८ वैशाख २०८१ शनिबार
समाज

कटारी महोत्सव सातादिन अघि सर्‍यो

उदयपुर - उदयपुरको कटारीमा असोज दोस्रो सातासम्म आयोजना गर्ने भनिएको ‘प्रथम कटारी महोत्सव ०७६’ सातादिन अघि सरेको छ। आउँदो असोज ११ देखि १७ गतेसम्म सञ्चालन गर्ने टुंगो भएको महोत्सव हिन्दु पर्व दसैं नजिकिएको र अन्य प्राविधिक कारण देखाउँदै असोज ४ देखि १० गतेसम्म सञ्चालन गर्ने गरी सारिएको मूल आयोजक समितिले जनाएको छ।

मूल आयोजक अध्यक्ष टेकबहादुर लाङ्घाली मगरले दसैं नजिकिएको तथा मुख्यमन्त्रीद्वारा उद्घाटन गर्नुपर्ने भएकाले समय व्यवस्थापन गर्न सातादिन अघि सारिएको बताए। मगरले आइतबार एक विज्ञप्ति प्रकाशित गरी ४ देखि १० गतेसम्म महोत्सव सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका छन्।

मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गराउने योजना रहेकाले समय व्यवस्थापन गर्न पनि अघि सारिएको आयोजक समिति सचिव नेत्र राईले बताए। कटारी नगरपालिकाले महोत्सव उद्घाटन गर्न मुख्यमन्त्री राईलाई निम्तो दिइसकेको हुनाले समय व्यवस्थापन गर्न अघि सार्नुपरेको हो। नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले महोत्सव उद्घाटन गर्न मुख्यमन्त्री राईलाई निम्तो दिइसकेको र समय मिलाउनु पर्दा तोकेको भन्दा अघि सार्नुपरेको बताएका छन्। महोत्सव अघि सार्नुपरेसँगै तयारीको कामलाई तीव्रता दिइएको छ। तयारीका सबै काम युद्धस्तरमा भइरहेको र समयमै सबै तयारी गरिसक्ने समितिले जनाएको छ।

नगरपालिकाको मुख्य सहयोग, सौर्य सिमेन्ट, सिभिल होम्स, मारुती सिमेन्ट र कसमस सिमेन्ट प्रालि सहप्रायोजक रहने महोत्सव ‘कृषि, ऐतिहासिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनका लागि प्रथम कटारी महोत्सव’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको हो। स्थानीय तह पुनर्संरचनापछि पहिलो पटक नगरपालिकाको आयोजनामा सञ्चालन गर्न लागिएको महोत्सव कटारीका स्थानीय कलाकारहरूको सक्रियतामा हुन लागेको हो।

महोत्सवमा कला, संस्कार, पर्यटन, कृषिलाई प्राथमिकता दिइने मूल आयोजक सचिव राईले बताएका छन्। महोत्सवमा पर्यटन प्रवद्र्धनका स्टल, कृषि, घरेलु उद्यम, स्थानीय उत्पादनका स्टलहरू राखिनेछन्। स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवमा नगरपालिकाभित्रका विभिन्न वडामा उत्पादित कृषि उपज, कला संस्कृतिको प्रदर्शनी र पर्यटन चिनारीबारे आकर्षण पस्कने कार्यक्रम छ। स्थानीय कलाकारहरूको प्रतिभा प्रस्फुटन गर्न ‘कटारी स्टार’ प्रतियोगिता पनि महोत्सवमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजकका अध्यक्ष मगरले कटारीमा यसभन्दा पहिला पनि महोत्सव भए पनि नगर र स्थानीय निकाय भएपछि पहिलो महोत्सव भएकाले प्रथम महोत्सव भनिएको पनि जानकारी दिए। कटारीमा कला, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको भन्दै सबैलाई सहयोग गर्न पनि मगरले आग्रह गरे।

प्रकाशित: १० भाद्र २०७६ ०६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App