७ वैशाख २०८१ शुक्रबार
अर्थ

अर्थमन्त्री खतिवडाले भने– उद्योगीले सरकारलाई झुक्याएर कर छल्न खोजे

फाइल फोटाे

काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएका छन्। राजधानी काठमाडौंको भृकुटीमण्डपमा मंगलबार नाडा आटो शो २०१९को उद्घाटन गर्दे मन्त्री खतिवडाले विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टाट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको बताएका हुन्। विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उनले उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न आग्रह गरे।

उनले भने “हाईब्रिड कार र हाईब्रिड भेइकललाई कर छुट दिन्छौ भनेर भन्यौ। तपाईहरुले व्याट्रीले त स्टार्ट मात्रै हुने अनि चल्दाखेरी गाडी ल्याएर भन्सारमा राखिदिनुभयो। अघि एक जनाले भन्दै हुनुहुन्थ्यो नक्कली पार्टपूर्जा पनि आए भनेर । त्यो सरकारले ल्याएको होला र? तपाईहरुले सरकारलाई छल्ने काम नगर्दिनुहोस्। सरकार पनि इमान्दारीपूर्वक पेस हुन चाहन्छ र तपाईहरु पनि इमान्दार पूर्वक पेश हुनुहोस्।’

उनले ९० प्रतिशत परम्परागत उर्जा र १० प्रतिशत विद्युत् प्रयोग हुने सवारीसाधनलाई सरकारले कुनै पनि अवस्थामा छुट नदिने बताए। उहाँले विद्युतीय सवारी साधनको उद्योग राख्न खोज्ने उद्योगीलाई सरकारले संरक्षण दिन तयार रहेको पनि बताए। व्यवसायी जस्तै राज्यपनि लाभको नीति अनुसार अघि बढ्ने भन्दै उहाँले कम्तिमा २० प्रतिशत मूल्य अभिवृद्धि हुने विषयमा सरकारले संरक्षण प्रदान गर्दै कर छुट, अन्तशुल्क भन्सार र अरु कर छुट दिनका लागि सरकार तयार रहेको बताए।

मन्त्री खतिवडाले प्रर्दशनी स्थल निर्माणबारे निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो । भेईकलफिटनेस र सडक सुरक्षा बारे पनि सरकार गम्भीर रहेको बताए।

नाडा अटो मोबाईल्स एसोसियसनका अध्यक्ष शम्भु दाहालले सवारी साधनको पार्टपूर्जामा लाग्ने अन्तशुल्क हटाउन माग गरे। उनले प्यान कार्ड लागु गर्ने विषयमा सरकारले उद्योगीहरुसँग परामर्श नगरेको गुनासो पनि गरे। मंगलबार सुरु भएको नाडा अटो शो २०१९ भदौ १६ गतेसम्म चल्नेछ।

प्रकाशित: १० भाद्र २०७६ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App