coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सभामुखले भिडियोबाटै संसद चलाए के हुन्छ?

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघिको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देशबाहिर रहेका बेला भिडियो कन्फ्रेन्समार्फत बैठक बस्नसक्ने गरी मन्त्रिपरिषद बैठक सम्बन्धी कार्यविधि संशोधनको निर्णय गरेको थियो। साेही अनुसार साेमबार पहिलाेपटक सिंगापुरबाट प्रधानमन्त्रीकाे अध्यक्षतामा भिडियाे कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेकाे थियाे। 

उक्त निर्णय फिर्ता लिन कांग्रेसले माग गरेको हो। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रिपरिषद बैठक भिडियो कन्फ्रेन्समार्फत गर्ने निर्णय अनुचित भएको बताए। 

‘मन्त्रिपरिषदको सञ्चालन कार्याविधि ज्यादै नै गम्भीर विषय हो। प्रधानमन्त्री र मन्त्रीहरुले संशोधन गर्न पाउने अधिकार छ। तर दुरुपयोग गर्न पाउँदैन’, उनले भने, ‘भिडियो कन्फ्रेन्स अनुचित छ। यसले सूचना चुहाउने खतरा छ। गोपनियताको सपथ खाने र अहिले गोपनियता लिक हुनेगरी भिडियो कन्फ्रेन्स गर्ने?’

प्रमुख सचेतक खाँडले प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै मन्त्रिपरिषद बैठक सम्बन्धी कार्यविधि संशोधन अविलम्ब संशोधन गरेर पूर्ववत स्थानमा लग्न माग गरे। ‘कार्यबाहक प्रधानमन्त्री पनि तोकिएको छ। भिडियो कन्फ्रेन्स हेर्दागेरी प्रधानमन्त्री सक्रिय छन्। यस्तो गम्भीर गल्ती गर्नु हुँदैन’, उनले भने। 

प्रमुख सचेतक खाँडले भिडियो कन्फ्रेन्स प्रविधिको दुरुपयोग भएको र यसको असर अन्य निकायमा पनि पर्नसक्ने खतरा औल्याए। उनले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीशले भिडियो कन्फ्रेन्समार्फत बैठक चलाए के हुन्छ भनेर प्रश्न गरे। 

‘प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्सबाट क्याविनेट बैठक सञ्चालन गर्न मिल्ने हो भने यदि सभामुख भोलि हुनुभएन भने प्रतिनिधिसभाको बैठक बस्न सक्छ? त्यस्तै राष्ट्रियसभाको अध्यक्ष पनि नहुनुहोला, हामीले कार्यविधि बदलिदिएर, नियमावलि बदलेर राष्ट्रियसभाको अध्यक्ष अमेरिका गएको बेलामा त्यहीँबाट भिडियो कन्फ्रेन्सको माध्यमबाट राष्ट्रियसभा चलाउन मिल्छ कि मिल्दैन?’ उनले प्रश्न गरे।  

खाँडले अगाडि थपे, ‘भोलि प्रधानन्यायाधीश बाहिर विदेश जानुहोला, उहाँले न्यायापालिकाको बैठक पनि भिडियो कन्फ्रेन्सकै माध्यमबाट गरिदिनुहोला। त्यसकारण यो विल्कुलै अस्वभाविक छ।’ 

भिडियो कन्फ्रेन्सलाई कांग्रेसले गम्भीरताका पूर्वक लिएको भन्दै यो जग हँसाउने काम भएको उनको भनाई छ। ‘परम्परा विग्रिन्छ, उच्च प्रविधिको सदुपयोग होइन दुरुपयोग हुन्छ, कृपा गरेर मन्त्रिपरिषदको बैठक हुँदैन। विधिको शासनका लागि कांग्रेस बोलेको हो’, उनले भने।  

डाक्टर र इन्जिनियर, व्यवसायीहरुले प्रयोग गर्ने भिडियो कन्फ्रेन्स मुलुकको अत्यन्त सम्वेदनशील मन्त्रिपरिषदको बैठक भिडियोमार्फत गर्नु आपत्तिजनक भएको उनको भनाई छ।

प्रकाशित: १० भाद्र २०७६ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App