७ वैशाख २०८१ शुक्रबार
समाज

स्थानीयवासीको दबाबपछि राजमार्ग मर्मत शुरु

दमौली– स्थानीयवासीको दबाबपछि पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्ड मर्मत शुरु भएको छ। उक्त खण्ड अन्तर्गत ठाउँ–ठाउँमा सडक भत्किँदा धुलो र हिलोबाट सास्ती भोगेका स्थानीयवासीले भदौ ४ गते सडक डिभिजन कार्यालयका प्रमुखसहित इञ्जिनीयरलाई कार्यकक्षमै नियन्त्रणमा लिएर दबाब दिएपछि आजबाट राजमार्गको मर्मत कार्य शुरु भएको हो।     

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्डको हलेदीमा भत्किएको सडक मर्मत गर्ने सहमति कार्यान्वयन नभएको भन्दै शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी क्षेत्रका स्थानीयवासीले कार्यालय प्रमुख विष्णुप्रसाद काफ्लेसहित इञ्जिनीयर सचिन श्रेष्ठलाई एक घण्टा कार्यकक्षमा थुनेका थिए। सो क्रममा डिभिजन प्रमुख काफ्लेले भदौ १५ गतेभित्र राजमार्ग मर्मत गर्ने प्रतिबद्धता जनाएका थिए।     

स्थानीयवासीको दबाबपछि भत्किएको सडकखण्ड मर्मत शुरु भएको शुक्लागण्डकी नगरपालिका–२ हलेदीका हरि रिमालले जानकारी दिए। “सडक कार्यालयमै गएर दबाब नदिएको भए यति चाँडै मर्मत हुने थिएन”, रिमालले भने, “आजबाट मर्मतको काम शुरु भएको छ, गुणस्तरीय कामका लागि अब हामी पनि अनुगमन गर्छौ।”     

रिमालका अनुसार राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले गत चैत २४ गते राजमार्ग अवरुद्ध गरेपछि सरोकारवालाको बैठकले तीन महीनाभित्र सडक मर्मतको काम थाल्ने प्रतिबद्धता जनाएको थियो। तर, सहमति भएको चार महीना बितेपनि मर्मतको काम शुरु नभएपछि स्थानीयवासी बाध्य भएर आन्दोलनमा उत्रिएका थिए।     

सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले भदौ १५ गतेभित्रै सडक मर्मतको काम थाल्न निर्माण व्यवसायीलाई निर्देशन दिएपछि आजबाट मर्मतको काम शुरु भएको जानकारी दिए। “उक्त समयभित्र काम शुरु नभए ठेकेदार कम्पनीलाई कारवाही गरेर अर्को ठेक्का लगाउने तयारी गरेका थियौँ”, काफ्लेले भने।

सडक डिभिजन कार्यालयले पुनःस्थापना कार्यअन्तर्गत विसं २०७३ साउन १२ गते रोशन सिद्धगढी जेभीसँग कालोपत्रेको सम्झौता गरेको थियो। विसं २०७४ कात्तिक १२ गतेसम्म सम्पन्न गर्ने गरी दोस्रो पटक म्याद थप गरिएको थियो। इञ्जिनीयर श्रेष्ठका अनुसार दुई करोड ७१ लाख ८८ हजार ८ सय २ रुपैयाँमा ठेक्का लागेको उक्त कार्यको एक करोड ४१ लाख ५३ हजार ५ सय ३० रुपैयाँ मात्रै भुक्तानी गरिएको छ।     

“वेस सम्मको काम सम्पन्न भएबापत भुक्तानी भएको छ, कालोपत्रेको कुनै पनि रकम भुक्तानी गरिएको छैन”, उनले भने, “काममा कैफियत भएको कारण नै भुक्तानी रोकेका छौँ।” श्रेष्ठका अनुसार विसं २०७५ चैत २५ गते ठेकेदार कम्पनीलाई सार्वजनिक सूचना जारी गरेर स्पष्टीकरण माग गरिएको थियो।    

एक हप्ताभित्र ठेकेदार कम्पनीले स्पष्टीकरण दिँदै वर्षालगत्तै काम गर्ने प्रतिबद्धता जनाएपनि काम शुरु नभएपछि कार्यालयले विसं २०७६ साउन २९ गते पत्र काटेर चाँडो काम गर्न नत्र शर्तअनुसारको कारवाही गरिने ठेकेदारलाई जानकारी गराएको थियो।     
     
खाल्डाखुल्डीले बढाएको थियो दुर्घटना     
दुईवर्ष अघि कालोपत्रे गरिएको सडकखण्ड भत्किएर खाल्डो परेपछि सोही खाल्डोमा दैनिकजसो दुर्घटना बढेको थियो। उक्त सडखकण्डमा वैशाख महीनायता २५ भन्दा बढी सवारी दुर्घटना भएका छन्। ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले दुर्घटनामा तीन जना मोटरसाइकल चालकको मृत्यु भएको जानकारी दिए।     

स्थानीयवासी शङ्कर पन्तका अनुसार राजमार्गको खाल्डाखुल्डीले दैनिकजसो दुर्घटना हुने गरेको थियो। उनले भने, “धुलो र हिलोबाट आक्रान्त त भएका छौ नै, साथसाथै दिनदिनै दुर्घटनाको दृश्य हामीले देखिरहेका छौँ।” सडक खाल्डो परेर धुलोको समस्याले स्थानीयवासी बिरामी पर्न थालेको स्थानीयवासी कृष्ण भुजेलले बताए।रासस
   

प्रकाशित: १० भाद्र २०७६ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App