इटहरी – सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका एक जना मेजरले ब्राउन सुगर कारोबार गर्ने गरेको आरोपमा झापा दमककी डिलर सञ्चालिका सोमबार पक्राउ परेकी छन्। दमक वडा–७ की ३१ वर्षीया प्रिया राई पक्राउ परेकी हुन्।
साउन २५ गते ब्राउन सुगरको कारोबारमा संलग्न भएको आरोपमा सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका मेजर अजितप्रताप सिंहसहित २ जनालाई प्रहरीले मुद्दा चलाएपछि त्यसको डिलर सञ्चालन गर्ने प्रिया पक्राउ परेकी हुन्। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठका अनुसार सेनाका मेजर सिंहको बयानका आधारमा अदालतसँग अनुमति लिएर प्रियालाई पक्राउ गरिएको हो।
‘सेनाका मेजरले प्रियाले दमकमा ब्राउन सुगरको डिलर नै चलाएको र उसैबाट ल्याएर इटहरी तथा आसपासका प्रयोगकर्तालाई टेलिफोन सम्पर्कका आधारमा बिक्री गर्ने गरेको बयान दिएका आधारमा पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक श्रेष्ठले भने। उनका अनुसार सेनाका मेजरको बयानका आधारमा प्रियालाई पनि प्रतिवादी बनाएर मुद्दा अदालतमा पेस गरिएको छ।
ब्राउन सुगर प्रयोगकर्तामा इटहरीका प्रतिष्ठित परिवारका व्यक्तिसँगै सुरक्षा निकायका व्यक्ति संलग्न रहेको सुइँको पाएपछि प्रहरीले चार महिनादेखि निरन्तर निगरानी राखेर सेनाका मेजर सिंह र रामधुनी वडा नं. १ का प्रमोद चौधरीलाई पक्राउ गरेको थियो। यस घटनामा प्रहरीले अनुसन्धान प्रभावकारी बनाएर अरु थप शंकास्पद व्यक्तिलाई पनि निगरानी गरिरहेको जानकारी दिइयो।
प्रकाशित: १० भाद्र २०७६ ०५:५९ मंगलबार