४ वैशाख २०८१ मंगलबार
समाज

भोजपुरमा पनि भेटियो फौजिकिरा

भोजपुर- मकै खेतिका लागि निकै घातक मानिएको फौजी किराको प्रकोप भोजपुरमा देखिएको छ। भोजपुरमा पहिलोपटक फौजी किराको प्रकोप देखिएको हो। फौजी किराले मकैबाली सखाप पार्न थालेपछि हतुवागढी गाउँपालिका क्षेत्रका किसानहरु चिन्तित देखिएका छन्। जेठ असारमा गएको लामो खडेरीले बर्खे मकै सखाप भएपछि लगाएको हिउँदे मकैमा पनि फौजी किराले दुःख दिन थालेपछि किसान निराश बनेका हुन्।

बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए। गाउँपालिकाका वडा नं १, २, ५ र ६ का रानीबास, लुङ्गिन, होम्ताङ, हर्का, लंखा लगायत छिमकी आमचोक गाउँपालिकाका केहि क्षेत्रमा पनि फौजी किराको बढि प्रकोप देखिएको छ। प्रकोपले गाउँपालिका क्षेत्रका करिब सवा ८ सय रोपनी क्षेत्रफलमा लगाईएको मकैबाली नष्ट गरेको छ।

सुख्खा खडेरीले बर्खे मकै मरेपछि मासेर लगाएको हिउँदे मकैमा पनि फौजी किराले सास्ती दिएको हतुवागढी गाउँपालिका १, रानीबास हर्काका किसान पदमबहादुर बस्नेतले गुनासो सुनाए। किसानका अनुसार ठूलो समूहमा आएर घाम लागेको बेला मकैको गुबोभित्र पसेर खाने, रातमा कलिला पात खाए मकैको बोट सखाप पारेका छन्। फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने लुङ्गेनका अर्का स्थानीय कृषक राजेन्द्र राईले बताए।

हतुवागढी गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलका अनुसार गाउँपालिकाले कृषि प्राविधिक टोली र प्रकोप क्षेत्रका सम्बन्धित किसानविच तत्काल किराको प्रकोप समाधान गर्न, नमुना संकलन, स्थलगत अनुगमन, विषादी छिट्ने तयारीमा जुट्ने निर्णय गरेको छ। गाउँपालिकाका कृषकको मकै बालि फौजि किराले सखाप पार्न थालेपछि गाउँपालिकाले चासो देखाएको छ। गाउँपालिका कृषि प्राविधिक खटाई अनुसन्धान गरि प्रकोप नियन्त्रणका लागि आवश्यक पहल थालिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

खेतबारीमा लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढ्दै जाँदा किसानहरु अन्य बालीनाली, रुखबिरुवा, बस्तुभाउमा समेत क्षति पुर्‍याउने सन्त्रास पनि फैलिएको वडा नं २ का वडाध्यक्ष विचारी थापाले बताए। उनका अनुसार गाउँपालिकाले किराको पहिचान गर्न र तत्काल समस्या समाधानका लागि प्रभावित क्षेत्रमा कृषि प्राविधिक टोली खटाईएको छ।

 

 

प्रकाशित: १० भाद्र २०७६ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App