coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डेंगीबारे छलफल र अनुगमन धेरै, उपलब्धि शून्य

धरान उपमहानगरपालिकामा मंगलबार डेंगीबारे छलफल गर्दै स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार डा. केके राई (बीचमा)।

धरान - करिब चार महिनादेखि धरानमा महामारीको रुपमा फैलिएको डेंगी रोग नियन्त्रण हुन सकेको छैन। महामारी नियन्त्रणका लागि आफ्नो क्षमता नभएको भन्दै स्थानीय सरकार (धरान उपमहानगरपालिका) ले आर्थिक, प्राविधिक, जनशक्तिलगायत सहयोग गर्न संघीय सरकारलाई पत्राचार गरेको दुई साता बितिसक्यो। स्वास्थ्य मन्त्रालयबाट राज्यमन्त्री, सचिवलगायत उच्च अधिकारीहरुको टोली धरान आउने र छलफल गरेर फर्कने क्रम जारी छ। तर महामारी नियन्त्रणका लागि आवश्यक सहयोग भने उपमहानगरले पाउन सकेको छैन।

छलफल, अनुगमन र सर्भे गर्न आउनेबाहेक संघीय र प्रदेश सरकारबाट महामारी नियन्त्रणका लागि ठोस सहयोग आएको छैन। डेंगी नियन्त्रणबाहिर गएपछि राज्यमन्त्री डा. सरोजकुमार यादव, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी, सरुवा रोग तथरी नियन्त्रण महाशाखाका अधिकारीहरुको टोली धरान आएर फर्किएको थियो। विश्व स्वास्थ्य संगठनका प्रतिनिधि पनि धरान आएका थिए। तर उनीहरुले बिरामीको तथ्यांक लिनेबाहेक कुनै भूमिका खेलेनन्। मंगलबार पनि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका प्रमुख सल्लाहकार डा. केके राईसहितको टोली धरान आएको थियो। उनले पनि बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका पदाधिकारी र चिकित्सकसँग छलफल गरे, उपमहानगरपालिकामा पनि छलफल गरे। उपमहानगरमा भएको छलफलमा डेंगी नियन्त्रणका लागि ठोस योजना तथा रणनीतिबिना नै आएको भन्दै उक्त टोलीको आलोचनासमेत भएको थियो।

स्वास्थ्य मन्त्रालयबाट राज्यमन्त्री, सचिवलगायत उच्च अधिकारीहरुको टोली धरान आउने र छलफल गरेर फर्कने क्रम जारी छ। तर उपमहानगरले महामारी नियन्त्रणका लागि आवश्यक सहयोग पाउन सकेको छैन।

उपमहानगरपालिकाले साउन २८ गते स्वास्थ्य मन्त्रालयमा आर्थिक, प्राविधिक तथा जनशक्ति सहयोग गर्न आग्रह गर्दै पत्राचार गरेको थियो। निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलका अनुसार छलफल, अनुगमन र सर्भे गर्नेहरु धेरै आए पनि आवश्यक सहयोग भने कतैबाट मिलेको छैन। ‘हामीले धेरै भाषणमात्र ग¥यौं, सर्भे गर्नेहरु धेरै आए तर आर्थिक, प्राविधिक सहयोग कतैबाट भएन,’ उनले छलफलमा भने, ‘हामीसँग निरन्तर बिपी प्रतिष्ठानका चिकित्सकको टिममात्र छ, अरु कतैबाट सहयोग पाएनौं।’

प्रमुख प्रशासकीय अधिकृत पोखरेलले मात्र होइन, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बूले पनि डेंगी नियन्त्रणको ठोस एवं नयाँ रणनीतिक योजनाबिना मन्त्रालयको टोली आएको भन्दै आलोचना गरे। ‘डेंगीको महामारी नियन्त्रणमा आउन सकेको छैन, मन्त्रालयको टोली आउँदा केही नयाँ रणनीति वा योजनासँग पो आएको हो कि भन्ने थियो,’ उनले भने, ‘तर कुनै योजनाबिना आएको रहेछ, यो त अनुगमन र छलफलको नाममा बजेट सक्न आएजस्तै भयो।’ संघीय सरकारको जिम्मेवार व्यक्ति कुनै योजनाबिना आउदा दुःख लागेको उनले बताए।

यसअघि प्रदेश सरकारले पनि डेंगी नियन्त्रणका लागि ८० लाख छुट्याएको घोषणा गरेको थियो। तर त्यो बजेटबाट प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत ४५ लाख भेन्टिलेटर खरीद गर्न बिपी प्रतिष्ठानलाई दिएको र पाँच लाख रुपैयाँ झापा, मोरङ, सुनसरीका जिल्ला स्वास्थ्य कार्यालयलाई डेंगी नियन्त्रणमा लागि दिएको बताइएको छ। ‘डेंगीका लागि ८० लाख प्रदेश सरकारले दियो भन्ने हल्ला धेरै भयो तर त्यो बजेट सीधै उपमहानगरमा आउँदैन र हामीले खर्च गर्न पनि पाउँदैनौं,’ उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख रामबाबु यादवले भने, ‘हामीले बजेट पाएकै छैनौं, त्यत्रो बजेट दिएको के भयो भनेर धेरै आलोचना पायौं।’

छलफलका क्रममा डा. राईले डेंगी नियन्त्रणका लागि सर्च एन्ड डिस्ट्रोय अभियान नै प्रभावकारी भएको भन्दै घरघरमा सफाइ अभियान चलाउन सुझाव दिए। उनले दिएको यो सुझाव उपमहानगरले लागू गरिसकेको थियो। तर पनि डेंगु नियन्त्रणमा आउन सकेन। पछिल्लो समय यो अभियान पनि ठप्प छ।

बिपी प्रतिष्ठानका चिकित्सक एवं ¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजय खनालले जनचेतना जगाउँदै सर्च एन्ड डिस्ट्रोय अभियान चलाएर हरसम्भव प्रयास गरे पनि डेंगी नियन्त्रणमा ल्याउन नसकिएको बताए। ‘सर्च एन्ड डिस्ट्रोय अभियान व्यापकरुपमा चलेकै हो, घरघरमा पानी पोखाउन सिकाएकै हो तर एकदुई दिन अभियानमा हिँड्ने र बिस्तारै हराउने चलन भयो,’ डा. खनालले भने, ‘हरेक घरमा पुगेर त हामीले लार्भा हेर्ने र पानी पोखाउने काम गर्न सक्दैनौं। सबैले आफ्नो घरमा गरिदिए हुन्थ्यो, तर त्यसो पनि गर्दैनौं।’

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्राध्यापक प्रिन्स सुब्बाले डेंगी नियन्त्रण गर्न फगिङ र सर्च एन्ड डिस्ट्रोय अभियानमा मात्र केन्द्रित हँुदा नियन्त्रणमा नआएको धारणा राखे। उनले लिथो तथा ओभी ट्र्यापलगायतका उपाय पनि सँगसँगै अपनाउनुपर्ने सुझाव दिए। धरान उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले एकीकृतरुपमा काम नहुँदा डेंगी नियन्त्रणमा आउन नसकेको बताए। धरानमा ४ हजार हाराहारीमा डेंगी बिरामी भएको सरकारी तथ्यांक भए पनि वास्तविकता योभन्दा दोब्बर भएको अनुमान छ।

प्रकाशित: ११ भाद्र २०७६ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App