८ वैशाख २०८१ शनिबार
अन्य

डान्स च्याम्पियनको काठमाडौं अडिसन

काठमाडौं- संगीत तथा नृत्य प्रतिभा तिखार्ने अभियानमा जुटेको बुटवलस्थित बागेश्वरी संगीतालयले नृत्य विधाका उत्कृष्ट प्रतिभा खोज्न देशभर अडिसन लिइरहेको छ । ‘अल नेपाल डान्स च्याम्पियन सिप’ का लागि देशका १७ सहरमा पहिलो चरणको छनोट प्रतियोगिता (अडिसन) भइरहेको संगीतकार एवं संस्थापक प्रिन्सिपल सुरेश सेन्चुरीले जानकारी दिए । यही क्रममा राजधानीमा आउँदो मंसिर २ गते अडिसन लिइँदै छ । डिल्लीबजार कालिकास्थानस्थित सांस्कृतिक केन्द्रमा अडिसन हुने उनले जानकारी दिए ।

प्रतियोगितामा जुनियर र सिनियर गरी दुई तहका प्रतिस्पर्धा राखिएका छन् जसअनुसार १४ वर्षमुनिका जुनियर र सिनियरतर्फ १५ देखि ३५ वर्षसम्मका महिला तथा पुरुषले भाग लिन पाउनेछन् ।

सेन्चुरीका अनुसार प्रतियोगिता जित्ने एक–एक जना जुनियर र सिनियर प्रतिभाले दुई–दुई लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । साथै मुम्बईस्थित टेरेन्स लुइसको एकेडेमीमा एक महिना जुनियरले र ३ महिना सिनियरले अध्ययन स्कलरसिपसहित अन्य उपहार पाउनेछन् ।

पहिलो चरणको छनोटमा परेका प्रतियोगीलाई १५ दिने विभिन्न प्रशिक्षण दिइनेछ । त्यही क्रममा उत्कृष्ट १० प्रतिभा चयन हुने उनले जानकारी दिए ।

आउँदो पुस १ गते बुटवलमा हुने अन्तिम प्रतियोगितामा विश्वप्रसिद्ध कोरियोग्राफर तथा डान्स इन्डिया डान्सका डान्स मास्टर टेरेन्स लुइसले प्रमुख निर्णायकको भूमिका निभाउने उनले बताए । बलिउड कलाकार बिजु पार्की, हेमन्त गोर्खा र विकास चञ्चलका साथै नेपाली कोरियोग्राफर जीवन मिश्र र मुकेश गुरुङले अन्तिम ५, ३ हुँदै विजेता घोषित गर्न लुइसलाई सघाउनेछन् ।

एसएमएस, लाइक कुनै पनि किसिमका भोटिङ अवसर नराखिएको यस प्रतियोगितामा प्रतिभाकै आधारमा विजेता चयन गरिने आयोजकको भनाइ छ ।

प्रकाशित: ३० कार्तिक २०७३ ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App