८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरेको छ। 

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा गृहमन्त्री राम बहादुर थापाले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो। यसअघि विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरुले विधेयक नआउँदै परिचयपत्र बाँड्ने काम भएको भन्दै सरकारको कार्यशैलीले संसदको अपमान गरेको भन्दै आक्रोश पोखेका थिए।

सांसद अतहर कमाल मुसलमानले विधेयक नै नल्याईकन राष्ट्रिय परिचयपत्र वितरण भईसकेको भन्दै यसप्रति सदन गम्भीर हुनुपर्ने धारणा राखे। 

विधेयकहरुमा मन्त्रालयको शाखाले पछि निर्धारण गरे अनुसार हुनेछ भनेर राख्ने गरिएको भन्दै उनले त्यस किसिमको व्यवस्थाप्रति पनि आपत्ति जनाए। यो व्यवस्थाले मन्त्रालयभित्र लगेर सदनलाई बन्दगी राख्ने काम भएको भन्दै यो प्रावधान हटाउनुपर्नेमा जोड दिए।

सांसद भरत कुमार शाहले विधेयक आउनु पूर्व राष्ट्रिय परिचयपत्र वितरणको आधार बारे प्रश्न गरे। विधेयक आउनु पूर्व वितरण गरिएको राष्ट्रिय परिचयपत्र संशोधन गर्नुपर्ने अवस्था आए त्यसको जिम्मेवारी कसले लिने भनी प्रश्न गरे।

सांसद प्रेम सुवालले विधेयक पारित नहुँदै राष्ट्रिय परिचय पत्र वितरण गर्नु र त्यसैलाई विधेयकले समर्थन गर्नुले संसदको अवहेलना भएको धारणा राखे।

सांसद रामकुमारी झाँक्रीले राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने जानकारीको एकीकृत सुचना संकलनको काम नहुँदै परिचयपत्र वितरणको काम सुरु गरिएको भन्दै सरकारको कार्यशैलीको आलोचना गरिन्। विधेयक नै नआउँदै १५ वटा जिल्लामा परिचयपत्र वितरणको काम सुरु हुनु तथा तथा कार्ड छाप्ने काम गरि सरकारले हतारमा काम गरेको टिप्पणी गरे।

सांसद उमाशंकर अरगरियाले नागरिकता विधेयक संसदीय समितिमा रहेको १ बर्ष भइसक्दा पनि त्यो विधेयकलाई अन्तिम रुप नदिई यो विधेयक ल्याएको भन्दै आपत्ति जनाए। उनले नागरिकता विधेयक कता हरायो भनी प्रश्न गरे।

प्रकाशित: १० भाद्र २०७६ १५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App