८ वैशाख २०८१ शनिबार
समाज

सिनामंगल टिपर दुर्घटना : अर्काको गल्तीले ठूलो क्षति

काठमाडौं - काठमाडौंको चावहिलमा बस्ने ओखलढुंगाका पुछाङ भोटेले १० वर्षयता घर बनाउने र रङ पोत्ने काम गर्दै आएका थिए। सोमबार उनी सधैंजस्तै लुँभुमा घर निर्माणको काम गरेर डेरातर्फ लाग्दै थिए। घर फिनिसिङको काम अन्तिम चरणमा पुगेकाले त्यो दिन डेरा फर्कन अलि ढिलो भएको थियो उनलाई। उनीसँगै उनका भान्जा घाङ्दुक भोटे पनि घरमा रङ पोत्ने काम गर्दै आएका थिए। प्रायः मामा भान्जा सँगै डेरा फर्कन्थे। सोमबार पनि मामाभान्जा त्यसैगरी डेरा फर्कंदै थिए। लुँभुबाट डेरातर्फ लाग्दा साढे सात बजेको थियो।

रातिको समय सडक खाली हुने भए पनि मालबाहक र ठूला टिपर हुकिँरहेको देख्दा पुछाङ डर मान्दथे। कोटेश्वरमा पुग्दा चालक पुछाङले भान्जा घाङ्दुकलाई भनेका थिए, ‘यतिबेला हिँड्दा सबैभन्दा डर हुने टिपरकै हो।’ त्यसकारण पनि उनी बाइक बिस्तारै हाँकिरहेका थिए। तर कोटेश्वरबाट एक किमी पार नगर्दै पुछाङको काल नै त्यही टिपर भइदियो। टिपरको अनियन्त्रित गतिका कारण सिनामंगलमा उनी गम्भीर दुर्घटना परे।

आफूले गल्ती नगर्दा पनि टिपरका कारण पुछाङको जीवन चुँडियोे। टिपरले पछाडिबाट उछिनेपछि उनको शरीर क्षतविक्षत भयो। भाग्यले उनको पछाडि बसेका घाङ्दुक भोटे भने बाँच्न सफल भए। उनी अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलजेमा उपचाररत छन्। ‘मामाले बाइक बिस्तारै हाँक्नुभएको थियो। सिनामंगलको उकालो सकिएपछि अचानक सामुन्न टिपर प¥यो,’ घाङ्दुकले भने, ‘मामाले कोटेश्वरमा पुग्दा टिपरदेखि सचेत हुनपर्छ भनेर भन्दै आउनु भएको थियो नभन्दै केही समयमै टिपर नै काल भयो।’

सिनामंगलमा आइतबार टिपर दुर्घटनामा परेका घाङ्दुक भोटे। उनी सिनामंगलस्थित केएमसीमा उपचाररत छन्।

बा२ख ४३१७ नम्बरको टिपरले गराएको दुर्घटनाका पात्र पुछाङ मात्रै होइनन् विपरीत दिशाबाट आउँदै गरेको बा८५प ५६९ र ना४३प ८ नम्बरको दुईवटा मोटरसाइकल सडकमा बजारिए। ती दुई बाइकमा प्रवीण धिताल, निरन्जन कार्की, सिसम वाग्ले र प्रमोद धिताल थिए। उनीहरु अस्टे«लिया जाँदै गरको सिसमको भाइ सुलभ वाग्लेलाई बिदाई गरेर फर्कंदै थिए। एयरपोर्टबाट निस्किएको ५ मिनेट नबित्दै सिसम वाग्लेसहित वाइकमा सवार चार जनाले ठूलो दुर्भाग्य बेहोरे। प्रमोद र प्रवीण गम्भीर घाइते छन्। दुवैलाई केएमसीको आइसीयुमा राखिएको छ। प्रमोदका आफन्त सुसान्त आचार्यले अघिल्लो बाइकलाई ठक्कर दिएको टिपरले ब्याक गरेर अन्य घाइतेलाई किच्न खोजेको बताए। ‘हामी दुर्घटनास्थलमा थियौं। टिपर चालकले अघिल्लो बाइकलाई उधिनेपछि पछिल्ला बाइकमा सवारलाई निशाना बनाएका थिए,’ उनले भने, ‘घाइतेहरु उठेर सडक किनार लागेपछि बाँच्न सफल भए।’ गम्भीर घाइते दुवैजनाको टाउको र गोडामा गम्भीर चोट लागेको छ।

महाशाखाको तथ्यांकअनुसार गत वर्ष र यस वर्षगरी उपत्यकामा ३० भन्दा बढीले टिपर दुर्घटनामा ज्यान गुमाइसकेका छन्। ट्रिपर र मिनी ट्रक दुर्घटनाको मुख्य कारक भएको ट्राफिक प्रहरीको भनाइ छ। दुर्घटनालाई रोक्न गत वर्ष साउनमा जाने र आउने ४ लेनको सडकमा लेफ्ट लेनबाट मालबाहक सवारी साधन ट्रक, टिपरहरु, ग्रेडर, ट्यांकर, तौल बढी बोकेको भाडाका सवारीहरु गुड्ने व्यवस्था गरेको थियो। त्यस्तै, काभ्रेबाट गिटी बालुवा अन्य सामान बोकेर आउने ट्रिपर राती ८ बजेभन्दा अघि जगाती र सूर्यविनायकबाट यता छिर्न नदिने व्यवस्था गरेको थियो।

ललितपुरका पूर्वट्राफिक इन्चार्ज सीताराम हाछेंथुल टिपरको चक्काको माथि खाली भागको बनावट (ग्राउन्ड लेभल) ग्राउण्ड लेभल ४ फिट भएकाले चालकले अगाडि नदेख्दा दुर्घटना भइरहेको बताए। उनले नियमअनुसार एकफिट मात्रै हुनुपर्ने बताए। ‘टिपरबाट हुने दुर्घटना रोक्नका लागि टिपरको डिजाइन नै सुधार गर्न आवश्यक छ,’ उनले भने, ‘तर सरकारले यसलाई सामान्य सम्झिरहेको छ। यो दुःखको कुरा हो।’ महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले टिपर चालक सनम तामाङ र चारवटै सवारीलाई महानगरीय प्रहरी वृत गौशालाले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बजताए। अनुसन्धानमा चालकको गम्भीर लापरबाही भएको पुष्टि भएमा ज्यान मार्ने मुद्दाअनुसार कारबाही हुने बताए। ‘साना सवारीलाई ठूला सवारीले हेप्छन्। उपत्यकामा मालवहाक ट्रिपरले दुर्घटना बढाइरहेको छ। यसमा प्रहरीले मात्रै सोचेर वा योजना बनाएर मात्रै हुँदैन। सरकारले यसबारेमा गम्भीर चासो दिनुपर्छ,’ उनले भने।
‘ब्याक गरेर किच्न खोज्यो’

शुसान्त आचार्य, प्रत्यक्षदर्शी
घटनास्थल तीनकुने–ऐयरपोर्ट सडकमा हामी हिँडिरहेका थियौं। अचानक सिनामंगल पुग्दा आफन्त नै दुर्घटनामा परेको दृश्य देख्यौं। त्यहाँ टिपर अनियन्त्रित गतिमा थियो। हामीले हेरिरहँँदा अघिल्लो बाइकलाई ठक्कर दियो। नजिकका मोटरसाइकल सडकभरी लडे। त्यसपछि घाइतेलाई पनि चालकले ब्याक गरेर किच्न खोजे। हामीले चिच्याउन थालेपछि चालक हतार हतार ओलिएर सिनामंगलको पार्कतर्फ भागे। हामीले सडकमा लडेका घाइतेहरुलाई उठायौं।

टिपरको आवाज चट्याङ परेजस्तै आयो
घाइते, घाङ्दुक भोटे

म मोटरसाइकलको पछाडि बसेको थिएँ। राति आठ बजिसकेको सिनामंगल चोक नजिकैको सडक खाली थियो। बाइकको गति पनि तीव्र थिएन। सिनामंगल साइटमा पुग्दा एक्कासी टिपर हाम्रो सामुन्ने देखा प¥यो। मलाई चट्याङ परेजस्तै महसुस भयो। म चालक मामाको ढाडको ओत लागे। त्यसपछि मैले होस पाइनँ। केही समयपछि सुतेर ब्युझिएको महसुस भयो। वरिपरि मानिसले घेरेको देखें। म बसेको बाइकका चालक मेरो मामा पुछाङ भोटेको शरीर छियाँछियाँ भएको देखेँ। त्यसपछि मलाई बल्ल दुर्घटना भएछ भन्ने थाहा भयो। प्रहरीले हामीलाई हतार हतार ट्याक्सीमा राखेर काठमाडौं मेडिकल कलेजमा लग्यो।

प्रकाशित: ११ भाद्र २०७६ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App