७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थानीय तहको संख्या र सीमांकनमा टुंगो लाग्यो

पवित्रकुमार शाही

कालिकोट–जिल्लामा स्थानीय तहको संख्याको टुंगो लागेको छ। स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले दुई नगरपालिका र ७ वटा गाउँपालिका गर्ने प्रस्ताव पेस गरेको छ। जिल्लाका हाल ९ वटा इलाकालाई आधार बनाएर समितिले ९ स्थानीय तह प्रस्तावित गरिएको स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक प्रदिपराज अधिकारीले बताए। कतिपय वडा भूगोलको आधारमा पायक पर्ने ठाउँमा सारिएको समेत उनले बताए।

इलाका नम्वर १ मा पर्ने पाँखा,दाहा र बदालकोट गाविसका वडा नम्वर १,२,३ र भर्ताको ८ नम्वर वडा मान्म गाविसलाई खाडाचक्र नगरपालिकामा प्रस्ताव गरिएको छ। त्यस्तै इलाका नम्वर २ अन्तर्गत रहेका बदालको गाविसको ४ नम्वर वडादेखि ९, राम्नाकोट गाविसको ९ वटै वडा र नानिकोट गाविसको १ देखि ७ वडा पचालझरना गाउँपालिकामा प्रस्तावित गरिएको छ। इलाका नम्वर ३ अन्तर्गत पर्ने सिपखाना, स्युना,फुकोट गाविस र नानिकोट गाविसको वडा नम्वर ८ र ९ संयुक्त हुने गरी रास्कोट नगरपालिका हुने प्राविधिक सहयोग समितिले जनाएको छ।

४ नम्वर इलाकामा पर्ने मुम्रा, मेहलमुडि र रकु गाविसलाई त्रिवेणी गाउँपालिका बनाइएको छ। त्यस्तै ५ नम्वर इलाकामा पर्ने रुप्सा, माल्कोट, लालु, कोटवाडा र कुमालगाँउ गरी ५ वटा गाविसको नरहरिनाथ गाउँपालिकामा प्रस्ताव गरिएकोे छ। ६ नम्वर इलका अन्तर्गत भर्ता गाविसको १ देखि ७ वडा, सुकाटिया र गेला गाविसलाई कालिका गाउँपालिकामा सिफारिस भएका छन्। सोही इलाकामा पर्ने भर्ता ८ पोरिपाल्नी खडाचक्र नगरिपालिकामा मिसिएको छ।

भर्ताको ६ नम्वर वडा मगर जातिको वडा भएकाले संरक्षित वडाको रुपमा प्रस्तावित गरिएको छ । इलाका ७ अन्तर्गत गेला,ओदानकु , राचुली र चिल्खाया गाविसको महावै गाउँपालिका हुने भएको छ। त्यस्तै ८ नम्वर इलाकामा पर्ने फोइमहादेव, छाप्रे, जुविथा गविस तिलागुफा गाउँपालिकाको रुपमा प्रस्तावित भएका छन्। इलाका नम्वर ९ अन्तर्गत पर्ने पलाता क्षेत्रका खिन, धौलागोह र थिर्पु गविसको पलाता गाउँपालिकामा प्रस्तावित भएको छ।
 

सांसदको वडा टुक्रिएपछि हंगामा

इलाका नम्वर २ मा रहेको नानिकोट ८ कोटीला सांसद महेन्द्रबहादुर शाहीको गाउँ हो। ८ वडासँगै जोडिएको ९ नम्वर वडाको तिखाती गाउँ रास्कोट नगरिपालिकासँग जोडिएको छ। माओवादी केन्द्र बाहेकका सवै दल र सर्वसाधारणले गाविस सचिव लगायतको सुझाव संकलनमा गएका प्रतिनिधिलाई रास्कोटसँग जोडिने मनसाए देखाए। गाउँका सवैले हस्ताक्षर संकलन गरेर पठाए पनि। जिल्ला सदरमुकाममा अन्तिम सर्वदलीय बैठक भइरहेका बेला माओवादी केन्द्रले किन हाम्रा माननीयको वडा टुक्राएको भन्दै हंगामा मच्चियो।

तर प्राविधिक सहयोग समिति र अन्य दलले गाउँबाट आएको मनसाय र सुझाव केरमेट गर्न नमिल्ने भन्दै जस्ताको त्यस्तै केन्द्रमा पठाइएको छ।  
भर्ता र ६ र ८ नम्वर वडाले खाडाचक्र नगरिपालिकामा आउने गाउँबाट सुझाव आए पनि अरु दलले ८ वडालाई मात्र जोडेको र ६ वडालाई नजोडेको भन्दै माओबादी केन्द्रले त्यो निर्णयमा हस्ताक्षर गरेको छैन। स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले सोमवार आयोजना गरेको अन्तिम बैठकमा मध्यरातसम्म राजनीतिक दलका प्रमुख मात्र सहभागीतामा मात्र सीमांकन र गाउँपालिका र नगरपालिकाको नामांकनमा टुंगो लागेको थियो।  

 

प्रकाशित: ३० कार्तिक २०७३ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App