coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

टुँडिखेलको तल्लो भागमा पहिरो

इलाम - जिल्लाकै ठूलो खेलमैदान सदरमुकामस्थित ठूलो टुँडिखेलको तल्लो भाग वर्षाको पानीले भत्किएपछि खेलकुद प्रतियोगता आयोजना गर्न समस्या भएको छ।  गतवर्ष पहिरो लडेर मर्मत गरिएकै ठाउँमा करिब ३० मिटर पहिरो गएपछि मैदान साँघुरिएको हो। 

नेपाली सेनाको नाममा रहेका कारण अन्य निकायले टुँडिखेलमा निर्माण तथा मर्मतका काम गर्न सकेका छैनन्।  सेनाले पनि समयमै मर्मत नगर्दा दिनहुँ टुँडिखेलमा खेल्न जाने खेलाडीलाई समस्या पर्न थालेको छ।  बेलैमा मर्मत नभए माइभ्याली गोल्डकपजस्ता ठूला प्रतियोगिता आयोजना गर्नसमेत जटिल हुने देखिएको खेलप्रेमीले बताएका छन्। 

माइभ्याली फुटबल क्लब अध्यक्ष धिरेन चेम्जोङले टुँडिखेलको तल्लो भाग पहिरोले लगेकाले अब प्रतियोगिता सञ्चालन गर्न कठिन भएको बताए।  ‘गतवर्षभन्दा बढी भाग पहिरोले लगेको छ, बेलैमा मर्मत भएन भने आउँदो माइभ्याली गोल्डकप प्रत्यक्ष प्रभावित हुन्छ,’ उनले भने, ‘गतवर्ष पनि बोरामा माटो हालेर तल्लो भाग अड्याइएको थियो, यो वर्ष त्यसरी मर्मत गर्न सम्भव नहुनेगरी माटो बगेको छ। ’

इलाम बजारमै रहेको टुँडिखेलमा खेल प्रतियोगितामा मात्र नभई बिहान–बेलुका खेल अभ्यास गर्न र शारीरिक कसरत गर्न पनि मानिसको घुइँचो लाग्छ।  भूकम्पजस्तो ठूलो प्रकोप आइलाग्दा पनि सुरक्षित खाली ठाउँका रूपमा टुँडिखेल प्रयोग हुनेगरेको छ।  जिल्लामै ठूलो आकारका अरू खेलमैदान नभएकाले पनि यसको संरक्षण र मर्मत गर्नुपर्ने खेलप्रेमी बताउँछन्।  तर, सेनाको नाममा भएकाले यसलाई मर्मत गर्न, प्यारापिट निर्माण गर्न र अन्य भौतिक निर्माणका काम गर्न अवरोध भइरहेको स्थानीयको गुनासो दोहोरिएको छ। 

इलाम नगरपालिकाको पहिलो नगरसभाले सेनाको नाममा रहेको यो टुँडिखेल स्थानीय सरकारमातहत ल्याउन प्रस्ताव पठाएको थियो।  तर, संघीय सरकारमा पेश भएको प्रस्तावबारे अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन।  इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले अहिलेको टुँडिखेललाई स्थानीय सरकारमातहत ल्याएर सेनालाई अर्काे कुनै स्थानमा मैदान दिने प्रस्ताव नगरले गरेको बताए।  ‘यसअघि पनि टुँडिखेल भत्किँदा वा निर्माणका अन्य काम गर्नुपर्दा समस्या हुनेगरेको सबैलाई थाहै छ,’ उनले भने, ‘त्यसैले नगरले बजारभित्र रहेको टुँडिखेल बजारबासीको सुविधाका लागि नगरमातहत ल्याएर सेनालाई अन्य कुनै स्थानमा अर्काे ठाउँ दिने प्रस्ताव गरेको थियो, अहिलेसम्म त्यसमा के कारबाही भयो भन्ने जानकारी आएको छैन। ’

सेनाको नाममा रहँदा टुँडिखेलको पूर्वाधार विकास गर्न नसकेको र स्थानीयले सहज ढंगले खेल खेल्न नपाएको गुनासो यसअघि पनि पटक–पटक आइरहेको छ।  गतवर्षको साउन १० मा सेनाले जिल्लाका सरोकारवाला कार्यालयलाई पत्र लेखेर टुँडिखेल नेपाली सेनाबाट अन्य निकायको नाममा हस्तान्तरण गर्न उपयुक्त छ या छैन भन्नेबारे रायसमेमत मागेको थियो।  ती कार्यालयले टुँडिखेल स्थानीय सरकारलाई नै दिन उपयुक्त रहेको सुझाव सेनालाई पठाएका थिए। 

नगरपालिकाका मेयर महेश बस्नेतले गतवर्ष नै काठमाडौं गएर टुँडिखेलको विषयमा ‘माथिल्लो राजनीतिक तह’मा समेत कुरा अघि बढाएका थिए।  संघीय रक्षा मन्त्रालय, नेपाली सेना, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि नगरको प्रस्तावमा ‘सकारात्मक’ रहेको भनिएपनि वर्षदिनसम्म त्यसबारे निर्णय हुन सकेको छैन।  नगरपालिकाले माइखोलाको राजदुवालीछेउमा सेनालाई तालिमका लागि मैदान व्यवस्था गरिदिने पनि प्रस्ताव गरेको थियो। 

नेपाली सेनाको पशुपतिप्रसाद गणले भने भत्किएको टुँडिखेल मर्मत गरिने जनाएको छ।  ‘पहिरोले भत्काएको ठाउँ मर्मत गर्न माथिल्लो निकायमा लागत अनुमान पठाएका छौं,’ गणपति प्रभात थापाले भने, ‘मैदानको तल्लो भागमा करिब सय मिटर लम्बाईको रिटेनिङ वाल लगाउने प्रस्ताव छ। ’ थापाले माथिल्लो निकायबाट प्रस्ताव स्वीकृत भएर आउन चाहिँ बाँकी रहेको बताए।  प्रस्ताव स्वीकृत भए टुँडिखेलको तल्लो भागमा पक्की पिल्लरसहितको पर्खाल लगाइने छ।

२५ रोपनी ८ आनामा रहेको टुँडिखेल    दशकौंअघि स्थानीयकै सक्रियतामा निर्माण गरिएको थियो।  १९३९ सालतिर तत्कालीन एक सैनिककै पहलमा टुँडिखेल निर्माणको पहल सुरु भएको थियो।  इतिहासकार युद्धप्रसाद वैद्यका अनुसार टँुडिखेल निर्माण गर्न इलामे महिला–पुरुषले आफैं कोदालो खनेका थिए।  र, गोरु नारेर मैदान सम्याएका थिए।  ‘भुटेको मकैको खाजा खाएर सर्वसाधारणले यो टुँडिखेल बनाएका हुन्,’ वैद्यले सम्झिए, ‘सुवेदी थरका व्यक्तिबाट काफ्ले परिवारलाई बेचेको यो जमिन त्यसको करिब सय वर्षपछि ज्यादै थोरै मुआब्जा दिएर सेनाको नाममा पुगेको हो। ’

१९८० को दशकमा राज समशेर बडाहाकिम भएका बेला इलाममा फुटबल खेल जम्न थालेको थियो।  १९९० को दशकमा बडाहाकिम भएर आएका महावीर समशेरले इलाममा फुटबल टिम नै तयार गरी विभिन्न स्थानका युवासँग प्रतिस्पर्धा गरेर जितेको वैद्यले बताए।  २००७ सालमा यहाँ पूर्वाञ्चलका जिल्लाको खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो।  अहिले यो मैदानमा पूर्वीपहाडकै ठूलो धनराशि पुरस्कारको माइभ्याली गोल्डकप बर्सेनि आयोजना गरिँदैछ।

प्रकाशित: १० भाद्र २०७६ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App