भारतको सालुगढामा लगेर मिर्गौला बेच्ने र साढे तीन लाख भारु दिने सर्तमा लैजान लागिएको रहेछ’, अधिकारीले भने, ‘त्यसको ५० हजार भारु दलालले खाने र बाँकी उनीहरूलाई दिने सहमति रहेछ ।’ उनीहरूलाई लोभ्याएर भारत पु¥याउन लागेका कृष्णबहादुर झापा कारागारमा सजाय भोगिरहेका छन् । ती महिलालाई माइती नेपालले आफन्तको जिम्मा लगाएर घर पठाइदिएको थियो ।
केही वर्ष अघिसम्म मानव तस्करले यौन बजारमा बेच्न महिला ओसारपसार गर्ने विश्वास गरिन्थ्यो । प्रहरी होस् वा बेचविखनविरुद्ध सक्रिय संस्था सबै यही सोच्थे । ‘तर, पछिल्ला केही घटनाले अब मिर्गौला झिक्न पनि तस्करले मानव ओसारपसार गर्दा रहेछन् भन्ने देखिएको छ’, अधिकारीले भने ।
बुधबार बिहान नौ बजे झरीका बीच पनि काँकडभिट्टा नाकाको मुख्य गेटमा आवागमन बाक्लै थियो । एकाएक ब्यागको भारी बोकेका महिला देखा परे । उनीहरू भारतीय बजार पानीट्यांकीतिर जान रिक्सा खोज्दै थिए । कोही रिक्सामा चढिसकेका थिए । कोही साथी पर्खंदै थिए । प्रहरीको आँखा महिलाको त्यो हुलमा परिहाल्यो ।
 नाकामा परिचालित प्रहरी तथा माइती नेपालको टोलीले जान्न खोज्दा सबै  झर्किए । ‘पारी हिँडेको, किन चाहियो’ भन्दै उनीहरू फन्किएपछि प्रहरीले रोक्यो । ती महिलाका अरु साथी पनि आइपुगे । सबैले काममा हिँडेकाले  नरोक्न अनुनय गरे । प्रहरी टोलीले ‘काम’ बारे थप जान्न खोज्दा कसैले पनि एउटै उत्तर दिएनन् । एउटै समूहका सबैको फरकफरक जवाफ सुनेपछि प्रहरीले रोकेर थप केरकार ग¥यो । समूहमा रहेका १० जनालाई सोधपुछ गर्दा कारण खुल्यो– उनीहरू आफूले नचिनेका मान्छेले भनेको भरमा भारत जाँदै रहेछन्।
‘भारत लैजाने मान्छे को हो, कसैलाई थाहा छैन, काम के हो पनि थाहा छैन’, डिएसपी अधिकारीले भने, ‘त्यसैले रोकेका छौं ।’ अधिकारीका अनुसार उनीहरूले सिन्धुपाल्चोक, धादिङ, मकवानपुरतिर घर बताएका छन् । सबै जनाले प्रहरीलाई आफूलाई लैजाने मान्छेले पानीट्यांकीमा भेट्ने भनेको बताए ।
अधिकारीले थपे, ‘यसरी भारततिर जाने अधिकांश महिला मानव तस्करको फन्दामा पर्छन् । गएर विभिन्न यातनासहित अनिच्छित काममा खटिनुपर्ने, बेचिनुपर्छ । कतिपयको मिर्गौला झिकिने जोखिम पनि हुन्छ । त्यही भएर हामी शंकास्पदलाई नाकामा रोक्छौं । अभिभावक बोलाएर जिम्मा लगाउँछौं ।’
बुधबार बिहानको जस्तो घटना यो नाकामा नियमित हुन्छ । थाहै नपाई दलालको साथ लाग्ने र कुरै नबुझी कमाइको लोभमा घर छाडेर हिँड्नेको संख्या उच्च छ । प्रहरीका अनुसार भारतीय बजारतिर जान खोज्ने दिनहुँ दर्जनको संख्यामा नाकामा रोकिन्छन् । धेरैजसो तस्करको फन्दामा परेर यहाँसम्म आइपुगेको खुलेको उनले बताए ।
यताबाट लगिने महिलासँगै नहुने ती तस्कर प्रहरी नियन्त्रणमा हम्मेसी आउँदैनन् । मानव तस्करीविरुद्ध लामो समयदेखि सक्रिय माइती नेपालका पूर्वाञ्चल प्रमुख घिमिरेका अनुसार डरलाग्दो बेरोजगारीले सिर्जना गरेको निराशा, पारिवारिक बेमेल, सानै उमेरमा पैसा कमाउने महत्वाकांक्षा, मानव तस्कर को प्रलोभन तथा पढाइमा सफलता हात नपर्दा अधिकांश महिला तथा  बालबालिका घर छाडेर हिँड्छन् । जब उनीहरू भारतीय बजार पुग्छन्, कोही घरेलु कामदारका रुपमा बेचिन्छन्, कोही यौन बजारमा बिक्री हुन्छन्, कसैलाई अवैध रुपमा खाडी मुलुकसम्म पु¥याइन्छ । उनका अनुसार पछिल्लो समयमा मानव तस्कर मिर्गौला व्यापारमा पल्किएको तथ्य फेला परेपछि समस्या भयावह देखिएको छ ।
सन् २०१६ को जनवरीदेखि अप्रिलसम्म माइती नेपालले मात्रै १ सय ५२ महिला र बालबालिकालाई नाकाबाट उद्धार गरेर परिवारको जिम्मा लगाएको छ । माइती नेपाल जस्तै साना हात नेपाललगायत आधा दर्जन संस्था नाकामा सक्रिय छन् । उनीहरूले पनि प्रहरीसँगको सहकार्यमा माइती नेपालकै हाराहारीमा उद्धार गरेका छन् ।

 

प्रकाशित: १५ असार २०७३ ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App