८ वैशाख २०८१ शनिबार
राजनीति

केन्द्रीय समितिपछि नेविसंघमा नयाँ नेतृत्व

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व पार्टीको केन्द्रीय समिति बैठकलगत्तै तोक्ने तयारी गरेको छ। गत माघदेखि नेतृत्वविहीन रहेको संघको केन्द्रीय नेतृत्व तोक्ने अधिकार सभापति शेरबहादुर देउवालाई पार्टी केन्द्रीय समितिले दिएपनि जारी बैठक नसकिँदै नेतृत्व तोक्दा विवाद बढ्ने आँकलनपछि बैठकपछि नेतृत्व तोक्न लागिएको हो।

असार तेस्रो साता देखि एक दर्जनभन्दा बढी अजेन्डामाथि छलफलमा रहेको कांग्रेसको बैठक बुधबार पुनः बस्दैछ। पार्टीको १४ औं महाधिवेशन र अन्तरिम संरचना गठनसहितका मुख्य अजेन्डामाथिको छलफल सकेको कांग्रेसले बुधबारदेखि बस्ने बैठकले अन्य विषयमा पनि निष्कर्षमा पुग्नेछ। बैठकले पहिलो चरणमा सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान र केन्द्रीय प्रतिनिधिको प्रतिवेदनका साथै दोस्रो चरणको अभियानको खाका तय गर्नेछ।

कार्यकाल सकिएको लामो समय हुँदा पनि महाधिवेशन गर्न नसकेका तथा समय भएका दर्जन भ्रातृ तथा शुभेच्छुक संगठनका विषयमा पनि पार्टी केन्द्रीय समिति निर्णयमा पुग्नेछ। विवादीत रहेका विदेश स्थीति जनसम्पर्क समितिहरुका विषयमा पनि बैठकले निर्णय लिने एक नेताले जानकारी दिए।

त्यस्तै, प्रतिनिधि र प्रदेशसभा निर्वाचन अघि पार्टीमा विलय भएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहितका राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाँकी रहेको समायोजनमा काममा पनि बैठक ठोस निष्कर्षमा पुग्ने नेताहरूले जनाएका छन्।

त्यसलगत्तै सभापति देउवाले पार्टी नेता रामचन्द्र पौडेलसहितका नेताहरुसँग परामर्श गरेर छ महिनाभित्र १२औं महाधिवेशन गर्नेगरी नयाँ कार्यसमिति तोक्ने तयारीमा छन्। संघको १२औं महाधिवेशन देखि ३२ वर्षे उमेर हद तोकेको कांग्रेसमा महाधिवेशन आयोजक समिति समिति ३२ वर्षभित्रबाट गठन गर्ने कि बाहिरबाट भन्ने विवाद छ।

संघको नेतृत्वका लागि संस्थापन पक्षबाट ऋषिकेश शाह, सरोज थापा र प्रेमराज जोशीसहितका नेताहरु सक्रिय छन् भने नेता रामचन्द्र पौडेल समूह पक्षबाट मनोजमणि आचार्य, लिलाबल्लभ दाहाल, दिपक भट्टराईसहितका नेताहरु पनि लागि परेका छन्। थपिएको समयमा पनि नैनसिंह महर नेतृत्वको केन्द्रीय समितिले १२औं महाधिवेशन गराउन नसकेपछि माघ २ गते देखि नेविसंघ नेतृत्वविहीन छ। कांग्रेसका अन्य प्रमुख भ्रातृ संगठनहरू नेपाल तरुण दल, महिला संघसहितका हालत पनि उस्तै छ।

यसैबीच, कांग्रेसले भदौको तेस्रो साता प्रदेश नम्बर तीनका पार्टी महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। प्रदेश तीनमा दुई चरणमा प्रशिक्षण दिने तयारी गरेको कांग्रेसले काठमाडौं उपत्यसका तीन जिल्लासहित छ जिल्लाका महाधिवेशन प्रतिनिधिलाई भदौ २० र २१ गते भक्तपुरमा प्रशिक्षण दिन लागेको हो। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कांग्रेसले पार्टी सबै महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्दै आएको छ। कर्णाली, गण्डकीका साथै प्रदेश ५ को प्रशिक्षण सकेको उसले भदौ २० र २१ गते प्रदेश नम्बर सातको प्रशिक्षण कञ्चनपुरमा दिने तयारी गरेको थियो। तर, त्यस जिल्लाका नेता एबं केन्द्रीय सदस्य रमेश लेखकलाई पितृ शोक परेपछि कांग्रेसले सोही मितिमा भक्तपुरमा प्रशिक्षण सञ्चालन गर्न लागेको छ।

प्रकाशित: ११ भाद्र २०७६ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App